काठमाडौं। राजु छन्त्याल अफिसको काम सकेर साँझ साढे ७ बजेतिर आफ्नो डेरा फर्किँदै थिए। उनीसँगै सानीमा पनि थिइन्। तारकेश्वरको मनमैजुनजिकै उनीहरु हिँडिरहँदा सानीमा चाहिँ फोनमा कुरा गर्दै थिइन्।
हातमा करिब साढे ३० हजार बराबरको मोबाइल फोन थियो। केही परबाट नै उनलाई कसैले पिछा गरिरहेको महसुस भएको थियो। तर, दुवैले खासै गम्भीरतापूर्वक लिएका थिएनन्। बोल्दै गरेको मोबाइल फुत्त तानेर जब तीन जना किशोर फरार भए, त्यसपछिमा मात्र उनीहरूलाई ती हुलले पछ्याउनु चोरीको योजनाले रहेछ भन्ने हेक्का भयो।
सानीमा र छन्त्यालले कराउँदा कराउँदै किशोरको समूह साँझको अँध्यारोमा हराए। अब के गर्ने ? तत्काल नै राजु प्रहरी वृत्त बालाजुमा पुगे। प्रहरीलाई मौखिक जानकारी दिए। मोबाइलको प्राविधक जानकारी दिने कागजपत्र तत्काल नभएकाले लिखित उजुरी भोलिपल्ट मात्र दिए।
मोबाइलको आइएमइआई नम्बर, घटनास्थलको प्राप्त सीसी क्यामरा लगायत प्राविधिक पक्षलाई हेरेर प्रहरीले घटना भएको भोलिपल्ट नै एक किशोरलाई पक्राउ गर्यो। तर उनको साथबाट चोरी भएको भनिएको मोबाइल सेट फेला परेन।
+++
२७ वर्षीय निश्चल लामा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा पुग्थे। मोटरसाइकलमा आउने र पछाडिको सिट खाली भएको देखे उनी लिफ्ट माग्ने गर्थे। मोटरसाइकलमा बसेपछि उनको ध्यान चालकको मोबाइलमा हुने गर्थ्यो। चालकको ध्यान खिचेर मोबाइल हात पारेका खण्डमा उपयुक्त ठाउँ देखेर झर्थे।
मोबाइल चोरेपछि त्यसमा भएका विभिन्न डिजिटल वालेट र बैंकिङ एप प्रयोग गरेर विभिन्न तरिकाले पैसा पनि चोर्ने गरेका थिए। उनी प्रहरीको निगरानीमा परे। काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले पक्राउ गर्यो। पक्राउपछि उनले लिफ्ट लिएर मोबाइल चोर्ने र त्यसका डिजिटल वालेटबाट पैसा उडाउने गरेको खुलेको हो।
चोरेका मोबाइल सेट विभिन्न सपिङ साइटमा सेकेन्ड हेन्डमा बिक्रीमा राख्ने गरेका थिए। मोबाइल चोरीमा परेकाहरुलाई लामाबाट ठूलो जोखिम मोबाइल बैंकिङ एपहरूमाथिको थियो।
+++
जिल्ला प्रहरी परिसर काठमाडौंमा दैनिक सयको हाराहारीमा मोबाइल हराएको र चोरी भएको भन्दै उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंबाट मात्र १४ हजार ८ सय वटा मोबाइल हराएका थिए। जसको मूल्य ५० करोड रुपैयाँ भन्दा बढी थियो।
हराएकामध्ये यस वर्ष ४ हजार १ सय ६८ मात्र फेला परेका थिए। चालु आर्थिक वर्षको मंसिर महिनासम्म मात्र ५ हजार ५ सय ५५ वटा मोबाइल हराएको भन्दै प्रहरीमा उजुरी परेको छ। जसमा २ हजार ६ सय ३५ वटा चोरी भएका उजुरी छन्। हराएका १ हजार ९ सय ४३ वटा र पाकेटमारी भएको ९ सय ९७ वटाको उजुरी छ।
हराएका भनेर परेका उजुरीमध्ये १ हजार १ सय १८० वटा मोबाइल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। ‘प्रविधि र सूचनाको आधारमा प्रहरीले हराएका मोबाइल खोजिरहेको छ। तर त्यसको लागि पीडितले पनि आवश्यक जानकारी दिन सक्नुपर्ने हुन्छ,’ एसपी भट्टराईले भने।

अहिलेसम्म चोरी भएका मोबाइलहरू केहीले विभिन्न अनलाइन र अधिकांशले सस्तो मूल्यमा मोबाइल पसलेहरुलाई बिक्री गर्ने गरेको देखिएको छ।
हराएका निवेदन अनुसार भेटिने दर निकै कम रहेको छ। यसरी मोबाइल नभेटिनुमा प्रहरीलेमोबाइल सम्बन्धी निवेदन परेको नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा आइएमइआइ चेक गर्दा रातो कलरमा यो मोबाइल चोरेको/हराएको भनी यस एमडीएमएस प्रणालीमा दर्ता भएको छ, किनबेच नगर्नुहोला पढेपछि चोरीको मोबाइलमा सिम प्रयोग गर्दैन। प्रायःजसो चोरी, पकेटमारी तथा लुटपाट भएको मोबाइल भारत पुर्याउने गरेकोले पनि नभेटिने गरेको प्रहरीको दाबी छ।
बढी महँगो किसिमको मोबाइलमा सिम प्रयोग नगरी फोटो, भिडियो खिच्नमा मात्र प्रयोग गर्ने गरेकाले पनि समस्या हुन गरेको हो। त्यस्तै चोरी भएका मोबाइल प्रयोग नगरी मोबाइलको पार्टपुर्जा खोली खरिद बिक्री गर्ने गर्दा पनि भेटिने सम्भावना कम हुने गर्छ।
मोबाइलमा फेक सिम प्रयोग गरी ओटीपी कोडको लागि मात्र प्रयोग गर्ने गरेको पनि भेटिएको छ ।
मोबाइल हराए वा चोरी भएपछि के गर्ने?
