काठमाडौ। इण्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले सनराइजर्स हैदराबादलाई हराएको छ। बेङ्ग्लुरुस्थित एमए चिन्नस्वामी स्टेडियममा गएराति सम्पन्न पहिलो खेलमै बेङ्ग्लुरुले ६ विकेटको प्रभावशाली जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बैङ्ग्लुरुले १५.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।
सुरुवाती ब्याटिङमा उत्रिएको हैदराबादका लागि इशान किसनले सर्वाधिक ८० रन बनाउँदा अंकित वर्माले ४३ तथा हेनरिच क्लासनले ३१ रनको योगदान दिए। बलिङतर्फ जेकोब डफी र रोमारियो सेपार्डले समान ३ विकेट लिँदा भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सूयस शर्माले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुलाई लक्ष्यसम्म पुर्याउन बिराट कोहली र देबदत्त पार्डिकलले अर्धशतकीय इनिङ्स खेले। कोहलीले अविजित ६९ र पार्डिकलले ६१ रन बनाउँदा रजत पतिदारले ३१ रनको महत्वपूर्ण योगदान दिए। बलिङमा महँगो सावित भएको डेभिड पायनले सर्वाधिक २ विकेट लिँदा जयदेव उनदकट र हर्ष दुबेले समान १ विकेट लिए।
आज आईपीएलमा मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स मुम्बईस्थित वानखेडे स्टेडियममा भिड्दैछन्।











