ऊर्जा संकटमा खेलकुद : क्रिकेटका लिगदेखि फिफाको विश्वकपसम्म पर्नसक्छ असर!



मुकुन्द घिमिरे
२०८२ चैत्र २१ गते ०६:५३ | Apr 4, 2026
ऊर्जा संकटमा खेलकुद : क्रिकेटका लिगदेखि फिफाको विश्वकपसम्म पर्नसक्छ असर!

काठमाडौं। महँगो हवाई भाडा, इन्धन बचतका लागि जुगाड र राजनीतिक अस्थिरताबीच विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्च फिफा वर्ल्डकप फेरि एकपटक चुनौतीको घेरामा देखिएको छ। सन् १९७० को दशकमा विश्वव्यापी ऊर्जा संकटबीच आयोजना भएका १९७४ (पश्चिम जर्मनी) र १९७८ (अर्जेन्टिना) विश्वकपका अनुभव अहिलेको अवस्थासँग तुलना गर्न थालिएको छ।

Tata
GBIME
Nepal Life

यो वर्षको विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि जुलाई ३१ सम्म आयोजना हुने तालिका छ। प्रतियोगिता नजिकिँदै गर्दा खाडी तनाव र इन्धन संकटको परिस्थितिले फेरि खेलकुद क्षेत्रमाथि दबाब बढाएको छ। अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि खाडी अशान्त छ। पूरै पश्चिम एसियालाई युद्धतर्फ धकेलेको छ, जसको असर विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा परेको छ।

विशेषगरी विश्वको करिब पाँचौं हिस्सा तेल आपूर्ति हुने स्ट्रेट अफ हर्मुज क्षेत्रमा अवरोध उत्पन्न हुँदा बजारमा त्रास बढेको छ, जसले मूल्यलाई अझ चर्काएको छ। युद्ध चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य असामान्य रूपमा उच्च भइसकेको छ। पछिल्ला दिनहरूमा ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल ११० डलर नाघेको छ भने केही अवस्थामा ११७ डलरसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेब्रुअरी अन्त्यतिर करिब ७० डलर आसपास रहेको तेल मूल्य केही सातामै ४०–५० प्रतिशतसम्म बढेको छ, जसको मुख्य कारण पश्चिम एसियामा युद्धका कारण आपूर्ति अवरोध हुनु हो।

युद्धले निम्त्याएको अस्थिरता र ऊर्जा संकटले आपूर्ति शृंखला प्रभावित भएको छ। यसको सीधा असर अन्तर्राष्ट्रिय यात्रा खर्चमा परेको छ। हवाई भाडा ह्वात्तै बढेको छ र यो कहाँ पुगेर स्थिर हुन्छ भन्ने युद्धको दिशाले मात्र निर्धारण गर्ने देखिन्छ। हाल दुवै पक्ष तत्काल युद्ध रोक्ने मनस्थितिमा नदेखिँदा अनिश्चितता झन् बढेको छ। द्वन्द्व लम्बिँदै जाँदा तेलको मूल्य अझै बढ्न सक्नेछ र यसको प्रत्यक्ष असर हवाई भाडा, ढुवानी खर्च र खेलकुद आयोजनाको लागतमा पर्ने निश्चित छ।

खेल आयोजनामा आफ्ना संकट त छँदैछन्, दर्शक पनि समस्यामा पर्दैछन्। विशेषगरी एसिया र अफ्रिकाबाट विश्वकप हेर्न जाने समर्थकहरूमा महँगीले दबाब बढाउने देखिएको छ। लामो दूरी, महँगो टिकट र बसोबास खर्चले उनीहरूका लागि यात्रा झन् कठिन बन्नेछ। यसको तुलनामा युरोपेली समर्थकहरू केही सहज अवस्थामा रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्लो पटक विश्व खेलकुद टक्क रोकिएर फेरि लयमा फर्किएको एक दशक पनि भइसकेको छैन। कोभिड-१९ को महामारीले विश्वलाई गाँजेको बेला विश्वभर मानिसको मुखमा मास्क थियो, मान्छे घरमा थिए। सबै क्षेत्र अस्तव्यस्त हुँदा विश्व खेलकुद पनि उत्तिकै प्रभावित भएको थियो। सन् २०२० मा त पहिलो पटक ऊर्जाको मूल्य शून्यबाट तल झरेर नकारात्मक बनेको बेला विश्वको खेलकुद ठप्प थियो।