प्रविधिको विकाससँगै मोबाइल मानिसका लागि अभिन्न वस्तु पुगेको छ। मानिसका हरेक कुराहरू अहिले मोबाइलमा नै धेरै भर पर्ने गरेका छन्। मोबाइल गोप्य कागजपत्रदेखि बैंकिङ कारोबार समेत हुने गरेकाले मोबाइल हराउनु वा चोरी हुनु सामान्य भने होइन।
त्यसैल मोवाइल चोरी, हराएको तथा पकेटमारी भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा निवेदन प्रहरीले अनुरोध गरेको छ। मोबाइलमा प्रयोग भएको सिम कार्ड तत्काल बन्द गरी अर्को सेम नम्बरको सिम निकाल्नु पर्ने एसपी भट्टराई बताउँछन् ।
त्यस्तै मोबाइलमा आफ्नो फेसबुक, इ-सेवा, खल्ती, बैंक खाता जस्ता सेवाहरू भए तत्काल बन्द गर्न लगाउने तथा पासवर्ड परिवर्तन गर्नुपर्ने हुन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भएको छ/छैन चेक गरी www.nta.gov.np मा अनलाइन फाराम भर्न सकिन्छ।
अनलाइन फाराम भर्दा दिएको आफ्नो इमेल ठेगानामा नेपाल दूरसञ्चार प्राधिकरणको प्रणालीबाट एउटा पीडीएफ फाइल आएमा प्रिन्ट गरी प्रहरी कार्यालयमा बुझाउने प्रहरीको सुझाव छ।

त्यस्तै मोबाइलमा भएको जीमेल वा आइक्लाउडमार्फत लोकेसन पत्ता लगाई सम्बन्धित ठाउँमा गई खोजतलास गर्ने गरिन्छ। चोरी भएका मोबाइलबाट खिचिएका तस्बिर तथा भिडियो चोरी गरेका व्यक्तिले दुरुपयोग गर्ने सम्भावना बढी देखिएको एसपी भट्टराईले बताए।
‘मोबाइलबाट गलत प्रवृत्तिको व्यक्तिले बैंक खाताबाट रकम अरूको खातामा ट्रान्सफर गरी रकम झिक्ने वा विभिन्न किसिमका सामान खरिद गरी उसकै खाताबाट रकम पसलेलाई दिने सम्भावना बढी हुन्छ,’ उनले भने।
विशेष गरी भिडभाड जस्तै मेलापर्व, मन्दिर दर्शन गर्ने बेलामा, बजारमा सामान किनमेल गर्दाको समयमा चोरी हुने गरेका छन्।
यस्ता घटना अनुसन्धानमा संलग्न प्रहरीहरुका अनुसार हराउने/चोरिने घटनाबाट जोगिन मोबाइलमा अनिवार्य रूपमा स्क्रिन लक, पासकोड वा बायोमेट्रिक सुरक्षा प्रयोग गर्नुपर्छ। भीडभाड, सार्वजनिक सवारी साधन, मेला–पर्व तथा सुनसान स्थानमा मोबाइल प्रयोग गर्दा विशेष सतर्कता अपनाउनु पर्छ।
मोबाइलमा प्रयोग हुने बैंकिङ एप, डिजिटल वालेट तथा सामाजिक सञ्जालमा छुट्टै पासवर्ड र दुई तहको सुरक्षा प्रणाली सक्रिय राख्नुपर्छ। मोबाइल हराए वा चोरी भएमा तत्काल सिम कार्ड बन्द गरी नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुका साथै आइएमइआइ नम्बर सुरक्षित राख्नुपर्छ।










