काठमाडौं। बिचौलिया साम्राज्य चलाएका दीपक भट्टसँगको शंकास्पद कारोबारलाई लिएर सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा तानिएपछि ऋषिराजले राजीनामा दिएका हुन्। उनले सञ्चालक समितिको सदस्य एवं अध्यक्ष दुवै पद छोडेका हुन्।
भट्टले पब्लिक लिमिटेड कम्पनी हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड रुपैयाँ, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ आफ्नो नाममा सेयर किन्न प्रयोग गर्दा २३ करोड रुपैयाँ ऋषिराजले लिएको अनुसन्धानका क्रममा खुलेको छ। ऋषिराज बिचौलिया ‘डन’ भट्टका व्यावसायिक साझेदार हुन्।
भट्टले जनताको पैसाबाट नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए। भट्टले पब्लिक कम्पनीबाट निकालेको पैसा भृकुटी ब्रोकर हुँदै ऋषिराजकहाँ पुगेको देखिएपछि विभागले उनीसँग पनि बयान लिइसकेको छ।
आफू अनुसन्धानमा तानिएपछि ऋषिराजले राजीनामा दिएका हुन्। भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बिहीबार पक्राउ गरेर अन्सन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतको अनुमति लिइसकेको छ।
ऋषिराजले चैत ६ गते राजीनामा दिएकामा बिहीबार अपराह्न भट्ट पक्राउ परेपछि बसेको कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको हो।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई भट्टको चाहनामा नेपाल बीमा प्राधिकरणमा नियुक्ति पाएका तत्कालीन अध्यक्ष सूर्य सिलवालले लाइसेन्स दिएका थिए।










