मार्शल आर्ट सिनेमाका युगपुरुषको अवसान, ‘कुङ फु हसल’का निर्वासित मास्टर स्मरणीय पात्र



बिजमाण्डू
२०८२ माघ ७ गते १३:३८ | Jan 21, 2026
मार्शल आर्ट सिनेमाका युगपुरुषको अवसान, ‘कुङ फु हसल’का निर्वासित मास्टर स्मरणीय पात्र


कालो कैदी पोसाक, शान्त अनुहार र अप्रत्याशित हिंस्रक कुंगफु। सन् २००४ मा प्रदर्शनमा आएको फिल्म ‘कुङ फु हसल’मा ‘निर्वासित कुंगफु मास्टर द बिस्ट’ को चरित्रले दर्शकलाई स्तब्ध बनायो। यही चरित्रमार्फत विश्वभर नयाँ पुस्ताले चिनिएका कलाकार हुन् – लेउङ सियु-लुङ। जसलाई फिल्म जगतमा ब्रुस लिउङ नामले बढी चिन्छ।

Tata
GBIME
Nepal Life

हङकङका मार्शल आर्ट अभिनेता लेउङ सियु–लुङको गत बुधबार भएको निधनले एसियाली कुंगफु सिनेमाले एउटा प्रभावशाली अध्याय गुमाएको छ। लेउङ बाल्यकालदेखि नै कुंगफु, कराते र तेक्वान्दोमा रुचि राख्थे। ब्रुस लीको उदयले उनलाई अझ प्रेरित गर्‍यो। यही कारण उनले फिल्म करियरमा प्रवेश गर्दा ‘ब्रुस लिउङ’ नाम अपनाए, जसले उनलाई ब्रुस लीपछिको पुस्तामा चर्चित बनायो।

१९७० र ८० को दशकमा उनले थुप्रै मार्शल आर्ट फिल्ममा मुख्य भूमिका निभाए। ती फिल्महरू शुद्ध कुंगफु, अनुशासन र शारीरिक क्षमतामा केन्द्रित हुन्थे। उनी अभिनय मात्र होइन, मार्शल आर्ट दर्शनका पनि पक्षधर थिए। पर्दामा देखिने कठोरता बाहिर उनी शान्त, अनुशासित र आत्मसंयमी व्यक्तित्वका रूपमा परिचित थिए।

तर लामो समय ओझेलमा परेका लेउङ सियु–लुङलाई पुनः विश्वचर्चामा ल्यायो ‘कुङ फु हसल’ले। निर्देशक स्टेफन चाउले ‘द बिस्ट’ को भूमिकाका लागि पहिलो रोजाइका रूपमा उनलाई नै सम्झिएका थिए। रोचक प्रसंग के छ भने, लेउङले सुरुमा यो भूमिका अस्वीकार गरेका थिए। तर चरित्रको गहिराइ, कुंगफु दर्शन र कथाको व्यङ्ग्यात्मक शैलीले उनलाई मन बदल्न बाध्य बनायो।

निर्देशक चाउ जसरी पनि उनलाई लिन चाहन्थे तर लेउङ मानेनन्। चाउले उनलाई पटक–पटक फोन गरेर भूमिका स्वीकार गर्न सहमत गराए। अन्ततः लिउङले सहमति जनाए, तर सेटमा पहिलो दिन उनले वास्तविक लडाइको अभ्यास देखाएर सहकर्मी कलाकारलाई छक्क पारे। खासगरी हतियाररहित दृश्यमा उनका प्रहारको गति यति तीव्र थियो कि क्यामराम्यानहरुले पटक–पटक रेकर्ड रोक्नुपरेको थियो।

फिल्ममा उनको संवाद कम थियो, तर हरेक हाउभाउ, हरेक प्रहार बोल्थ्यो। ‘द बिस्ट’ को मौनता र विस्फोटक शक्ति दर्शकका लागि अविस्मरणीय बन्यो। यही भूमिकाले उनलाई केवल मार्शल आर्ट अभिनेता मात्र होइन, प्रतिष्ठित कलाकारको रूपमा पुनः स्थापित गर्‍यो।

लिउङले सिनेमा क्षेत्रमा १६ वर्षको विरामपछि ‘कुङ फु हसल’ मार्फत स्क्रीनमा पुनरागमन गरेका थिए। लिउङले आफ्नो महान काइरोग्राफी र ‘टोड स्टाइल’लाई जीवित तुल्याए, जसले फिल्मलाई एउटा अन्तर्राष्ट्रिय हिट बनायो।

१९७० दशकमा बनेको ‘द ड्यागन लाइभ्स अगेन’मा लिउङ ब्रुस लीको आत्माको भूमिकामा देखिएका थिए, जहाँ वन्डरवर्ल्डमा ब्रुस लीले अन्य प्रसिद्ध फिल्म ‘ड्रयाकुला,’ ‘जेम्स बण्ड ००७’ र ‘द गडफादर’का पात्रसँग भेटघाट गर्छन्।

लेउङ सियु–लुङको निधनले कुंगफु सिनेमाको एउटा युगलाई बिदाइ दिएको छ। तर उनका फिल्म, उनका प्रहार र ‘द बिस्ट’ को छाया सधैं दर्शकको स्मृतिमा जीवित रहनेछ। मार्शल आर्ट केवल लडाइ होइन, जीवन दर्शन हो भन्ने सन्देश उनले आफ्नो काममार्फत छोडेर गएका छन्।