थारू र मगर समुदायले काठमाडौंमा यसरी मनाए माघेसंक्रान्ति (तस्बिरहरू)



सुशील श्रेष्ठ
२०८२ माघ १ गते १५:२५ | Jan 15, 2026
थारू र मगर समुदायले काठमाडौंमा यसरी मनाए माघेसंक्रान्ति (तस्बिरहरू)

काठमाडौं। थारू र मगर समुदायले बिहीबार काठमाडौंका विभिन्न स्थानमा माघेसंक्रान्ति मनाएका छन्।

Tata
GBIME
Nepal Life

विभिन्न स्थानबाट निकालिएका र्‍याली टुँडिखेल पुगेको थियो। टुँडिखेलमा आयोजित कार्यक्रममा थारु समुदायका स्थानीय परिकारहरू भक्का, घोँगी, बंगुरको मासु लगायतका परिकार राखिएका थिए।

वसन्तपुर परिसरमा थारु समुदायका युवाले साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघीका कारण यतिबेला गाउँका साथै सहर बजार पनि रमाइलो बनेको छ।

माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउँछन्। माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने र भोलिपल्ट बिहानै पवित्र नदी वा खोलामा गएर स्नान गर्ने परम्परा छ। नुहाएर फर्किएपछि घरका मान्यजनलाई ढोग गर्ने र ‘खिचडी’ दान गर्ने विशेष चलन पनि छ।

मगर समुदायले पनि माघेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्छन्। यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।

मगर समुदायले भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन छ। चेलीबेटीहरू तरुल, सेलरोटी र फलफूल लिएर माघेसङ्क्रान्तिमा माइतीघर जान्छन्।