काठमाडौं। संघीय राजधानी काठमाडौंमा गुण्डागर्दी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले आक्रामक अभियान थाल्दै धरपकड तीव्र पारेको छ। ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत शुक्रबार राति काठमाडौंका विभिन्न स्थानमा चलाइएको विशेष कारबाहीका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बौद्ध, कलंकी, बाफल, स्यूचाटार लगायत क्षेत्रमा सक्रिय विभिन्न समूहमा संलग्न ५ जना कुख्यातलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा श्याम लामा समूहमा आबद्ध भनिएका ‘डिम्पल’ भनिने प्रवीण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु गुमागाईं र विकी लामा छन्। उनीहरू लामो समयदेखि स्थानीय क्षेत्रमा गुण्डागर्दी, लुटपाट र आतंक मच्चाउने गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट यात्रुहरूलाई लक्षित गरी ठगी तथा दुर्व्यवहारमा संलग्न थप १८ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। शुक्रबार राति करिब १० बजे विमानस्थल आसपासबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरूले विमानस्थलमा आएका यात्रुहरूलाई जबर्जस्ती तान्ने, विभिन्न प्रलोभन देखाएर आफ्ना चिनजानका होटलमा पुर्याउने, कमिसन लिने र आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने गरेका थिए।
पक्राउ पर्नेहरू विभिन्न जिल्लाका रहे पनि हाल काठमाडौंका सिनामंगल, तिलगंगा, गौशाला, नयाँ बसपार्क, टोखा लगायत क्षेत्रमा बसोबास गर्दै आएका थिए।
यस्तै, ठमेल, दरबारमार्ग र सामाखुसी जस्ता व्यस्त व्यापारिक क्षेत्रमा केन्द्रित अर्को अपरेसनका क्रममा १७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमध्ये अधिकांशको सम्बन्ध ‘काभ्रेली समूह’ सँग रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस क्रममा सञ्जीव लामा, अशोक गिरी र ‘किमजोङ’ भनिने सुरेश गुरुङलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।










