काठमाडौं। पछिल्लो ३ सातायता बजारमा चाँदीको अभाव देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको माग बढेपछि आयात प्रभावित हुँदा स्थानीय बजारमा अभाव देखिएको हो।
क्रिसमस र नयाँ वर्षपछि आयात सहज हुने अपेक्षा गरिएको थियो। तर, अहिलेसम्म बजारमा चाँदी सहज रूपमा पाउन सकिएको छैन। गत वर्षको तुलनामा आयात बढी देखिए पनि माग अत्यधिक भएकाले अभाव कायमै छ।
आयात कम हुँदा बैंक र व्यवसायीले ल्याएको चाँदी तुरुन्तै बिक्री हुने गरेको छ। चाँदीको मूल्य अझै बढ्ने अनुमानमा लगानीकर्ताले खरिद बढाएका छन्। यसले बजारमा माग धेरै र आपूर्ति कम हुने अवस्था निम्त्याएको छ।
सामान्य दिनमा दैनिक ४ सय केजी खपत हुने चाँदी अहिले १२ सय केजीभन्दा बढी माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पछिल्लो एक महिनादेखि आयात घटेपछि बजारमा ‘सर्टेज’ देखिएको महासंघका उपाध्यक्ष दियेश रत्न शाक्यले बताए। आयात बढ्न नसक्दा समस्या गहिरिएको उनको भनाइ छ।
‘अहिले चाँदीको माग मुख्यतः लगानीकर्ताबाट आइरहेको छ। बैंकले आयात गरेको चाँदी सबै बिक्री भइहाल्ने अवस्था छ। व्यवसायीले अभाव छैन भने पनि ग्राहकले चाहेजति चाँदी पाउन सकेका छैनन्। विश्वव्यापी रूपमा नै मागभन्दा आपूर्ति कम हुँदै गएको छ,’ शाक्यले बताए।
व्यवसायी माणिक रत्न शाक्यका अनुसार अहिलेसम्म पनि बजारमा आपूर्ति सहज भएको छैन। व्यवसायीले आपूर्ति गरिरहे पनि चाँदी बजारमा पुग्न नसकेको उनले बताए।

‘राष्ट्र बैंकको नयाँ नीतिअनुसार ठूलो परिमाणमा आयात हुनुपर्ने हो। तर, विश्वव्यापी अभावका कारण नेपालमा पनि असर परेको छ। अबको एक सातापछि आयात भए केही सहज हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने।
सुनचाँदी व्यवसायी धर्मरत्न बज्राचार्यले बैंक र व्यवसायीबाट आयात कम हुँदा आपूर्तिमा प्रत्यक्ष असर परेको बताए।
उनी भन्छन्, ‘अहिले नेपाल मात्र होइन विश्वभर चाँदीमा लगानी गर्ने प्रवृत्ति बढेको छ। माग धेरै हुँदा सप्लायर्सले आपूर्ति गर्न नसक्ने अवस्था देखिएको छ।’
तिहारपछि सुनमा देखिएको अवस्था अहिले चाँदीमा दोहोरिएको उनले बताए। माग धेरै भएकाले लगानीकर्ताले बजारभन्दा महँगो मूल्यमा पनि खरिद गरिरहेको उनको भनाइ छ। व्यवसायीबाट ४ देखि ५ टनसम्म चाँदी खरिदको माग आउने गरेको उनले जानकारी दिए।
मागअनुसार चाँदी आयात हुन सकेन: सीइओ खनाल
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बजारको मागअनुसार चाँदी ल्याउन नसकिएको बताए। विश्वव्यापी माग बढ्दा सप्लायर्सले चाँदी दिन नसकेको उनको भनाइ छ।
बैंकले पहिलो चरणमा आयात गरेको एक टन चाँदी बिक्री भइसकेको छ। थप आयातको प्रक्रिया चलिरहेको उनले बताए।
ग्राहकले चाँदी किनेर होल्ड गर्न थालेका छन्। बजारमा अभाव हुँदा व्यवसायीमार्फत माग अझै बढिरहेको उनले जानकारी दिए।