६ वर्षपछि यो स्थितिमा केही समानता र असमानता छन्। अन्योल र असुरक्षाको स्थिति उस्तै छ। त्यसबेलाजस्तो मानिसहरु घरभित्र भने छैनन्। त्यतिबेला ऊर्जा माग घटेर मूल्य नै नकारात्मक भएको अवस्था समेत देखिएको थियो। तर अहिलेको अवस्था त्यसको ठीक उल्टो छ। माग उच्च छ, आपूर्ति अस्थिर छ र मूल्य ऐतिहासिक उचाइमा पुगेको छ।

एक त उच्च मूल्य त्यसमाथि पनि अभाव हुँदा नेपाल लगायत दक्षिण एसियाका राष्ट्रमा संकट गहिरिँदो छ। एकातिर संकट गहिरिरहँदा खेलकुदलाई प्रभाव त प्रत्यक्ष रुपमै देखिन थालेको छ।

पश्चिम एसियाको युद्धले नेपाली खेलकुदको कुरा गर्दा क्रिकेट सबैभन्दा पहिला प्रभावित भएको थियो। क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न नेपाल आउन खोजेका यूएई र ओमन उतै रोकिए। त्यो खेल अहिलेसम्म स्थगित नै छ।

दक्षिण एसियामा शनिबारबाट क्रिकेटमा विश्वका दुई ठूला लिगहरु सुरु भएका छन्। भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको छ भने पाकिस्तानमा पाकिस्तान सुपर लिग (पीएसएल) सुरु भएको छ।

यस्तोमा यी दुबै देशमा बहस पनि चलिरहेको छ: देशमै उर्जा संकट चलिरहँदा ठूलो लिगको आयोजना कतिको बुद्धिमानी काम हो?

ऊर्जा संकट र खेलकुदबीचको सम्बन्ध नयाँ होइन। सन् १९७० को दशकमा देखिएको ऊर्जा संकटका बेला पनि अमेरिकामा खेलकुदमा यसको प्रभावबारे गम्भीर बहस भएको थियो। त्यतिबेला इन्धन अभावले खेल हेर्न जाने दर्शक, टोलीको यात्रा, र रात्रीकालीन खेलका लागि प्रयोग हुने बत्ती तथा ऊर्जा खपतमा प्रश्न उठेको थियो। त्यसबेला ऊर्जा बचतको अपिल भइरहेको बेला ठूलो मात्रामा ऊर्जा प्रयोग गर्ने गतिविधि कत्तिको उचित भन्ने बहसले खेल संरचना नै परिवर्तन गर्न बाध्य पारेको थियो।

तेल उत्पादक राष्ट्रहरूको प्रतिबन्धपछि त्यसबेला पनि इन्धनको मूल्य आकासिएको थियो। जसले विश्वव्यापी आर्थिक मन्दी निम्त्यायो। आयोजक पश्चिम जर्मनीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरे पनि पृष्ठभूमिमा चुनौतीहरू स्पष्ट थिए।
यात्रा खर्च बढेको थियो, अन्तर्राष्ट्रिय फ्यानहरूको आवागमन महँगो बनेको थियो।

मैदानभित्रको खेल रोमाञ्चक रह्यो, तर मैदान बाहिर विश्व अर्थतन्त्रको अस्थिरता स्पष्ट देखिन्थ्यो। यसैले १९७४ को विश्वकपलाई ‘संकटबीचको उत्सव’ पनि भन्ने गरिन्छ।

