म सानो हुँदा बैंक भन्ने कुरा केवल पैसा जम्मा गर्ने र झिक्ने स्थान मात्र हो भन्ने बुझाइ थियो। बुबाआमासँग बैंक जाँदा लामो लाइनमा उभिनुपर्थ्यो। पासबुकमा छाप हानिन्थ्यो, लेजरमा हिसाब लेखिन्थ्यो। बैँक भनेको धनी र ठूला मानिसहरूको ठाउँ जस्तो लाग्थ्यो। विद्यालय वा कलेजमा बैंकिङ प्रणाली, बचत, लगानी, ऋण, ब्याज जस्ता विषयमा कुनै औपचारिक शिक्षा दिइदैनथ्यो।
बैंकको कामकारबाहीबारे जानकारी बाहिरी दृश्यमा देखिएजति मात्र सीमित थियो। त्यस समय बैंकिङ सेवा सर्वसाधारणसम्म सहज रूपमा पुगेको थिएन। गाउँघरमा त झन् बैंक पुग्नु आफैंमा ठूलो कुरा थियो। मानिसहरू नगदमा कारोबार गर्थे, बचत घरमै राख्थे वा सुनचाँदी किन्थे। तर आजको अवस्था पूर्ण रूपमा फरक छ।
नेपालमा बैंकिङ क्षेत्रले उल्लेखनीय प्रगति गरेको छ। डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी जस्ता सेवाले आर्थिक कारोबारलाई छिटो, सहज र सुरक्षित बनाएको छ। देशका सम्पूर्ण स्थानीय तहसम्म बैंकिङ सेवा विस्तार भइसकेको छ। विदेशबाट आउने रेमिट्यान्स पनि सहज रूपमा बैंकमार्फत प्राप्त हुने गरेको छ।
यद्यपि बैंकिङ पहुँच बढे पनि वित्तीय साक्षरता भने अझै सन्तोषजनक स्तरमा पुगेको छैन। ग्रामीण मात्र होइन, शहरी क्षेत्रमा समेत बालबालिकालाई पैसाको सही प्रयोग, बचतको महत्व र आर्थिक अनुशासनबारे पर्याप्त ज्ञान दिइएको देखिँदैन। त्यसैले अबको शिक्षा प्रणालीमा वित्तीय साक्षरतालाई अनिवार्य विषयका रूपमा समावेश गर्नु समयको माग बनेको छ।
एउटा सान्दर्भिक अनुभव
हालै एकजना व्यापारी साथीले आफ्नी छोरीको जन्मदिन मनाउने भेलामा बोलाएका थिए। कार्यक्रम एक ठूलो होटलमा आयोजना गरिएको थियो। साथीहरूले उपहार दिँदै शुभकामना व्यक्त गरिरहेका थिए। त्यही क्रममा एक बालिकाले दिएको महँगो उपहार बर्थडे गर्लले अस्वीकार गर्दै भनिन्, ‘मसँग यस्ता त धेरै छन्।’ उक्त उपहारको मूल्य करिब तीन हजार रूपयाँ जति थियो। त्यति सानो उमेरमै पैसाको मूल्यप्रति संवेदनशीलता नदेखिनु मलाई सोच्न बाध्य बनायो।
यो घटना केबल एउटा परिवारको मात्र होइन, हाम्रो बदलिँदो सामाजिक संरचना र उपभोक्तावादी सोचको संकेत पनि हो। आज बालबालिकालाई धेरै कुरा सजिलै उपलब्ध छन्। मोबाइल, खेलौना, ब्रान्डेड कपडा, आधुनिक सुविधा। सबै कुरा तत्काल पाउन सकिने वातावरण छ। यसले उनीहरूमा वस्तुको मूल्यभन्दा उपलब्धताको सहजता बढी महत्त्वपूर्ण बन्ने अवस्था सिर्जना गरिरहेको छ।
परिवर्तनशील समाज, कमजोर आर्थिक अनुशासन
हाम्रो समाज तीव्र रूपमा परिवर्तन भइरहेको छ। जीवनशैली, सोच, मूल्य मान्यता सबैमा परिवर्तन आएको छ। पहिलेका पुस्तामा आम्दानी सीमित भए पनि खर्च सोचविचार गरेर गरिन्थ्यो। नगद कम भए पनि आत्मनिर्भरता र अनुशासन थियो। आज आम्दानीका स्रोत बढे पनि खर्च गर्ने प्रवृति तीव्र भएको छ। ऋण लिएर उपभोग गर्ने चलन बढ्दो छ।
