खेतदेखि भान्सासम्म विषादीको यात्रा : कसरी जोगिने, के छन् स्वस्थ रहने सतर्कता सूत्र?



ईश्वर सुवेदी
२०८२ माघ ११ गते ०६:४८ | Jan 25, 2026
खेतदेखि भान्सासम्म विषादीको यात्रा : कसरी जोगिने, के छन् स्वस्थ रहने सतर्कता सूत्र?


काठमाडौंको कालिमाटी तरकारी बजारमा राति ११ देखि बिहान ३ बजेसम्म चलेको एक अनुगमनले धेरै उपभोक्ताको ध्यान खिच्यो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मोबाइल फुड ल्याब भ्यानमार्फत संकलित तरकारी र फलफूलका नमूनामा गरिएको परीक्षणमा केही तरकारीमा कीटनाशक अवशेषको मात्रा स्वीकृत सीमाभन्दा बढी देखियो।

Tata
GBIME

३५ देखि ४५ प्रतिशतसम्म इन्जाइम इन्हिबिशन देखिएका तरकारीहरूलाई ७२ घण्टासम्म बिक्री–वितरणमा रोक लगाइयो भने ४५ प्रतिशतभन्दा माथि रहेका नमूनाहरू तत्काल नष्ट गरिए। यो घटना केवल बजार अनुगमनको समाचार मात्र थिएन, यसले नेपालमा कीटनाशक प्रयोग र त्यसबाट उत्पन्न सार्वजनिक स्वास्थ्य जोखिमको गम्भीर वास्तविकता उजागर गर्‍यो।

नेपाल कृषिमा आधारित देश हो, जहाँ कृषिले जीविकोपार्जन, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रलाई उभ्याउने टेकोको काम गरेको छ। तरकारी, फलफूल, अन्न तथा नगदे बालीको उत्पादन बढाउन कीटनाशक रसायनको प्रयोग व्यापक रूपमा गरिन्छ।

त्यस्तै, लामखुट्टे, झिँगा, उपियाँ, किर्ना, जुम्रा तथा घरभित्र देखिने साङ्लाको नियन्त्रणका लागि पनि विषादी प्रयोग गरिन्छ। तर यी विषादी विवेकपूर्ण, सुरक्षित र सिफारिसअनुसार प्रयोग नगरिएमा बोटबिरुवा, पशुपन्छी, वातावरण र मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्छ।

असुरक्षित खेती अभ्यास, विशेषगरी तरकारी बाली काट्नुभन्दा केही समयअघि स्प्रे गर्ने बानीका कारण बजारमा उच्च अवशेषयुक्त उत्पादन पुग्ने गरेको छ।

नेपाललगायत धेरै विकासोन्मुख देशहरूमा रोग, किरा, झारपात र मुसाले बर्सेनि ३० देखि ४० प्रतिशतसम्म खाद्यवस्तु नोक्सान गर्ने अनुमान छ। यही क्षतिबाट जोगिन र बढ्दो जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन कीटनाशकले सहयोग पुर्‍याएको तथ्य अस्वीकार गर्न सकिँदैन। तर पछिल्ला वर्षहरूमा यसको असुरक्षित र अत्यधिक प्रयोग मानव स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणका लागि ठूलो खतरा बन्दै गएको छ।

नेपालमा कीटनाशकहरू प्रायः पर्याप्त तालिम र सुरक्षात्मक उपकरण बिना, सिफारिस गरिएको मात्राभन्दा बढी प्रयोग हुने गरेका छन्। धेरैजसो अवस्थामा बाली काट्ने समय नजिकै विषादी छर्किने, प्रतीक्षा अवधि नमान्ने र बाँकी रसायनहरू घरमै असुरक्षित रूपमा भण्डारण गर्ने प्रवृत्ति देखिन्छ। यसले किसान, उपभोक्ता तथा विशेषगरी बालबालिकालाई जोखिममा पारिरहेको छ।

