काठमाडौं। प्रसिद्ध हिन्दी फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी शुक्रबार काठमाडौंमा सिनेमा संवादमा सहभागी भएका छन्। काठमाडौंमा जारी नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उनले कलाकार राजेश हमालसँग सिनेमा संवाद गरेका हुन्।
निर्देशक सिप्पीले आफ्नो लोकप्रिय फिल्म ‘शोले’ निर्माणका अनुभवबारे खुला रूपमा चर्चा गरे। उनले भने, ‘शोले मेरा लागि सोचिएको वा लेखिएको चलचित्र होइन। लेखक जोडी सलिम-जावेदले एउटा सानो कथाको स्वरूप तयार गर्नुभएको थियो। त्यो सुरूमा अरु कसैका लागि सोचिएको थियो। तर त्यो मेरो शैलीसँग मेल खाने देखेपछि मलाइ प्रस्ताव गरियो। उनीहरूले एक आर्मी अफिसर र दुई अपराधीको कथा सुनाए र हामीले मिलेर सबै पटकथा तयार गर्यौं। त्यो हामी सबैको सामूहिक प्रयासको प्रयासको नतिजा थियो।’
सन् १९७५ अगस्ट १५ मा रिलिज भएको ‘शोले’ हिन्दी सिनेमाका लागि ऐतिहासिक कृति मानिन्छ। करिब ३ करोड भारतीय रुपैयाँ लागतमा बनेको यस फिल्मले विश्वव्यापी रूपमा ३० करोडभन्दा बढी कमाई गर्दै ब्लकबस्टर सफलता पायो। फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीव कुमार, अमजद खान लगायतको अभिनय छ।
कथा दुई अपराधी जय–वीरु र निर्दयी डाकु गब्बरबीचको संघर्ष वरिपरि घुम्छ। ‘ये दोस्ती’, ‘मेहबूबा मेहबूबा’ जस्ता गीत र ‘कितने आदमी थे?’ जस्ता संवाद आज पनि लोकप्रिय छन्। सुरुमा औसत प्रतिक्रिया पाए पनि पछि ‘कल्ट क्लासिक’ बन्यो। अमजद खानको गब्बर भूमिका अन्तिम समयमा चयन भएको र फिल्म ७०एमएम र स्टीरियो साउन्डमा बनेको हुनु पनि चर्चित किस्सा हुन्।
निर्देशक सिप्पीले सुरुआती समयमा फिल्मलाई असफल मानिए पनि दर्शक सिनेमा हलमा ‘रिपिट’ भएपछि सफल हुनेमा आफू विश्वस्त भएको बताए। फिल्म जगतले ५० वर्षपछि पनि विभिन्न मञ्चमा उक्त फिल्मलाई माइलसटोन बताइरहँदा सिप्पीले भणे अपेक्षा अनुसारको बनाउन नसकेको बताए।
‘मैले माग गरेको बजेटभन्दा आधा पाएको कारण म कसरी तयार गर्ने भन्ने रनभुल्लमा थिएँ, तर हामी सबै प्राविधिकको मेहनतले फिल्म बन्यो र सबै दर्शकले मन पराउनुभयो, ‘उनले भने, ‘सोही सफलताका कारण म यहाँ नेपाल आइपुगेको छु।’ उनका अनुसार सन् १९७३ अक्टोबर २ मा एक करोड बजेटमा सुटिङ सुरु गरिएको थियो।
करिब एक घण्टासम्म चलेको उक्त संवाद कार्यक्रममा अभिनेता हमालले दर्शककै रूपमा निर्देशक सिप्पीसँग जिज्ञासा राखे। सिप्पीले सरलतापूर्वक जवाफ दिए।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली फिल्मलाई विश्वबजारसँग जोड्ने उद्देश्यले नीफ आयोजना गरेको हो। यसमा प्रतिस्पर्धामा रहेका ४० देशका ८८ चलचित्र प्रदर्शन हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए। ‘हामीले युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौं। युवालाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र निर्माण कार्यशाला लगायतका कार्यशाला पनि राखेका छौं,’ उनले भने, ‘युवा दर्शकमा आशा जगाउने हाम्रो मुख्य प्रयास छ।’
आगामी सोमबारसम्म चल्ने महोत्सवमा चलचित्रकर्मीसँग अन्तरक्रिया, युवा पुस्ता र एआई चलचित्रलाई प्राथमिकता रहेको उनले जानकारी दिए। ‘विश्वभरका कथाको उत्सव’ भन्ने नारा राखिएको महोत्सवमा प्रतिस्पर्धामा नरहेका ६ चिनियाँ र ४ रुसी फिल्म पनि दर्सकले हेर्न पाउनेछन्।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिल्मले १५ सय अमेरिकी डलर राशिसहित अवार्ड पाउनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट कुनै एक फिल्मलाई अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघका तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ। नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिल्मले एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मले र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी पाउने जनाइएको छ।
महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघु चलचित्रलाई ५०० डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई ५०० अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ।









