काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ दलेर मनाइँदैछ।
यसैक्रममा राजधानीको वसन्तपुरमा एकापसमा रङ खेलेर होली मनाइएको छ। वसन्तपुरमा बालबालिका, युवायुवतीसहित विदेशी पर्यटक पनि होलीमा रमाएका छन्।


काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल पनि वसन्तपुर पुगेकी छन्। फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने विश्वास लिइन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व सोमबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।




















