औषधि होइन आहारपूरक : बढ्दो प्रयोगसँगै गुणस्तर र सचेतनाको चुनौती गम्भीर



ईश्वर सुवेदी
२०८२ चैत्र २३ गते ०६:१२ | Apr 6, 2026
औषधि होइन आहारपूरक : बढ्दो प्रयोगसँगै गुणस्तर र सचेतनाको चुनौती गम्भीर


एक बिहान काठमाडौंका एक युवा जिम जानुअघि क्याप्सुलको बोतल खोल्छन् र पानीसँग निल्छन्। साथीले सोध्छ – ‘के हो यो?’ उनी भन्छन् – ‘भिटामिन हो, शरीरलाई चाहिन्छ।’ उसले बतायो, सधैं सेवन गर्छ। उनले सेवन गरेको पदार्थ हो आहारपूरक। जिम कल्चरमा अभ्यस्त उनीजस्ता सयौं छन्, जो ज्यानलाई डाइट पुर्‍याउनका लगि भन्दै आहारपूरक सेवन गरिरहेका छन्।

Tata
GBIME

के यो आवश्यक हो? आहारपूरक (डाइटरी सप्लिमेन्ट) वास्तवमा के हो र यसलाई कसरी बुझ्ने? आहारपूरक भन्नाले दैनिक खानाबाट पर्याप्त मात्रामा नपुगेका पोषक तत्व पूर्ति गर्न प्रयोग गरिने खाद्य उत्पादन हो। यिनमा भिटामिन, खनिज, जडीबुटी, एमिनो एसिड, इन्जाइम, माछाको तेल, प्री–प्रोबायोटिक्स जस्ता तत्व लगायत हुन्छन्। हाम्रो बजारमा यी क्याप्सुल, ट्याब्लेट, पाउडर वा तरल रूपमा उपलब्ध छन्। मुखबाट सेवन गरिन्छन्।

महत्त्वपूर्ण कुरा के हो भने आहारपूरक औषधि होइनन्। उदाहरणका लागि यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यस्ता उत्पादनलाई औषधि नभई खाद्यपदार्थकै रूपमा नियमन गर्छ। त्यसैले यिनले रोगको उपचार, निदान वा रोकथाम गर्ने दाबी गर्न पाइँदैन। यिनको उद्देश्य केवल आहारमा पोषण थप्नु हो, खाना प्रतिस्थापन गर्नु होइन।

डाइटरी सप्लिमेन्टको अवधारणा त्यहीँबाट आएको हो जहाँ मानिसको आहार अपूरो हुन्छ। जस्तै, क्याल्सियम, आइरन, जिंक, प्रोटिन, ग्लुटामाइन, अदुवा, बेसार, माछाको तेल वा भिटामिनहरू। यिनले शरीरलाई आवश्यक खाद्यतत्वकारूपमा पोषण पुर्‍याउन सहयोग गर्छन्, तर छिटो चाहिएको प्रभावकारी भिटामिनका लागि ‘जादुई समाधान’ भने होइनन्।

तर यसको अर्को पक्ष पनि छ। यस्ता उत्पादन बजारमा ल्याउनुअघि औषधिजस्तो कडाइका साथ परीक्षण गरिँदैन। सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी उत्पादककै हुन्छ। मात्रा नमिल्दा साइड इफेक्ट हुन सक्छ, प्रयोगकर्ताले कुनै औषधि सेवन गरिरहेको भए त्यसको गुणसँग अनुकूलन हुन समय लाग्न सक्छ वा अनुकूलन असहज पनि हुन सक्छ। त्यसैले चिकित्सक वा आहारविद्सँग सल्लाह लिनु उपयुक्त हुन्छ।

विश्वव्यापी रूपमा हेर्दा, सन् १९९४ मा बिल क्लिन्टनद्वारा लागू गरिएको कानुनपछि यो क्षेत्र तीव्र रूपमा विस्तार भयो। आज डाइटरी सप्लिमेन्ट संसारमा अर्बौं डलरको उद्योग बनिसकेको छ, जहाँ स्वास्थ्यप्रतिको सचेतना र बजार दुवै तीव्र गतिमा बढिरहेका छन्।

