काठमाडौं। प्रदर्शनमा आउन आह्वान गर्दै हजारौंलाई मोबाइलमा एसएमएस पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनका निर्देश सेढाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनले निषेधित गरेको क्षेत्रमा प्रर्दशन गर्न आह्वान गरेको र संविधानले रोकेको विषयमा प्रर्दशन गर्न उक्साएको आधारमा पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए। ‘उहाँको माग संविधानविपरीत छ। त्यस्तै निषेधित क्षेत्रमा प्रदर्शन गर्न बोलाइएको छ,’ उनले भने।
प्रहरीले सेढाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा नियन्त्रणमा लिएको जनाएको हो। उनले एक करोड रुपैयाँ खर्चिएर धेरैलाई म्यासेज पठाएको देखिएको छ। नेपाल टेलिकमको गेट वे प्रयोग गरेर म्यासेज पठाउनको लागि दुईवटा कम्पनीसँग सम्झौता समेत गरेको देखिएको छ। जसमा पछिल्लो समय एटी अलर्टबाट म्यासेज आएको छ।
यसअघि भदौ २३ गतेको घटना अघि पनि यस्तै म्यासेज केही मोबाइल प्रयोगकर्तालाई आएको थियो। त्यतिखेर मालिका अलर्टबाट आएको हो। नेपाल टेलिकमले कम्पनीलाई एकैपटक धेरै म्यासेज पठाउने सुविधा दिएको छ। टेलिकमकै सर्भर प्रयोग भएर कसैले शान्ति सुरक्षामा नै खलल पुग्ने म्यासेज कसरी पठाउन सक्छ?
‘यसमा टेलिकमको पनि कमजोरी हुनुपर्छ। आफ्नो सर्भरबाट म्यासेज जाँदा थाहा छैन भन्न मिल्दैन होला। यसमा पनि हामी बुझ्दैछौं,’ एक प्रहरी अधिकृतले भने।
सेढाईं भने व्यापारी भएको खुलेको छ। उनको चितवनमा पेट्रोल पम्प , नयाँ तथा पुराना गाडीको किन्न बेच लगायतको व्यापार रहेको देखिएको छ।










