काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको नीति लिएको छ। राष्ट्र बैंकले एसएमई (साना तथा मझौला उद्योग/व्यवसाय) कर्जाको जोखिम भार घटाएर कर्जा लगानी विस्तारको नीति लिएको हो।
राष्ट्र बैंकले आइतबार ३ करोड रुपैयाँसम्मको एसएमई कर्जाको जोखिम भार ६० प्रतिशतमा झारेको छ।
बैंक तथा वित्तीय संस्थाहरुले कृषि, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा अब ६० प्रतिशत जोखिम भार कायम गरे हुन्छ। यसअघि जोखिमभार ७५ प्रतिशत थियो।
जोखिम भार घटेसँगै त्यसले बैंक तथा वित्तीय संस्थाको नाफा बढाउन मद्दत पुग्नेछ। साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोषको दबाब कम हुनेछ। यसले उनीहरुको लगानी क्षमता समेत बढ्छ।
नयाँ व्यवस्था अनुसार यो सुविधा प्राप्त गर्न कर्जाको अनिवार्य रूपमा परियोजना बीमा गरिएको हुनुपर्छ।
साथै, त्यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित भएको वा घरजग्गा धितोको प्रचलित बजार मूल्यमा कम्तीमा २५ प्रतिशत अन्तर कायम भएको हुनुपर्ने प्रावधान राष्ट्र बैंकले तोकेको छ।










