महँगियो खानेतेल, व्यवसायी भन्छन्- ‘बजारमा इरान युद्ध र भारत निर्यातको असर पर्दैछ’



बिजमाण्डू
२०८२ फागुन २५ गते १५:५२ | Mar 9, 2026
महँगियो खानेतेल, व्यवसायी भन्छन्- ‘बजारमा इरान युद्ध र भारत निर्यातको असर पर्दैछ’


काठमाडौं। बजारमा खानेतेलको भाउ उच्च भएको छ। चुनाव अघिदेखि नै बढेको तेलको भाउ अझ उकालो लाग्ने क्रममा रहेको व्यवसायीले बताएका छन्।

Tata
GBIME

सूर्यमुखी तेलको थोक मूल्य ब्राण्ड अनुसार कार्टुनमा २७०० भन्दा बढी पर्ने थालेको छ। एक महिना अघिसम्म कार्टुनको २२ सय रुपैयाँ पर्ने सूर्यमुखी तेलको मूल्य कार्टुनमा ५ सय रुपैयाँसम्म बढिसकेको छ। नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बजारमा सबैभन्दा बढी खानेतेलको भाउ उच्च भएको बताए। ‘तेलको अन्तर्राष्ट्रिय बजारमा इरानको युद्धको असर परेको छ। कच्चा पदार्थ महँगिएपछि तयारी तेलको मूल्य बढ्छ नै।’

उत्पादकबाटै बढेर बजारमा आउँदा थोकमा तेल महँगो भएको उनले बताए। उद्योगीले भारतमा तेलको निर्यात पनि बढाएका छन्, यसको पनि असर बजारमा परेको उनको भनाइ छ। ‘अहिले बजारमा तेल बाहेक अन्य खाद्यान्न को भाउ बढेको छैन,’ उनले भने, ‘चामल चुनाव अघिकै मूल्यमा छ।’

जिरा मसिनो चामल बोराको १८५० देखि १९५० रुपैयाँमा थोक बजारमा बिक्री भइरहेको छ। दाल गेडागुडी लगायतको भाउ स्थिर छ। ‘यतिबेला तेलको भाउ बढ्नुपर्ने अरु कारण छैन। भारतमा ठूलो परिमाणमा निर्यात हुँदा र अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ महँगो हुँदा एक महिना यता तेलको भाउ कार्टुनमा ५ सय रुपैयाँसम्म बढेको हो,’ उनले भने।

त्यस्तै, बानेश्वरमा रहेको सुनादेवी किराना पसलका संचालक समर कठायतले इरान र इजरायलको युद्धका कारण तेलको भाउ बढिरहेको बताए। ‘खानेतेलको कच्चा पदार्थ बाहिर देशबाट आउँछ। उद्योग र ठुला सप्लायरले कच्चा पदार्थ महँगो परेकाले भाउमा असर परेको भनेका छन्,’ उनले भने।

चुनाव अघिदेखि खानेतेलको भाउ कार्टुनमा ४ सयदेखि ५ सय रुपैयाँ बढेको उनले बताए।

उनका अनुसार थोक बजारमै भाउ बढेर ब्राण्ड अनुसार कार्टुनमा २७५० देखि २८ सय रुपैयाँ पर्छ। उक्त तेल उपभोक्ताले खरिद गर्दा सूर्यमुखी तेल लिटरमा ३ सय रुपैयाँ पर्न थालेको छ। तोरीको तेल धारा कार्टुनको ३४५० रुपैयाँ पुगिसकेको छ।

हाल बजारमा खाद्यान्नको माग कम रहेको बताएका उनले भने, ‘चुनावपछि बजार लयमा फर्कदैछ। तर तेलको भाउ बढ्दा खपत कम हुने अवस्था देखिँदैछ।’

पछिल्लो समय भारतमा खानेतेलको निर्यात बढिरहेको छ। निर्यात परिमाण बढ्दा आन्तरिक बजारमा भाउ पनि बढ्दै जाने अनुमान व्यवसायी कठायतको छ।