काठमाडौं। काठमाडौं उपत्यकाभित्र योजनाबद्ध रुपमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार साँझदेखि बिहीबार बिहानसम्म चलाएको अपरेसनमा १० जनालाई पक्राउ परेका छन्। त्यस्तै, उनीहरूले लुटेका सामान, मोटरसाइकल र निजी कार समेत बरामद भएको छ।
पक्राउ पर्नेहरूमा विनय तामाङ, राजीव भण्डारी, विशाल तामाङ, आयन माझी, मनिस रसाइली, विदुर विश्वकर्मा लगायत रहेको प्रहरीले जानकारी दिएको छ। यस घटनाका मुख्य योजनाकार भने विनय तामाङ भएको खुलेको छ।
विनयलाई प्रहरीले अपरेसनका क्रममा भाग्न खोज्दा गोली हानेर नियन्त्रणमा लिएको थियो। उनी गत भदौ २४ अगाडि बुढानीलकण्ठमा चोरी डाकामा पक्राउ परेर प्रहरी वृत्त महाराजगन्जको हिरासतमा रहेका बेला फरार भएका थिए। त्यसपछि उनले नै लुटपाट गर्ने समूह बनाएको देखिन्छ।

त्यस्तै, पक्राउ परेका अधिकांश चोरी, डाका मुद्दामा यसअघि पनि संलग्न भएको खुलेको छ। उनीहरू दिनभर ट्याक्सी चलाउने र राति भएपछि लुटपाट गर्ने गरेको देखिएको छ।
पक्राउ परेकामध्ये पेमा तामाङ र आयन माझी भने ट्याक्सी चालक हुन्। उनी दिनभर ट्याक्सी लिएर रेकी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।
राति ९ बजेतिर उनीहरू एकै ठाउँमा भेला हुने गर्थे। सँगै खाना खाएर १२ बजेपछि भने लुटपाट गर्न निस्किने गरेको देखिएको छ।
उनीहरूले रातिको समयमा मदिरा सेवन गरेकादेखि बिहान मर्निङवाकमा गएका महिलाले लगाएको सुनको गरगहनादेखि रकम समेत लुट्ने गरेका थिए।

‘यो समूहले राति र मर्निङवाकमा हिड्ने मानिसलाई टार्गेट गरेको देखिन्छ। हामीले सीसीटीभी क्यामेरा फुटेजको सहयोगमा केहीलाई नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले भने।
उनीहरू एउटा मोटरसाइकलमा ३ जना बस्ने, २ जनाले लुट्ने र मोटरसाइकल रेडी अवस्थामा राखेर भाग्ने गरेको देखिएको छ। भाग्नका लागि ट्याक्सी र निजी कार समेत प्रयोग गर्ने गरेको देखिन्छ। मोटरसाइकलको नम्बर प्लेट नचिनियोस् भनेर उनीहरूले हिलो समेत छ्याप्ने गरेका थिए।
उनीहरूले अहिलेसम्म स्वम्भ्यूमा ७, बुढानीलकण्ठमा ३, बौद्धमा ३, गौशालामा ३, ठिमीमा १३ गरेर २९ वटा लुटपाटको घटना गराएको प्रहरीले जानकारी दिएको छ। बिहीबार मात्र उनीहरूविरुद्ध २७ वटा जाहेरी आएको प्रहरीले जानकारी दिएको छ।










