सदस्य-केन्द्रित सहकारी चन्द्रागिरि : वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वको उदाहरण



रुप खड्का
२०८२ माघ १२ गते ०६:०० | Jan 26, 2026
सदस्य-केन्द्रित सहकारी चन्द्रागिरि : वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वको उदाहरण


पछिल्ला केही वर्षयता मुलुक सहकारीसम्बन्धी नकारात्मक समाचारले आक्रान्त छ। सहकारीको नाममा भएका वित्तीय अनियमितता, ठगी र दुरुपयोगका घटनाले आम नागरिकमा सहकारीप्रतिको विश्वास कमजोर बनाएको छ। यद्यपि, यस्ता समाचार सहकारीको मूल मर्मअनुसार सदस्य र समुदायको भलाइका लागि इमानदारीपूर्वक सञ्चालित संस्थासँग होइन, बरु पैसा र शक्तिको आडमा केही प्रभावशाली टाठाबाठाले कब्जा गरेका सीमित संख्याका सहकारीसँग सम्बन्धित छन्।

Tata
GBIME
Nepal Life

नेपालमा दर्ता भएका करिब ३२ हजार सहकारीमध्ये झन्डै पाँच सयजति मात्र समस्याग्रस्त रहेको अनुमान छ, जसले सम्पूर्ण सहकारी क्षेत्रको प्रतिनिधित्व गर्दैनन्। वास्तवमा, सहकारीलाई सहकारीकै मूल्य, सिद्धान्त र उद्देश्यअनुसार सञ्चालन गर्ने संस्थाहरू आज पनि जिम्मेवारीपूर्वक, पारदर्शी ढंगले र निरन्तर रूपमा क्रियाशील छन्। यस्ता सहकारी सदस्य र समुदाय केन्द्रित छन्।

तिनीहरू व्यक्तिगत स्वार्थबाट होइन, सदस्यहरूको सामूहिक हितबाट प्रेरित छन्। सहकारीको स्वामित्व सदस्यहरूमै सामूहिक रूपमा निहित हुन्छ, शासन व्यवस्था प्रजातान्त्रिक हुन्छ र सदस्यहरू जोखिम तथा प्रतिफल दुवैका समान भागीदार हुन्छन्।

यसरी आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा पूरा गर्न स्वेच्छाले एकताबद्ध भएका व्यक्तिहरूद्वारा सञ्चालित सहकारीहरूले सदस्य र समुदाय दुवैको कल्याण प्रवर्धन गर्न सफलता हासिल गरेका छन्। यस्ता सहकारीमध्ये एउटा प्रेरणादायी उदाहरण हो – चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

काठमाडौं जिल्लाको चन्द्रागिरि डाँडाको काखमा रहेको महादेवस्थानमा २०५७ पुस २२ गते २५ जना सचेत नागरिक एकत्रित भएर गरिबीसँग लड्ने, आत्मनिर्भर बन्ने र आपसी सहयोगको संस्कार विकास गर्ने साझा संकल्पका साथ चन्द्रागिरि ग्रामीण विकास सहकारी संस्था लिमिटेड स्थापना गरिएको थियो। २०५८ वैशाख ६ गते साबिक डिभिजन सहकारी कार्यालय काठमाडौँमा दर्ता भएको सहकारीले एक सातापछि औपचारिक कारोबार सुरु गरेको हो।

२०६१ मंसिर ४ गते संस्थाको नाम परिवर्तन भई चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड कायम भयो। हाल यो बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी महाशाखा, हेटौंडामा प्रदेशस्तरीय सहकारीका रूपमा दर्ता भई सञ्चालनमा छ।

पहिलो चौथाइ शताब्दीको यात्रा : समर्पण, समुदाय र निरन्तरता

चन्द्रागिरि सहकारीको करिब २५ वर्षे यात्रा अनुकरणीय छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार स्थापनाकालमा २५ जना सदस्यले प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले जम्मा २५ हजार रुपैयाँ संकलन गरी सहकारीको जग हालेका थिए। सहकारीका एक अभियन्ताले आफ्नै घरको एउटा कोठा पर्दाले दुई भागमा विभाजन गरी आधा भाग निःशुल्क उपलब्ध गराएको स्थानबाट यसको औपचारिक यात्रा सुरु भएको थियो।

संस्थापकहरूको दृढ संकल्प, सदस्यहरूको विश्वास र सहकार्यको संस्कारका कारण सहकारीको यात्रा निरन्तर अगाडि बढ्दै गयो। आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा सदस्य संख्या २२,४०४ पुगेको छ। यससँगै सहकारीका गतिविधिहरू पनि क्रमशः विस्तार हुँदै गएका छन्। गत मंसिरमा सम्पन्न २४औं साधारणसभामा प्रस्तुत प्रगति विवरण र भावी योजनाले संस्थाको उज्ज्वल भविष्यप्रति थप आशा र उत्साह जगाएको छ।

