काठमाडौं। नेपाल टेलिकमको मोबाइल पेमेन्ट गेटवे सञ्चालनका लागि राष्ट्र बैंकमा सेवा सञ्चालन अनुमति माग्दै प्रस्ताव पेश भएको छ। टेलिकमले छुट्टै कम्पनीमार्फत् पेमेन्ट गेटवे सञ्चालनको तयारी गरिरहेको छ।
पछिल्लो समय विद्युतीय भुक्तानीका विभिन्न माध्यमहरु नेपाली प्रयोगकर्ताहरु अभ्यस्त हुँदै गएका छन्। यही मौकामा सरकारी स्वामित्वका टेलिकम र वाणिज्य बैंक पेमेन्ट गेटवे विकासमा अग्रसर देखिएका छन्। उक्त कम्पनीले अनुमति पाएमा सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे हुनेछ। उक्त कम्पनीको सबै सेटलमेन्ट राष्ट्रिय वाणिज्य बैंकले गर्ने बताइएको छ।
गत असार मसान्तमै आशयपत्र पाएको उक्त कम्पनीले सेवा सञ्चालन अनुमतिका लागि राष्ट्र बैंकमा केही दिन अघि प्रस्ताव पेश गरेको थियो। आशयपत्र पाएको ६ महिना भित्र सेवा सञ्चालन अनुमतिको निवेदनसहितको प्रस्ताव राष्ट्र बैंकमा बुझाउनुपर्ने हुन्छ।
कम्पनीले पेश गरेका सबै कागजात र विवरणहरु अध्ययन भइरहेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले जानकारी दिए। उक्त कम्पनीले बुझाएको विवरणहरु प्रक्रियागत देखिए सेवा सञ्चालनको अनुमति पाउने छ। अहिले निजी क्षेत्रका इसेवा, खल्ती, आइएमइ पे, कनेक्ट आइपीएस र सेलपेलगायतका पेमेन्ट गेटवेहरु सञ्चालनमा छन्।