दीर्घकालीन रूपमा कीटनाशक अवशेषको सम्पर्कमा रहँदा क्यान्सर, हार्मोनल विकार, स्नायु प्रणालीमा क्षति, प्रजनन समस्या, न्युरोटोक्सिसिटी, कलेजो र मिर्गौला क्षति तथा कमजोर प्रतिरक्षा प्रणालीजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन्। दूषित खाद्यको निरन्तर उपभोगले गर्भवती महिला र भ्रुणलाई समेत असर पुर्‍याउने जोखिम रहन्छ।

यस सन्दर्भमा किसानहरू सबैभन्दा बढी प्रभावित समूह मानिन्छन्, किनकि उनीहरू प्रत्यक्ष रूपमा विषादी प्रयोग गर्ने र दूषित पानी तथा वातावरणसँग जोडिएका हुन्छन्। नेपालमा अर्गानोक्लोरिन (जस्तै बीएचसी, डायलड्रिन), अर्गानोफोस्फेट (इथिल तथा मिथाइल प्याराथियन), कार्बामेट र सिंथेटिक पाइरेथ्रोइडजस्ता रसायनहरूको प्रयोग अझै व्यापक छ। असुरक्षित खेती अभ्यास, विशेषगरी तरकारी बाली काट्नुभन्दा केही समयअघि स्प्रे गर्ने बानीका कारण बजारमा उच्च अवशेषयुक्त उत्पादन पुग्ने गरेको छ।

नेशनल कोडेक्स पोइन्टको हैसियतमा विभागले कोडेक्स एलिमेन्टेरियसका अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानी विभिन्न तरकारी, फलफूल तथा वनस्पतिजन्य उपजहरूमा अधिकतम कीटनाशक अवशेषको सीमा निर्धारण गरेको छ।

चितवनको कालिकानगर पदमपुरमा केराका बोटमा सूक्ष्म पोषणतत्व (भिटामिन) छर्दै किसान । फाइल तस्बिर : रासस

यद्यपि, नीति, योजना र कानुनी संरचनाको दृष्टिले नेपाल सरकारले महत्त्वपूर्ण कदमहरू चालेको छ। कीटनाशक व्यवस्थापन ऐन २०७६ र नियमावली २०८१ मार्फत आयात, उत्पादन, ढुवानी, भण्डारण, बिक्री र प्रयोगलाई दर्ता तथा इजाजत प्रणालीमा ल्याइएको छ। अत्यधिक खतरनाक कीटनाशकहरू प्रतिबन्ध गरिएको छ र एकीकृत कीट व्यवस्थापन (आइपीएम) को प्रवर्द्धन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला सुदृढीकरण, घुम्ती खाद्य प्रयोगशाला भ्यानमार्फत अनुगमन तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

खाद्य शृंखलाको प्रत्येक चरणमा स्वच्छता र गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय खाद्य मापदण्डको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। नेशनल कोडेक्स पोइन्टको हैसियतमा विभागले कोडेक्स एलिमेन्टेरियसका अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानी विभिन्न तरकारी, फलफूल तथा वनस्पतिजन्य उपजहरूमा अधिकतम कीटनाशक अवशेषको सीमा निर्धारण गरेको छ।

सागपात, जरा तथा कन्दमूल, जलीय साग, लहरे तरकारी, फल तरकारी, कोशे तरकारी, अमिलो फलफूल, बेरी वर्ग, बोक्रा फालेर खाने फल, पोम जातिका फल तथा चिया–हर्बजस्ता प्रशोधित उपजहरूलाई अलग–अलग समूहमा वर्गीकरण गरी मापदण्ड तोकिएको छ। यी मापदण्ड ०.०१ मिलिग्राम प्रति केजीदेखि ७५ मिलिग्राम प्रति केजीसम्म फरक–फरक छन्।

