काठमाडौं। मुलुकको विदेशी विनिमय सञ्चिति निरन्तर थपिँदै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ।
गत असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड पुगेको छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ७८ अर्ब ६६ करोड कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.० प्रतिशत रहेको छ।
आर्थिक वर्ष आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
शोधनान्तर स्थिति थप बलियो बन्दै गएको छ। फागुन मसान्तसम्म ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो।
चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो। रेमिटेन्सको वृद्धिसँगै निर्यात बढ्दा यस्तो बचत बलियो बन्दै गएको छ।