नेपाल प्रसंग : अवसर र चुनौती

नेपालमा आहारपूरकको प्रयोग पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ, विशेषगरी सहरी क्षेत्रमा बढेको प्रष्ट देख्न सकिन्छ। भिटामिन, मिनरल, प्रोटिन सप्लिमेन्टप्रति आकर्षण बढ्दो छ। तर यससँगै नियमन र सचेतनाको चुनौती पनि उत्तिकै गम्भीर छ।

नेपालमा यस्ता उत्पादनको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत हुँदै आएको छ। २०७२ सालको कार्यविधिबाट सुरु भएको व्यवस्था अहिले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले अझ व्यवस्थित र कडा बनाएको छ। यसले उत्पादन दर्ता, लेबलिङ, जोखिम विश्लेषण, निरीक्षण र दण्ड व्यवस्थालाई स्पष्ट रूपमा समेटेको छ।

तर व्यवहारमा चुनौतीहरू अझै छन्। दर्ता नभएका उत्पादनहरूको अवैध आयात, सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार, स्वास्थ्यकर्मी वा व्यवसायीबाटै अप्रमाणित सिफारिस र उपभोक्तामा पर्याप्त जानकारीको अभाव यो क्षेत्रका लागि ठूलो चुनौतीका रूपमा छ।

उदाहरणका रूपमा, केही सप्लिमेन्टहरू अनौपचारिक रूपमा बजारमा आउने, सामाजिक सञ्जालमा चमत्कारी भन्दै बेचिने प्रवृत्ति बढ्दो छ। यसले उपभोक्ताको स्वास्थ्यमा जोखिम थपिरहेको छ।

शरीरमा भिटामिनको मात्रा जँचाउन गयौँ भने नेपालमा अझै समस्या छ। हाम्रो ज्यानमा भिटामिन ए, आइरन, जिंक जस्ता सूक्ष्म पोषक तत्वको कमी देखिन्छ। यस्तो अवस्थामा सही तरिकाले प्रयोग गरिएका आहारपूरकले कुपोषण न्यूनीकरणमा सहयोग पुर्‍याउन सक्छन्। तर अनियन्त्रित प्रयोगले उल्टै समस्या निम्त्याउन सक्छ।

यसैले राज्यले नियमन कडा बनाउनुका साथै प्रयोगशाला क्षमता विस्तार, निरीक्षण प्रणाली मजबुत, डिजिटल ट्रेसेबिलिटी र उपभोक्ता शिक्षाका लागि काम गर्नुपर्छ। यी क्षेत्रमा सरकारले ध्यान दिन आवश्यक देखिन्छ। साथै, स्वदेशमै गुणस्तरीय उत्पादन बढाएर आयातमा निर्भरता घटाउने सम्भावना पनि उत्तिकै महत्वपूर्ण छ।

आहारपूरक न चमत्कारी औषधि हुन्, न त पूर्ण रूपमा बेकार खाद्यवस्तु। हाम्रो शरीरका लागि सन्तुलित आहारको पूरकका यी त एउटा सहायक साधन मात्र हुन्। सही जानकारी, सही मात्रा र सही सन्दर्भमा प्रयोग गर्दा यिनले स्वास्थ्यमा सकारात्मक भूमिका खेल्न सक्छन्। तर गलत बुझाइ, बजारको हल्ला र सजिलो समाधान खोज्ने प्रवृत्तिले यिनलाई जोखिमपूर्ण पनि बनाउन सक्छ।

त्यसैले बुझ्नुपर्ने कुरा सरल छ, हामीले के खाइरहेका छौं भन्दा पनि, किन, कति र कसरी खाइरहेका छौं भन्ने बुझाइ नै सबैभन्दा ठूलो ‘सप्लिमेन्ट’ हो।

शरीरलाई कति आवश्यक ?

मानव शरीरले आवश्यक पोषण (भिटामिन, खनिज, प्रोटिन आदि) सन्तुलित र विविध आहारबाट नै प्राप्त गर्न सक्छ। यदि तपाईंले पर्याप्त फलफूल, सागसब्जी, अन्न, दाल, मासु/विकल्प, दुग्ध पदार्थ आदि खाइरहनुभएको छ भने सामान्यतया अलगै सप्लिमेन्ट अनिवार्य हुँदैन।

