जीवनमा केही व्यक्तित्व यस्ता हुन्छन्, जसले केवल आफ्नो जिम्मेवारी मात्र पूरा गर्दैनन्, अरूको सम्भावनालाई चिनेर त्यसलाई अघि बढाउने वातावरण पनि सिर्जना गर्छन्। मेरा लागि अर्थविद् केशव आचार्य सर त्यस्तै एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो।
उहाँसँग प्रत्यक्ष रूपमा सँगै रहेर काम गर्ने अवसर मलाई नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा हुँदा प्राप्त भएको थियो। उहाँको सरल, नरम मिजास र विषयवस्तुप्रतिको गहिरो ज्ञानबारे अनलाइन पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा धेरै चर्चा भइसकेका छन्, त्यसैले ती कुरा दोहोर्याइरहनु आवश्यक छैन। यहाँ म उहाँले मलाई दिनुभएको उत्प्रेरणा र अगाडि बढ्ने हौसलाका दुई महत्त्वपूर्ण घटनामार्फत सम्झन चाहन्छु।
१. राष्ट्रिय खाता (कुल गार्हस्थ उत्पादन) मा नयाँ पहल
मलाई राष्ट्र बैंकको अनुसन्धान विभागअन्तर्गत क्यापिटल मार्केट डिभिजनबाट नेशनल एकाउन्ट (त्यतिबेला ‘आर्थिक विकास शाखा’) मा सरुवा गरिएको थियो। त्यही क्रममा मैले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) द्वारा सिंगापुरमा आयोजना गरिएको नेशनल एकाउन्टसम्बन्धी तालिममा सहभागी हुने अवसर पाएँ। त्यो मेरो लागि राष्ट्रिय लेखा प्रणालीका विभिन्न पक्षहरू र कुल गार्हस्थ उत्पादन (जीडीपी) पूर्वानुमानका आधारहरू बुझ्ने महत्त्वपूर्ण अवसर थियो।
त्यस समयसम्म न नेपाल राष्ट्र बैंकले न त केन्द्रीय तथ्यांक विभाग (सीबीएस)ले नै कुल राष्ट्रिय खर्चयोग्य आम्दानीको तालिका (ग्रस नेशनल डिपोजेबल इनकम, जीएनडीआइ) तयार गरी प्रकाशित गरेका थिए। उक्त तालिमबाट मैले जीएनडीआइ के हो र यसका प्रमुख अवयवहरू के-के हुन् भन्ने कुरा सिकेँ। फर्किएपछि मैले जीएनडीआइको तालिका तयार गरी केशव सरलाई देखाएँ र व्याख्या पनि गरेँ। उहाँ मेरो कामप्रति निकै खुसी हुनुभयो र धन्यवाद पनि दिनुभयो।
उहाँले मलाई यस विधिप्रति कत्तिको विश्वस्त छु भनेर सोध्नुभयो। मैले आफू शतप्रतिशत विश्वस्त रहेको बताएँ। त्यसपछि उहाँले यसलाई राष्ट्र बैंकले मासिक रूपमा प्रकाशित गर्ने ‘देशको वर्तमान आर्थिक स्थिति’ प्रतिवेदनमा समावेश गरौँ भन्नुभयो।
त्यसपछि अर्को महिनादेखि हामीले जीएनडीआइ तालिका प्रकाशित गर्न थाल्यौँ। एउटा केन्द्रीय बैंकले केवल मेरो ज्ञान र विश्वासका आधारमा यस्तो नयाँ तथ्यांक प्रकाशन गर्नु आफैंमा जोखिमपूर्ण निर्णय थियो, तर उहाँको विश्वासले त्यसलाई सम्भव बनायो।
यसको प्रकाशनपछि विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्रतिक्रिया आउन थाले, जसमा केन्द्रीय तथ्यांक विभाग पनि समावेश थियो। पछि विभागले पनि कुल राष्ट्रिय खर्चयोग्य आम्दानीको तालिका (जीएनडीआइ ) तालिका प्रकाशित गर्न सुरु गर्यो। त्यसपछिका दिनहरूमा केशव सर प्रायः भन्नुहुन्थ्यो – ‘हेर्नुहोस् राजेन्द्रजी, हाम्रो काम र पहलको सबैले प्रशंसा गरिरहेका छन्।’ त्यो मेरो लागि ठूलो प्रेरणाको क्षण थियो।
२. विश्वास र अवसर