यसको चार वर्षपछि सन् १९७८ मा विश्वकप आयोजना हुँदा अवस्था झन् जटिल थियो। आयोजक अर्जेन्टिना केवल आर्थिक दबाबमा मात्र थिएन, राजनीतिक रूपमा पनि संवेदनशील चरणमा थियो।

ऊर्जा संकटको असरले विश्व अर्थतन्त्र अझै अस्थिर रहँदा अर्जेन्टिनाले विश्वकप आयोजनामा ठूलो लगानी गर्‍यो।
पूर्वाधार निर्माण, स्टेडियम सुधार र व्यवस्थापनमा भएको अत्यधिक खर्चले देशको वित्तीय अवस्थामाथि थप भार पारेको विश्लेषणहरूमा उल्लेख पाइन्छ।

अहिले विश्वखेलकुद सामू त्यही सन्दर्भ फेरि दोहोरिएको छ। उर्जा संकट गहिरिएको छ। विश्व खेलकुद अहिले केवल प्रतिस्पर्धा र मनोरञ्जनमा सीमित छैन। अमेरिकी राष्ट्रपति प्रति झुकाव धेरै राखेको भनेर फिफाका अध्यक्षले नै आलोचना ब्यहोरिरहेका छन्। फुटबलबाहेक अन्य खेल पनि भू–राजनीतिक तनाव, ऊर्जा संकट र आपूर्ति प्रणालीसँग प्रत्यक्ष रूपमा गाँसिँदै आएका छन्। पछिल्लो टी-२० विश्वकपमै पनि भारत-पाकिस्तान-बंगलादेशबीचको द्वन्दले निकै अफ्ठेरो स्थिति सिर्जना गरेको थियो। यो देशहरुको बीचको कुटनीतिक तनाव भए पनि अब चाहिँ उर्जा संकट आएको छ। पछिल्लो समय पश्चिम एशिया (खाडी क्षेत्र) मा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति प्रणालीमा अवरोध ल्याएपछि यसको असर खेलकुदमा पनि स्पष्ट देखिन थालेको हो।

खाडी क्षेत्र विश्व ऊर्जा आपूर्तिको मुटु मानिन्छ। विशेषगरी स्ट्रेट अफ हर्मुजबाट ठूलो परिमाणमा तेल तथा एलएनजी आपूर्ति हुने गर्छ। यही मार्गमा अवरोध सिर्जना हुँदा तेलको मूल्य वृद्धि, ग्यास अभाव र आपूर्ति अस्थिरता देखिएको छ। यसको प्रत्यक्ष प्रभाव भारत, पाकिस्तान जस्ता ऊर्जा आयातमा निर्भर देशहरूमा परेको छ, जसले खेलकुद आयोजनामा समेत चुनौती थपेको छ।

यसको प्रभाव सबैभन्दा स्पष्ट रूपमा फ्रेन्चाइज क्रिकेट लिगहरू आईपीएल र पीएसएलमा देखिएको छ। विश्वकपपछि सुरु हुने यी लिगहरू सामान्यतया ठूलो आर्थिक गतिविधि, उच्च ऊर्जा खपत र व्यापक आवागमनसँग जोडिएका हुन्छन्। तर अहिलेको अवस्थामा ती सबै पक्ष संकटमा परेका छन्।

ऊर्जा संकटका कारण खेल आयोजनाको संरचना नै परिवर्तन हुन थालेको छ। पाकिस्तानमा  त्यहाँको क्रिकेट बोर्ड (पीसीबी)ले पीएसएलका खेलहरू सीमित रंगशालामा आयोजना गर्ने, दर्शकविहीन (बिहाइन्ड क्लोज्ड डोर्स) खेल सञ्चालन गर्ने र उद्घाटन समारोहसमेत रद्द गर्ने निर्णय गर्‍यो। यसले एकातिर ऊर्जा बचतको सन्देश दिन्छ भने अर्कोतिर सार्वजनिक आलोचना टार्ने प्रयास पनि देखिन्छ।

