कोइरालो ६२% महँगियो, ‘घोडेजात्राको दिन धेरै प्रयोग हुने भएकोले माग बढेर सस्तिएन’



बिजमाण्डू
२०८२ चैत्र ४ गते ११:५९ | Mar 18, 2026
कोइरालो ६२% महँगियो, ‘घोडेजात्राको दिन धेरै प्रयोग हुने भएकोले माग बढेर सस्तिएन’


काठमाडौं। सिजन सुरु भएपनि कोइरालोको भाउ गत वर्षको तुलनामा ६२ प्रतिशत महँगो छ। कालिमाटी तरकारी बजारमा कोइरालोको थोक मूल्य प्रति किलो २७६ छ।

Tata
GBIME

गत वर्ष यही समयमा कालीमाटी तरकारी बजारमा कोइरालोको भाउ प्रति किलो १७० रुपैयाँ थियो।

गत फागुन तेस्रो सातापछि बजारमा कोइरालो आउन सुरु भएको हो। सुरुवाती समयमा थोक बजारमा प्रति किलो ३७५ रुपैयाँ तोकिएको यसको भाउ यतिबेला घटेको छ।

१० दिनको अन्तरालमा कोइरालोको भाउ किलोमा एक सय रुपैयाँले सस्तो भएको छ। यद्यपि, गत वर्षको तुलनामा बजारमा कोइरालोको आपूर्ति कम हुँदा भाउ महँगो भएको बताइएको छ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितका सूचना अधिकारी विनय श्रेष्ठले बजारमा कम परिमाणमा आइरहेकोले महँगो भएको बताए।

‘यो ठूलो परिमाणमा माग र खपत हुनेमा पर्दैन। यो अचार खान प्रयोग गरिने सिजनल कृषि उपज हो। घोडेजात्राको दिन नेवारी समुदायमा अचारका लागि धेरै प्रयोग हुने भएकोले माग बढेर भाउ सस्तो नभएको हुन सक्छ,’ उनले भने।

कोइरालोको अचार खाने उपभोक्ता सिमित छन्। अन्य तरकारी जस्तो उत्पादन र खपत नहुने भएकोले यो महँगो भएको उनको भनाइ छ।

‘हाल कालीमाटी बजारमा दैनिक एक हजार केजीभन्दा बढी आइरहेको छ। अब देशको विभिन्न भागबाट बजारमा आउन थालेपछि भाउ योभन्दा सस्तो हुन्छ,’ सूचना अधिकारी श्रेष्ठले भने।

हरेक वर्ष चैत सुरु भएपछि कोइरालोको सिजन सुरु हुन्छ। पछिल्लो समय फागुनको अन्तिमदेखि नै बजारमा आउने गर्छ। केही दिनयता कोइरालोको आपूर्ति दैनिक रुपमा बढ्दै गएको कालीमाटी बजारले जनाएको छ।