काठमाडौं। सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखामा लुट्ने योजना ३ महिनाअघिदेखि नै बनेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेका आरोपीको बयानको आधारमा गत असोजबाट नै बैंक लुट्ने योजना बनेको खुलेको हो।
त्यस्तै, बैंक लुट्नुभन्दा ५ दिनअघि लुट्ने प्रयास भए पनि असफल भएको देखिएको छ। पुस २३ गते बैंक लुट्नका लागि नै काठमाडौंबाट दुई वटा मोटरसाइकल रिजर्भ गरी हाल पक्राउ परेका ४ जना त्यहाँ पुगेको अनुसन्धानमा देखिएको छ।

त्यो योजना विफल भएपछि उनीहरूले २९ गते साँझ बैंक लुटेका थिए। उनीहरू २८ गते नै कोटेश्वरमा जम्मा भएर लुटको योजना बनाए पनि ढिला भएका कारण २९ गते सिन्धुली पुगेर बैंक लुटेका थिए।
सिन्धुली पुग्नुअघि उनीहरू कोटेश्वरबाट सार्वजनिक सवारी प्रयोग गरी बनेपा पुगेका थिए। त्यसपछि बीएडी ०३९८ नम्बरको जीपका चालक भवतसिंह थापाको सवारी लिएर ध्याङखेल पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
‘केही समयदेखि नै लुट्ने योजना बनाएको देखियो। अहिलेसम्म ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ एसपी सुवेदीले भने।
प्रहरीले लुटपाट भएको केही घण्टामा नै चालक थापालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले सिन्धुलीको ध्याङखेलका चतुरमान बज्यु, छविलाल स्याङताङ, चितवनको भरतपुरका शंशाक श्रेष्ठ, नुवाकोटका मिलन गिरी र विवेक मगरलाई नियन्त्रणमा लिएको छ।
एक जना नाबालक पनि पक्राउ परेका छन्। छविलाल स्याङताङ भने बैंक रहेको घरका घरधनी हुन्। उनले नै लुटपाटमा प्रयोग भएको हतियार र आवश्यक सूचना दिएको खुलेको छ। उनीहरूले प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर शाखा प्रमुखलाई भल्टको ताल्चा खोल्न लगाएर ३ करोड ७ लाख रुपैयाँ लुटेका थिए।
बैंक रहेकै घरको माथिल्लो तलामा चार जना बैंकका कर्मचारीहरु आवासीय रुपमा बस्ने गरेका थिए। लुटपाट गर्न आउँदा तीनजना कर्मचारी भने खाना खानको लागि होटलतिर गएको खुलेको प्रहरीले जनाएको छ।
चारवटा खुकुरी र दुईवटा पेस्तोल बोकेर आएको लुटेरा समूहले पहिला बैंकका सुरक्षा गार्डलाई कुटपिट गर्दै नियन्त्रणमा लिएका थिए। त्यसपछि खाना खाएर फर्किएका कर्मचारीलाई समेत उनीहरुले नियन्त्रणमा लिएर साँचो खोसेका थिए।

प्रहरीले लुटिएको रकममध्ये विभिन्न ठाउँबाट २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध सिन्धुली जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।











