काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु



बिजमाण्डू
२०८२ पुष २९ गते ०८:२६ | Jan 13, 2026
काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले नेपालमै पहिलोपटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुभारम्भ गरेको छ। विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागद्वारा आयोजित समाहरोहमा कार्यक्रमबारे जानकारी दिइएको हो।

Tata
GBIME
Nepal Life

यफ ६६ क्रेडिटको दुई वर्षे स्नातकोत्तर कार्यक्रम हो। ललितपुरको हात्तीस्थित स्कुल अफ आर्टसमा यो कार्यक्रमको कक्षा संचालन हुनेछ।

यो कार्यक्रमले नेपाली उच्च शिक्षामा सिनेमा विषयलाई शैक्षिक रुपमा औपचारिक संस्थागत गर्ने विश्वास विश्वविद्यालयको छ। कार्यक्रमको उद्देश्य चलचित्र अध्ययन, सिर्जना र प्रविधिमा आलोचनात्मक, सृजनात्मक तथा प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्नु रहेको जनाइएको छ।

कार्यक्रम शुभारम्भ समारोहमा नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चर्चित चलचित्रकर्मी यादव खरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी, चलचित्र निर्देशक टिन दिर्दामल, चलचित्र निर्देशक समाज नेपालका अध्यक्ष जनक दीप पराजुली, चलचित्र समालोचक समाज नेपालका अध्यक्ष समिप्य तिमिल्सिना, वृत्तचित्र चलचित्रकर्मी तथा ‘वुमन इन फिल्म नेपाल’ की सहसंस्थापक प्रस्ना डंगोल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै भाषा तथा आमसञ्चार विभाग प्रमुख प्राध्यापक डा निर्मलामणि अधिकारीले मास्टर इन फिल्म स्टडिज कार्यक्रमको शुभारम्भ काठमाडौं विश्वविद्यालयका लागि सिनेमा तथा सृजनात्मक शिक्षामा नयाँ कदम भएको बताए। उनले सिर्जनात्मक क्षेत्रको महत्वलाई आत्मसात् गर्दै कला संकायको स्थापना गरिएको उल्लेख गरे।

त्यस्तै, प्रमुख अतिथि यादव खरेलले काठमाडौं विश्वविद्यालयलाई मास्टर इन फिल्म स्टडिज कार्यक्रम सुरु गरेकोमा बधाई दिँदै यसलाई ऐतिहासिक र अग्रणी पहलको संज्ञा दिए। नेपालमा यसअघि सिनेमा विषयलाई स्नातकोत्तर तहमा औपचारिक रूपमा अध्यापन नगराइएको उल्लेख गर्दै उनले केयूले साहसिक र दूरदर्शी कदम चालेको बताए। सिनेमा बहुआयामिक विधा भएको उल्लेख गर्दै उनले क्यामेरा, प्रकाश, प्रविधि, कृत्रिम बौद्धिकता, विज्ञान, संस्कृति र नवप्रवर्तनसँग यसको गहिरो सम्बन्ध रहेको बताए।

दिनेश डी.सीले पनि कार्यक्रम शुभारम्भप्रति बधाई दिँदै नेपाली चलचित्र उद्योगलाई सुदृढ बनाउन आधुनिक स्टुडियो, उच्च प्रविधियुक्त पूर्वाधार तथा रियल–टाइम बक्स अफिस प्रणालीको आवश्यकता औंल्याए। औपचारिक शिक्षाबाट प्रशिक्षित चलचित्रकर्मीहरूले निर्माण गर्ने चलचित्र अन्तर्राष्ट्रिय स्तरका हुने र नेपाली सिनेमालाई विश्व बजारमा स्थापित गर्न सहयोग पुग्ने उनको धारणा थियो।

एमएफएस कार्यक्रमको पाठ्यक्रममा चलचित्र निर्माण, कथानक डिजाइन तथा पटकथा लेखन, चलचित्रको स्वरूप र आख्यान, नाट्यशास्त्र, कृत्रिम बौद्धिकता र सिनेमा, तथा अनुसन्धान पद्धति समेटिएको छ। यस कार्यक्रमले फिक्सन र नन–फिक्सन दुवै विधाका चलचित्रलाई समेट्दै उद्योगसँग सहकार्य र व्यवहारिक सिकाइमा विशेष जोड दिएको विभागले जनाएको छ।

कार्यक्रममा सहभागी भएर पढ्न चाहनेहरुका लागि भर्ना पनि खुला गरिएको छ।