तर यी सबै प्रयासका बाबजुद सीमित जनशक्ति, कमजोर कार्यान्वयन र कम जनचेतना अझै पनि प्रमुख चुनौती बनेका छन्। विषादीको अनियन्त्रित प्रयोगले माटो, पानी र हावा प्रदूषित हुँदै माटोको उर्वरता घट्ने, जैविक विविधता नष्ट हुने र मौरीजस्ता लाभदायक कीराहरू मर्ने जोखिम बढाएको छ। यसरी विषादी केवल कृषि समस्या नभई राष्ट्रिय जनस्वास्थ्य र वातावरणीय सरोकारको गम्भीर विषय बनेको छ।

उपभोक्ताहरूले पनि तरकारी र फलफूल राम्ररी धुने, बोक्रा फाल्ने, ८०–९० डिग्रीको तातो पानीमा नुन मिसाएर ब्ल्यान्च गर्ने, मौसमी र स्थानीय उत्पादन प्राथमिकता दिने अभ्यास अपनाउनुपर्छ।

सुनसरीको इनरुवा-९ मा धानमा लागेको फड्के किरा मार्न विषादी छर्दै किसान । फाइल तस्बिर : रासस

चितवनमा गरिएको महामारी विज्ञान अध्ययनले प्रति एक लाख जनसंख्यामा ६२.७ विषाक्तताका घटना र ३.८ प्रतिशत मृत्युदर देखाएको छ, जसमा अर्गानोफोस्फेट यौगिकहरूको हिस्सा ५७.७ प्रतिशत छ। नेपाल प्रहरीको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार विष सेवन आत्महत्याको प्रमुख कारणमध्ये एक बनेको छ। प्रतिबन्धित अर्गानोक्लोरिन कीटनाशकहरू अझै पनि करिब ९.५ प्रतिशत मृत्युको कारक रहेको देखिनु कार्यान्वयन कमजोरीको स्पष्ट संकेत हो।

यस अवस्थामा आत्म–सुरक्षा नै पहिलो र प्रभावकारी रक्षा हो। किसानहरूले आवश्यकता पर्दा मात्र लेबल निर्देशनअनुसार विषादी प्रयोग गर्ने, सुरक्षात्मक सामग्री प्रयोग गर्ने, प्रतीक्षा अवधि पालना गर्ने र आइपीएम तथा जैविक नियन्त्रण विधि अपनाउने हो भने जोखिम धेरै हदसम्म घट्न सक्छ। उपभोक्ताहरूले पनि तरकारी र फलफूल राम्ररी धुने, बोक्रा फाल्ने, ८०–९० डिग्रीको तातो पानीमा नुन मिसाएर ब्ल्यान्च गर्ने, मौसमी र स्थानीय उत्पादन प्राथमिकता दिने अभ्यास अपनाउनुपर्छ। घरभित्र विषादी भण्डारण नगर्ने र बालबालिकालाई रासायनिक जोखिमबारे शिक्षा दिनु समुदायको साझा जिम्मेवारी हो।

नीति र कानुन सरकारले बनाउँछ, तर वास्तविक सुरक्षा सचेत किसान, जिम्मेवार उपभोक्ता र जागरूक समुदायबाट मात्र सम्भव हुन्छ।

दाङको घोराही-१६ तेरौटेस्थित कृषि फर्ममा बिक्रीका लागि गोलभेंडा संकलन गर्दै श्रमिकहरू। फाइल तस्बिर : रासस

उपयुक्त मात्रामा र सही तरिकाले प्रयोग गरिएका कीटनाशक आफैंमा खराब होइनन्, तर दुरुपयोगले स्वास्थ्य र वातावरणलाई गम्भीर क्षति पुर्‍याउँछ। नेपाल जस्तो कृषिमा आधारित देशमा खाद्य सुरक्षा खेतबाट सुरु भई भान्सामा समाप्त हुन्छ।

नीति र कानुन सरकारले बनाउँछ, तर वास्तविक सुरक्षा सचेत किसान, जिम्मेवार उपभोक्ता र जागरूक समुदायबाट मात्र सम्भव हुन्छ। रासायनिक जोखिमबाट स्वास्थ्य जोगाउनु सरकारी दायित्व मात्र होइन, यो हाम्रो साझा दायित्व हो।