काठमाडौं। गत वर्ष पुसमा काउलीको मूल्य प्रति केजी १२ देखि १५ रुपैयाँ थियो। स्थानीय काउली १५ रुपैयाँ, तराईको काउली १२ रुपैयाँ र स्थानीय ज्यापु काउलीको मूल्य २५ रुपैयाँ थियो।
यस वर्ष सोही अवधिमा काउलीको मूल्य प्रति केजी ५८९ प्रतिशतसम्म बढेको छ। अहिले स्थानीय काउली ९२ रुपैयाँ पुगेको छ। तराई काउली ८५ रुपैयाँमा बिक्दै छ। स्थानीय ज्यापु काउलीको भाउ १०५ रुपैयाँ पुगेको छ।
हरेक वर्ष पुस लागेपछि सिजनका हरिया तरकारी सस्ता हुने गर्थे। देशभर उत्पादन भएर एकैपटक बजारमा आउँदा किसानले लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्थ्यो। महँगो मानिने काउलीसमेत प्रति केजी ५ रुपैयाँमा बेच्न मुस्किल पर्ने अवस्था थियो।
हरेक वर्ष काउलीले राम्रो भाउ नपाएपछि यस वर्ष किसानले उत्पादन घटाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। उनका अनुसार अहिले सिजन भए पनि अघिल्लो वर्ष भाउ धेरै घटेकाले किसानले काउली कम लगाएका हुन्।
गत कात्तिकमा काउली रोप्ने समयमा पानी परेर बिरुवामा क्षति पुगेको थियो। बाढीको असरले रोपाइँ ढिला हुँदा अहिले बजारमा भाउ महँगिएको उनले बताए।

तरकारी व्यवसायी भगवानचन्द्र ओलीले गत पुसमा किसानले काउली प्रति केजी ७ देखि ८ रुपैयाँमै बिक्री गर्न नसकेपछि यस वर्ष खेती घटाएको बताए। काउली रोप्ने बेला पानी परेर धेरै बिरुवा नष्ट भएपछि समयमा उत्पादन बजारमा आउन सकेन।
उनका अनुसार अहिले भाउ सस्तो हुने समय भएपनि भारतबाट आयात नभएको भए थोक बजारमै काउलीको मूल्य प्रतिकेजी १५० रुपैयाँभन्दा माथि पुग्ने थियो। आयातित काउलीका कारण भाउ अत्यधिक बढ्न भने सकेको छैन। स्वदेशी उत्पादनले मात्रै बजारको माग धान्न सकेको छैन।
हाल थोक बजारमा काउलीको मूल्य ९० देखि १०० रुपैयाँ छ। तराईमा उत्पादन भएको काउली उतै पनि महँगो छ। तराईमै प्रति केजी ७० देखि ८० रुपैयाँ पर्छ। अन्य जिल्लामा उत्पादन भएको काउली पनि त्यहीँ महँगो भइरहेको छ। यद्यपि, अब भाउ धेरै नबढ्ने अनुमान गरिएको छ।
माघे सङ्क्रान्तिपछि बजारमा काउलीको आपूर्ति बढ्ने भएकाले मूल्य क्रमशः घट्दै जाने व्यवसायी उप्रेतीले बताए। अहिले माघे सङ्क्रान्तिका कारण किसानले तरुल बढी पठाइरहेका छन्। त्यसपछि कात्तिकको बाढीले ढिला रोपिएको काउली पनि बजारमा आउन थाल्ने उनले जानकारी दिए।

हाल बजारमा दैनिक २० देखि ३० टन काउली आइरहेको छ। आपूर्ति बढे पनि मूल्यमा खासै गिरावट आएको छैन।
कालीमाटी तरकारी बजारमा दैनिक करिब ८ सय टन हरिया र सुकेका तरकारी भित्रिन्छन्। पछिल्लो समय अधिकांश तरकारीको भाउ अघिल्लो वर्षको तुलनामा घट्न सकेको छैन।
कालीमाटी बजारमा पछिल्ला २ सातायता काउलीको आपूर्ति घट्दै गएको छ। अहिले दैनिक ३५ हजारदेखि ३८ हजार केजी काउली भित्रिरहेको छ।
सामान्य अवस्थामा भने दैनिक ५० हजार केजीभन्दा बढी काउली बजारमा आउने गरेको समितिले जनाएको छ।











