नेपाल अहिले कुन मोडमा छ? यसको उत्तर खोज्न धेरै टाढा जानु पर्दैन। सामाजिक सञ्जालका ‘रिल’देखि चिया पसलका गफसम्म एउटै कुरा सुनिन्छ – ‘यो पाराले अब चल्दैन।’
जेनेरेशन- जेड (जेन-जी) भनिने आजको नयाँ पुस्ताको आक्रोश कुनै दलविशेषको विरोध मात्र होइन, यो दशकौँदेखिको राज्यको असफलतामाथिको सामूहिक ‘विद्रोह’ हो। यो पुस्ताले अब नेताका आश्वासनमा ताली बजाउन छोडिसक्यो, उनीहरू सिधै ‘रिजल्ट’ माग्छन्। र, जब रिजल्ट शून्य देखिन्छ, उनीहरूले पुरै प्रणालीमाथि नै प्रश्न उठाएका छन्।
नेपालको आजको यो छटपटी र सन् २००४ अघिको जर्जियाको अवस्था ठ्याक्कै मेल खान्छ। त्यतिबेलाको जर्जिया पनि आजको नेपालजस्तै भ्रष्टाचारको जालोमा जेलिएको थियो। सरकारी अड्डामा घुसविना कलम चल्दैनथ्यो, प्रहरी आफैं असुलीमा व्यस्त हुन्थ्यो र अर्थतन्त्र केही सीमित ‘दलाल’हरूको कब्जामा थियो। तर, एउटा निर्वाचनले त्यहाँको परिदृश्य नै बदलिदियो।
२००३ को ‘रोज रिभोल्युसन’ पछि आएको नेतृत्वले एउटा साहसी निर्णय गर्यो – बिग्रिएको घरलाई टालटुल गरेर बस्ने होइन, भत्काएर नयाँ जग हाल्ने। जर्जियाको त्यो साहस, २ घण्टामा प्रहरी बर्खास्त जर्जियाले गरेको सुधार कुनै ‘कस्मेटिक’ थिएन, त्यो त ‘सर्जिकल अपरेसन’ नै थियो।
मिखाइल साकास्भिलीको नेतृत्वले एउटै निर्णयबाट करिब ३० हजारभन्दा बढी भ्रष्ट प्रहरीलाई सडकमा पुर्याइदियो। हजारौं काम नलाग्ने कर्मचारी बिदा गरिए र बाँकीलाई सम्मानजनक तलब दिएर जवाफदेही बनाइयो। सबै सरकारी सेवालाई डिजिटल बनाउँदै जाँदा बिचौलियाको खेल आफैं सकियो। त्यहाँ भ्रष्टाचार घटाउन ‘छलफल’ गरिएन, भ्रष्टाचार गर्नेलाई सिधै ‘सिस्टम’बाट आउट गरियो।
नेपालमा हामीले सधैं क्रमिक सुधारको गफ गर्यौं। तर, भित्रभित्रै कुहिएको रुखलाई अलिअलि मलजल गरेर मात्र हुँदैन, त्यो त ढलाएर नयाँ बिरुवा रोप्नुपर्ने हुन्छ। जर्जियाले त्यही गर्यो। आजका नेपाली युवाहरूले पनि यही बुझेका छन्। उनीहरूलाई अब सुधारको ‘सुस्त गति’ स्वीकार्य छैन। त्यसैले त पुराना दल र अनुहारहरू विस्तारै अप्रासंगिक हुँदैछन्।
उद्यमीलाई सास्ती, क्लर्कलाई मस्ती नेपालमा रोजगारीको कुरा गर्दा हामी सधैँ बजेट र कार्यक्रममा अल्झिन्छौँ। तर, वास्तविक समस्या त ‘अनुमति संस्कृति’ (पर्मिट कल्चर) मा छ। जर्जियामा व्यवसाय दर्ता गर्न एउटै विन्डो र एकै दिनको समय तोकियो। सरकारले निश्चित समयभित्र जवाफ दिएन भने त्यसलाई ‘स्वतः स्वीकृत’ मानिने नियम ल्याइयो। नेपालमा ठ्याक्कै उल्टो छ।
यहाँ एउटा सानो उद्यम सुरु गर्न खोज्ने युवाले सिंहदरबारदेखि वडा कार्यालयसम्मका क्लर्कहरूको तजबिजमा बस्नुपर्छ। उद्यमीभन्दा एउटा सानो सरकारी कर्मचारी शक्तिशाली हुने यो प्रणालीले युवालाई स्वरोजगार होइन, राहदानी बनाउन बाध्य पारेको छ।
जर्जियाले क्लर्कको शक्ति खोसेर उद्यमीलाई दियो, हामीले भने अझै फाइल बोकेर धाउने संस्कृतिमै गर्व गरिरहेका छौँ। करको बोझ कि सेवाको मूल्य? नेपालको कर प्रणालीले इमानदार मानिसलाई ‘मूर्ख’ ठान्छ। जोखिम लिएर काम गर्नेलाई राज्यले यसरी कर लगाउँछ, मानौँ उसले अपराध गरिरहेको छ। तर, त्यो करबापत पाउने सेवा भने शून्य छ। जब राज्यले सेवा दिन सक्दैन र कर मात्र असुल्छ, तब मानिसले कर छल्ने बाटो खोज्छ वा पुँजी बाहिर लैजान्छ।
जर्जियाले ठिक उल्टो बाटो समात्यो। करका दरहरू घटायो, प्रक्रिया सजिलो बनायो र राजस्व उल्टै बढ्यो। हामी भने कर बढाएर समस्या हल हुने भ्रममा छौँ, जबकि यसले केवल आक्रोश मात्र बढाइरहेको छ। निष्कर्ष: अबको बाटो ‘क्लीन म्यान्डेट’ पछिल्ला २० वर्षमा जर्जियाले जादु गरेर स्वर्ग बनाएको होइन, तर उसले कम्तीमा एउटा बलियो ‘सिस्टम’ बसाएको छ।
नेपाल भने अझै पनि ‘गर्नुपर्छ’ र ‘गरिनेछ’ भन्ने भाष्यमै अल्झिएको छ। जेनजी पुस्ताले आफ्नो निर्णय सुनाइसकेको छ – अबको नेतृत्वमा साहस र स्पष्टता दुवै चाहिन्छ।
पछिल्लो समय नेपालको राजनीतिमा देखिएको रास्वपा जस्ता नयाँ शक्तिप्रतिको आकर्षण यसैको उपज हो। जनता अब ‘बोल्ड’ निर्णय गर्ने र पुराना संरचनालाई भत्काउने आँट भएको नेतृत्व खोजिरहेका छन्। यदि नेपाली जनताले कुनै दिन स्पष्ट सोच भएको युवा नेतृत्वलाई ‘क्लीन म्यान्डेट’ (पूर्ण जनादेश) दिने हो भने, नेपालको कायापलट गर्न असम्भव छैन। जर्जियाको इतिहासले देखाएको छ – जब जनताले स्पष्ट शक्ति दिन्छन्, तब नेतृत्वले अप्रिय तर देशका लागि आवश्यक निर्णय गर्ने साहस पाउँछ।
जर्जिया बदलिन सक्छ भने नेपाल किन सक्दैन? तर त्यसका लागि हामीले ‘टालटुल’ गर्ने मानसिकता त्यागेर ‘आमुल परिवर्तन’को बाटो रोज्नैपर्छ।