दोस्रो घटना पनि मलाई अत्यन्त मन छुने खालको छ। माओवादी द्वन्द्व चलिरहेको समयमा एउटा संस्थाले केशव सरलाई द्वन्द्वको आर्थिक प्रभावबारे तथ्यांकमा आधारित अनुसन्धानमूलक लेख तयार गरी सेमिनारमा प्रस्तुत गर्न अनुरोध गरेको रहेछ।
उहाँले मलाई आफ्नो कार्यालयमा बोलाएर भन्नुभयो – ‘यस्तो पत्र आएको छ, तपाईं एउटा अनुसन्धानमूलक लेख तयार पारिदिनुहोस्।’ उहाँको विश्वासले मलाई उत्साहित मात्र होइन, जिम्मेवार पनि बनायो।
मैले कुल गार्हस्थ उत्पादन, राजस्व, लगानी, आयात–निर्यात लगायतका आर्थिक सूचकहरूमा परेको प्रभावको तथ्यांकीय विश्लेषण गर्दै क्षतिको परिमाणसमेत समेटेर लेख तयार गरी उहाँलाई पेस गरेँ। उहाँले सराहना गर्दै केही महत्त्वपूर्ण सुझावहरू दिनुभयो। ती सुझावहरू समेटेर मैले लेखलाई अन्तिम रूप दिएँ। त्यसपछि उहाँले ‘यो त निकै राम्रो बनेको छ’ भन्दै स्याबासी दिनुभयो र उक्त लेख निमन्त्रणा गर्ने संस्थालाई पठाइदिनुभयो।
प्रस्तुतिकरणको समय आउँदा उहाँले फेरि भन्नुभयो- ‘यो तपाईंले तयार गर्नुभएको हो, अब सेमिनारमा पनि तपाईं नै गएर प्रस्तुत गर्नुस्।’ त्यस्तो स्तरको सेमिनारमा कार्यपत्र प्रस्तुत गर्ने मेरो अनुभव कम थियो, त्यसैले सुरुमा केही हिचकिचाहट भयो। तर उहाँको हौसलाले म अघि बढेँ र होटल एभरेष्टमा आयोजित कार्यक्रममा आत्मविश्वासका साथ आफ्नो प्रस्तुति दिएँ।
यसरी उहाँले मलाई केवल काम गर्ने अवसर मात्र होइन, आफ्नो क्षमतालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने महत्त्वपूर्ण ‘एक्सपोजर’ पनि दिनुभयो।
पछि थाहा भयो कि उक्त कार्यका लागि उहाँलाई पारिश्रमिक प्रदान गरिएको रहेछ। अर्को दिन उहाँले मलाई कार्यालयमा बोलाएर, ‘मैले नलिऊँ भन्दा पनि’ त्यो रकम मलाई नै दिनुभयो। उहाँको त्यो उदारता र सहकार्यको भावना मेरो लागि अझ प्रेरणादायी बन्यो। त्यसपछि उक्त लेख अन्य लेखहरूसँगै पुस्तकका रूपमा प्रकाशित पनि भयो, जुन मेरो लागि महत्त्वपूर्ण सिकाइको अनुभव बन्यो।
सामान्यतया कार्यालयमा हाकिमले कर्मचारीबाट लेख वा कार्यपत्र तयार गराएर त्यसको श्रेय आफैं लिने प्रवृत्ति देखिन्छ, र तयार गर्ने कर्मचारीलाई न त कदर गरिन्छ, न त उचित मान्यता नै। तर केशव सर यस मामिलामा बिल्कुलै फरक हुनुहुन्थ्यो। उहाँले सधैं काम गर्ने व्यक्तिलाई नै अगाडि ल्याउन र सम्मान दिन रुचाउनुहुन्थ्यो।
यी दुई घटनाले केशव सरको व्यक्तित्वलाई स्पष्ट रूपमा उजागर गर्छन्। उहाँ केवल एक कुशल प्रशासक मात्र होइन, अरूको क्षमता पहिचान गरेर त्यसलाई विकास गर्ने सच्चा मार्गदर्शक पनि हुनुहुन्थ्यो। उहाँको विश्वासले मलाई काम गर्ने मात्र होइन, आफूलाई प्रमाणित गर्ने अवसर दियो।
आज फर्केर हेर्दा लाग्छ, व्यक्तिगत उपलब्धिहरू समयसँगै बिर्सन सकिन्छन्, तर कसैले दिएको विश्वास, प्रेरणा र अवसर भने सधैं स्मृतिमा जीवित रहन्छन्। केशव सरले मेरो जीवनमा त्यही अमिट छाप छोड्नुभएको छ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली।









