इन्डोनेशियाली ‘पेट्रोल गडफादर’ रिजा चालिदविरुद्ध पक्राउ पुर्जी, ऊर्जा बजारमा ठूलो हलचल



बिजमाण्डू
२०८२ माघ १९ गते १२:४५ | Feb 2, 2026
इन्डोनेशियाली ‘पेट्रोल गडफादर’ रिजा चालिदविरुद्ध पक्राउ पुर्जी, ऊर्जा बजारमा ठूलो हलचल


जकार्ता। थट इन्टरपोलले इन्डोनेसियाका तेल व्यवसायी मोहम्मद रिजा चालिदलाई पक्राउ गर्न रेड नोटिस जारी गरेको छ। इन्डोनेसियाली प्रहरीका अनुसार उनी २८ करोड ५० लाख डलरको भ्रष्टाचारमा संलग्न छन्। चालिदमाथि सरकारी तेल कम्पनी पर्टामिनामा व्यापक अनियमितता गरेको गम्भीर आरोप छ।

Tata
GBIME

उनले सन् २०१८ देखि २०२३ सम्म तेल आयातमा सेटिङ गरेको दाबी छ। इन्डोनेसियामा ‘पेट्रोल गडफादर’ भनेर चिनिने चालिद हाल फरार छन्। महान्यायाधिवक्ताको कार्यालयका अनुसार उनीमाथि सम्झौतामा हेरफेर गरी राज्यलाई ठूलो नोक्सानी पुर्‍याएको आरोप छ।

भ्रष्टाचारबाट आर्जित अवैध रकम उनले विभिन्न विदेशी बैंकमार्फत ‘मनी लन्ड्रिङ’ गरेका थिए। इन्टरपोलको यो कदमले उनलाई विश्वका जुनसुकै देशमा पक्राउ गर्न बाटो खुलेको छ। इन्डोनेसियाली राष्ट्रिय प्रहरीले आइतबार राति यो महत्त्वपूर्ण कानुनी कारबाहीबारे जानकारी दिएको हो।

यो मुद्दाले इन्डोनेसियाको ऊर्जा क्षेत्रमा व्याप्त भ्रष्टाचारको जालोलाई स्पष्ट रूपमा देखाएको छ। सरकारले चालिदलाई सुपुर्दगी गराई स्वदेश फर्काउन अन्तर्राष्ट्रिय निकायसँग समन्वय तीव्र पारेको छ। उनको पक्राउले इन्डोनेसियाको इन्धन बजारमा हुने सिन्डिकेट अन्त्य हुने विश्वास गरिएको छ।

चालिदविरुद्ध पक्राउ पुर्जी जारी हुनुले इन्डोनेसियाको ऊर्जा बजारमा निकै ठूलो हलचल पैदा गरेको छ। पर्टामिनासँग सम्बन्धित सहायक कम्पनीहरूको सेयर मूल्यमा केही गिरावट आएको रिपोर्टहरू प्राप्त भएका छन्।

लगानीकर्ताहरूले तेल आपूर्ति शृंखलामा हुनसक्ने सम्भावित अवरोधप्रति चिन्ता व्यक्त गर्न थालेका छन्। बजार विज्ञहरूका अनुसार यो कारबाहीले इन्धन आयातमा हुने बिचौलियाको प्रभाव घटाउनेछ। दीर्घकालीन रूपमा यसले इन्डोनेसियाको तेल बजारमा पारदर्शिता र नयाँ लगानी भित्र्याउनेछ।

चालिदको नेटवर्क ध्वस्त हुँदा साना तेल कम्पनीहरूले बजारमा प्रतिष्पर्धा गर्ने अवसर पाउनेछन्। अन्तर्राष्ट्रिय तेल बजारमा समेत इन्डोनेसियाको साख सुधार हुने अपेक्षा गरिएको छ। प्रहरीले चालिदको लुकेको स्थान पत्ता लगाउन छिमेकी मुलुकहरूसँग गुप्तचरी सूचना आदानप्रदान गरिरहेको छ। (एएफपी)