दैनिक रूपमा धितो लिलामी, चेक अनादर, कालोसूचीमा परेका व्यक्तिहरूका समाचार आउनु आर्थिक अनुशासन कमजोर हुँदै गएको संकेत हो। यस परिस्थितिमा यदि हामीले बालबालिकालाई सानैदेखि सही आर्थिक संस्कार दिन सकेनौँ भने भविष्यमा निकै ठूलो चुनौती सामना गर्नुपर्ने हुन सक्दछ।

यसर्थ यहाँ केही बुँदाहरु उठान गरिएको छ, जुन भविष्यमा बालबालिकामा वित्तीय अनुशासन विकास गर्ने उपायहरू बन्न सक्दछन्।
- कमाउन सिकाउनुहोस् : बच्चालाई हरेक वस्तु र सेवाको मूल्य हुन्छ भन्ने बुझाउन अत्यन्त आवश्यक छ। मागेअनुसार तुरुन्तै सामान किनिदिनु भन्दा केही सर्त राख्नु उपयक्त हुन्छ। उदाहरणका लागि – राम्रो व्यवहार, घरायसी सानो सहयोग, वा केही समय कुर्नुपर्ने अवस्था। यसले बच्चाामा ‘पैसा सजिलै आउँदैन’ भन्ने भावना विकास गर्छ र परिश्रम र प्रतिफल बीचको सम्बन्ध बुझ्न मद्दत पुर्याउँछ।
- बचत गर्ने बानी बसाल्नुहोस् : हाम्रो संस्कृतिमा चाडपर्वमा दक्षिणा दिने चलन छ। बच्चाले प्राप्त गरेको रकम तुरुन्त खर्च नगरी केही अंश बचत गर्न प्रेरित गर्नुहोस्। सानै उमेरदेखि खुत्रुके प्रयोग गर्न लगाउनु, बैंक खाता खोलिदिनु, मासिक रूपमा सानो बचत गराउन सक्नु अत्यन्त उपयोगी अभ्यास हो। बचतबाट भविष्यमा आफूले चाहेको वस्तु किन्न सकिन्छ भन्ने अनुभव दिलाउनु आवश्यक छ।
- निर्णय लिन प्रोत्साहन गर्नुहोस् : बच्चाले जम्मा गरेको पैसाबाट आवश्यक सामान आफैं छान्न र किन्न दिनुहोस्। यसले उनीहरूमा निर्णय क्षमता र आत्म विश्वास विकास गर्छ। उनीहरूलाई बजेट बनाउन सिकाउनुहोस् – ‘कति पैसा छ?,’ ‘कति खर्च गर्न मिल्छ?,’ ‘के अहिले किन्न आवश्यक छ?’ जस्ता प्रश्नहरू सोच्न लगाउनुहोस्।
- ‘हुँदैन’ भन्न सिक्नुहोस् : अभिभावकले सधैं सबै माग पूरा गर्नु आवश्यक छैन। आवश्यक र अनावश्यक बीचको फरक छुट्याउन सिकाउनु नै वास्तविक शिक्षा हो। ‘अहिले सम्भव छैन,’ ‘यो आवश्यक छैन,’ ‘अर्को महिनामा सोचौँ’ जस्ता उत्तरहरूले बच्चालाई धैर्यता र प्राथमिकता निर्धारण गर्न सिकाउँछन्।
- पैसाको महत्त्व व्यवहारबाट देखाउनुहोस् : बच्चाले सुनेर भन्दा देखेर बढी सिक्छन्। अभिभावक स्वयंले सोचेर खर्च गर्ने, अनावश्यक विलासिताका वस्तु तथा सेवा मा खर्च नगरने, नियमित बचत गर्ने अभ्यास गरेमा त्यसको सकारात्मक प्रभाव बच्चामा स्वतः पर्छ। पैसा कमाउन कति मेहनत लाग्छ भन्न्ने कुरा व्यवहारिक उदाहरणबाट बुझाउनु आवश्यक छ।
बैंकिङ प्रणाली आधुनिक हुँदै गएको छ। तर, आर्थिक अनुशासन र वित्तीय साक्षरता अझै सुदृढ हुन बाँकी छ। हामीले आज यदि बालबालिकालाई पैसाको सही मूल्य, बचतको महत्त्व र जिम्मेवार खर्चको संस्कार सिकाउन सक्यौँ भने भविष्यमा उनीहरू आत्मनिर्भर, सचेत र जिम्मेवार नागरिक बन्नेछन्।
वित्तीय शिक्षा केबल पैसाको मात्र विषय होइन यो जीवन व्यवस्थापनको आधार पनि हो। त्यसैले सानैदेखि सही मार्गदर्शन दिनु हाम्रो साझा जिम्मेवारी हो।
(लेखक नेपाल प्रभु बैंकको बागमती प्रदेश प्रमुख हुन्।)