यता पीएसएलको प्रतिस्पर्धी लिग आईपीएल पनि जारी छ। भारतमा क्रिकेट बोर्ड (बीसीसीआई)ले अझै कठोर निर्णय नलिए पनि अवस्थालाई नजिकबाट नियालिरहेको छ। विशेषगरी खाना पकाउने ग्यास अभाव, होटल तथा यातायात क्षेत्रमा ऊर्जा सीमितता र खेलका लागि आवश्यक पूर्वाधार सञ्चालनमा पर्ने दबाबले आईपीएलमाथि चुनौती थपेको छ।

खेलकुदमा ऊर्जा संकटको सबैभन्दा ठूलो असर यातायात र सञ्चालन लागतमा देखिन्छ। अन्तर्राष्ट्रिय खेलाडीहरूको आवागमन महँगो हुँदै गएको छ भने कतिपय अवस्थामा उनीहरूको सहभागिता नै अनिश्चित बनेको छ। उदाहरणका रूपमा केही खेलाडीहरूले पीएसएल छोडेर आईपीएल रोजेका छन्, जसले आर्थिक शक्ति र स्थायित्वको अन्तर पनि देखाउँछ।

त्यस्तै, एउटा मात्र रात्रीकालीन खेल सञ्चालन गर्न हजारौँ लिटर डिजेल आवश्यक पर्छ। यस्तो अवस्थामा ऊर्जा अभाव भइरहेका बेला ठूलो मात्रामा इन्धन प्रयोग गर्नु सामाजिक रूपमा अस्वीकार्य देखिन सक्छ। यसले खेलकुदलाई केवल आर्थिक मात्र होइन, नैतिक दबाबमा पनि राखेको छ।

खेलकुदको अर्को महत्वपूर्ण पक्ष भने ऊर्जा बचतका लागि सर्वसाधारणलाई आग्रह गरिरहेको अवस्थामा हजारौँ दर्शकसहितको खेल आयोजना गर्नु वा ठूलो समारोह गर्नु आलोचनाको विषय बन्न सक्छ। त्यसैले अहिलेका धेरै निर्णयहरू प्राविधिक आवश्यकताभन्दा बढी सार्वजनिक सन्देशलाई ध्यानमा राखेर गरिएका देखिन्छन्।

समग्रमा, खाडी द्वन्द्वले खेलकुदलाई प्रत्यक्ष नभए पनि गहिरो अप्रत्यक्ष असर गरिरहेको छ। तेल र ग्यासको मूल्य वृद्धि, आपूर्ति अस्थिरता, यातायात अवरोध र सार्वजनिक दबाबले खेल आयोजनालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ।

फिफा विश्वकपसम्म पर्न सक्छ असर

सन् १९७४ र १९७८ को फिफा विश्वकपमा ऊर्जा संकटले निकै आपत पारेको थियो।

सन् १९७० को दशकको ऊर्जा संकटले खेलकुदको महाकुम्भ फिफा विश्वकपलाई समेत अछुतो राखेन, जसका कारण आयोजक र समर्थक दुवैका लागि स्थिति चुनौतीपूर्ण बनेको थियो।

विशेष गरी सन् १९७४ को पश्चिम जर्मनी विश्वकपका दौरान इन्धनको अभावले गर्दा ‘कार-मुक्त आइतबार’ जस्ता कडा नियमहरू लागू गरिएका थिए, जसले गर्दा दर्शकहरूलाई रंगशालासम्म पुग्न निकै सास्ती भएको थियो भने बढेको हवाई भाडाले अन्तर्राष्ट्रिय पर्यटनमा समेत गिरावट ल्यायो।

यसैगरी, सन् १९७८ को अर्जेन्टिना विश्वकपमा पनि बढ्दो निर्माण लागत र विश्वव्यापी आर्थिक मन्दीका कारण पूर्वाधार विकासमा ठुलो आर्थिक भार थपियो, जसले गर्दा खेलकुद आयोजनाहरूमा ऊर्जा बचत र वैकल्पिक स्रोतको खोजी गर्ने आधुनिक बहसको सुरु गरेको गरेको थियो।