चन्द्रागिरि सहकारीले हाल १५ प्रकारका बचत योजना, १९ प्रकारका ऋण सेवा, ७ प्रकारका सामाजिक सुरक्षा प्याकेज, मोबाइल बैंकिङ, एटीएम तथा डिजिटल सेवा, बीमा र रेमिट्यान्सजस्ता सेवा प्रदान गर्दै आएको छ। यस कारण यो संस्था केवल बचत र ऋणमा सीमित नभई सदस्यको जीवन यात्राको साथीका रूपमा स्थापित भएको छ।

‘दिगो सहकारी, सुखी र समृद्ध सदस्य’ भन्ने परिकल्पनाबाट निर्देशित यस संस्थाले व्यक्तिगत लाभभन्दा नैतिक अभ्यासलाई प्राथमिकता दिएको छ। अनुशासित बचत, जिम्मेवार लगानी र विभिन्न कोषहरूको स्थापनामार्फत दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न निरन्तर प्रयास भइरहेको छ। जगेडा कोष, सहकारी शिक्षा विकास कोष, लाभांश, कर्मचारी बोनस, घाटापूर्ति, सामुदायिक विकास तथा संरक्षित पुँजी फिर्ता कोषजस्ता जोखिम व्यवस्थापन संयन्त्रको स्थापना यसको उदाहरण हो।

यसको परिणामस्वरूप २०७२ को विनाशकारी भूकम्प र कोभिड-१९ महामारीजस्ता गम्भीर संकटका समयमा पनि संस्थाको वित्तीय अवस्था स्थिर रह्यो र भाखा नाघेको ऋण ३ प्रतिशतभन्दा कम सीमामा कायम रहन सफल भयो।

समावेशी नीति र सहकारी शिक्षा

चन्द्रागिरि सहकारीको विशेषता केहीलाई बढी लाभांश दिनेभन्दा धेरैलाई पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने नीति हो। सदस्यको सेयर स्वामित्वमा सीमा तोक्दै साना लगानीकर्ता तथा बैंकिङ पहुँचबाट वञ्चित सदस्यलाई प्राथमिकता दिइएको छ। यद्यपि, नियमन अनुसार एक सदस्यलाई उच्च रकमसम्म ऋण दिन सकिने व्यवस्था भए पनि, संस्थाले स–साना उद्यम, धितो राख्न नसक्ने र कागजात जुटाउन कठिनाइ भएका सदस्यलाई प्राथमिकता दिएको छ।

सहकारी शिक्षाको महत्वलाई आत्मसात गर्दै संस्थाले नियमित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै कर्मचारीका लागि प्रतिकर्मचारी ४० तालिम घण्टाको व्यवस्था गरेको छ। सूचनामूलक वेबसाइटमार्फत सरोकारवालालाई गतिविधिबारे जानकारी दिइँदै आएको छ।

चन्द्रागिरि सहकारीले सहकारी–सहकारीबीचको सहयोग र समुदायप्रतिको चासोसम्बन्धी सिद्धान्तलाई व्यवहारमा उतारेको छ। यसले विभिन्न सहकारी संस्थाको व्यवस्थापनमा सहयोग तथा एकीकरण गरेको छ। साथै सदस्यहरूका लागि काजकिरिया, स्वास्थ्य उपचार, घातक रोग उपचार, दुर्घटना क्षति, सुरक्षित मातृत्व, एम्बुलेन्स र शववाहनजस्ता सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ।

कोभिड–१९ महामारीका बेला ब्याज छुट, बीमा सहभागिता र आपतकालीन सहयोग प्रदान गर्नुका साथै रक्तदान, स्थानीय विकास सहयोग र छात्रवृत्ति कार्यक्रममार्फत समुदायप्रतिको दायित्व निर्वाह गर्दै आएको छ। वि.सं. २०८१/८२ मा मात्र आर्थिक रूपमा विपन्न ५४ जना विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको थियो।

चन्द्रागिरि सहकारीको सफलता वि.सं. २०८१/८२ मा ३६ करोड ३२ लाख आम्दानी, ३२ करोड ३१ लाख खर्च र ४ करोड १ लाख खुद नाफा आर्जन गर्दै ४० लाख रुपैयाँ आयकर तिरेको तथ्यले पुष्टि गर्दछ। आज यो संस्था आफ्नै पाँचतले सुविधासम्पन्न भवनबाट ५३ जना कर्मचारीसहित सञ्चालनमा छ।

चन्द्रागिरिजस्ता समुदायमा आधारित, सदस्य–केन्द्रित सहकारीहरूले देशभर साझा आर्थिक, सामाजिक र सांस्कृतिक आकांक्षा पूरा गर्दै राष्ट्रिय विकासमा योगदान पुर्‍याइरहेका छन्। यस्ता संस्थाको पहिचान, संरक्षण र प्रोत्साहन अपरिहार्य छ। सहकारी क्षेत्रलाई विवादको केन्द्र होइन, आशा, दृढता र साझा समृद्धिको प्रतीक बनाउनु आजको आवश्यकता हो।