तर वास्तविक जीवनमा सबैको आहार सधैं पूर्ण हुँदैन। यस्तो अवस्थामा आहारपूरक उपयोगी हुन्छ। पोषणको कमी हुँदा (जस्तै आइरन, भिटामिन डी, बी१२), गर्भावस्था वा स्तनपानमा (फोलिक एसिड, आइरन आवश्यक), विशेष उमेर समूह बालबालिका, वृद्ध, रोग वा विशेष अवस्था, विशेष आहार अपनाउँदा वा शाकाहारी हुँदा भिटामिन बी१२ कमी हुन सक्छ।

 चिकित्सक वा पोषणविद्ले हाम्रो शारीरिक अवस्थाअनुसार आहारपूरक सिफारिस गर्छन्। शारीरिक बनोट, रोग प्रतिरोधी क्षमता सबैको फरक फेक हुन्छ। त्यसैले आहारपूरक सिफारिस सबैलाई उस्तै र उही गरिएका हुँदैनन्। शरीरलाई चाहिनेभन्दा बढी पोषण लिँदा हानिकारक पनि हुन सक्छ। केही सप्लिमेन्टले हामीले नियमित सेवन गर्ने औषधिसँग रियाक्सन पनि गर्न सक्छ। छिटो समाधान खोज्ने बानीले आहार सुधार गर्ने मूल उपायलाई ओझेलमा पार्छ।

आहारपूरकलाई ‘पूरक’ भनिनुको अर्थ नै हो मुख्य होइन, सहायक हो। खाना भनेको घर हो भने, सप्लिमेन्ट मर्मतको औजार जस्तो हो। घर बलियो छ भने औजार चाहिँदैन, तर केही कमी भए त्यो मिलाउन काम लाग्छ। स्वस्थ, सन्तुलित आहार लिने व्यक्तिलाई आहारपूरक अनिवार्य छैन। तर आवश्यकता अनुसार, चिकित्सक/आहारविद्को सल्लाहमा प्रयोग गर्दा उपयोगी हुन्छ।

कहाँ हुने हामीले सचेत ?

नेपालमा आहारपूरक (डाइटरी सप्लिमेन्ट) खाद्य पदार्थको प्रयोग र बजार दुवै तीव्र रूपमा बढिरहेका छन्। धेरैले यसलाई ‘औषधिको साथी’ भनेर बुझ्ने गरेका छन्। वास्तवमा, प्राकृतिक खाद्य पदार्थमा रहेका पोषक तत्वलाई छुट्याएर ट्याब्लेट, क्याप्सुल, पाउडर वा तरल रूपमा तयार पारिएको यस्ता उत्पादन संसारभर विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनका मापदण्डअनुसार बिक्री हुने गरेको छ।

बाहिरबाट हेर्दा औषधिजस्तै देखिने भएकाले यसको नियमन र गुणस्तर नियन्त्रण चुनौतीपूर्ण छ। उत्पादन दर्ता, लेबलिङ र गुणस्तर सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरिए पनि व्यवहारमा अझै समस्या छन्।

मुख्य समस्या भनेको जनचेतनाको कमी र डिजिटल माध्यममा फैलिने भ्रामक प्रचार हो। केही व्यवसायीले विभागबाट स्वीकृति नलिएका आहारपूरक उत्पादनहरू पनि खुलेआम बेचिरहेका छन्। उदाहरणका रूपमा म्यागनेसियम ग्लाइसिनेट वा गार्सेनिया कम्बोजिया जस्ता उत्पादनहरू अवैध रूपमा बजारमा आउने र सामाजिक सञ्जालमार्फत सिफारिस हुने प्रवृत्ति देखिन्छ, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढाउँछ।

त्यसैले व्यवसायीहरू स्पष्ट हुनुपर्छ, दर्ता भएका उत्पादन मात्र बेचौं। उपभोक्ताले पनि किन्नु अघि उत्पादन दर्ता भएको छ कि छैन, लेबल स्पष्ट छ कि छैन भन्ने जाँच गरौं। आहारपूरक सुरक्षित र प्रभावकारी बनाउन सम्बद्ध सबैको भूमिका महत्वपूर्ण छ। उपभोक्ता सचेत हुने, स्वास्थ्यकर्मी जिम्मेवार हुने, व्यवसायी इमानदार हुने र नियामक निकाय सक्रिय रहने हो भने यसबारेका भ्रम हट्छ। सरल भाषामा भन्नुपर्दा दर्ता नभएको, प्रमाणित नभएको र चमत्कारी भनिएको सप्लिमेन्टबाट टाढा रहनु नै सबैभन्दा ठूलो सचेतता हो।