मनोरञ्जन जगतका जायन्ट कम्पनीहरुबीच सौदाबाजीको प्रस्तावले सम्बद्ध क्षेत्रको ध्यानाकर्षण गरेको छ। वार्नर ब्रदर्स डिस्कभरीले प्यारामाउन्टबाट आएको अधिग्रहण प्रस्ताव फेरि अस्वीकार गरेको छ। कम्पनीले आफ्ना सेयरधनीलाई नेटफ्लिक्ससँग भएको सम्झौतामै टिकिरहन आग्रह गरेको छ।
केही साताअघि वार्नरले आफ्नो स्टुडियो र स्ट्रिमिङ व्यवसाय ७२ अर्ब डलरमा नेटफ्लिक्सलाई बेच्ने सम्झौता गरेको थियो। तर स्काइडान्सको स्वामित्वमा रहेको प्यारामाउन्टले सम्पूर्ण वार्नर कम्पनी किन्न ७७.९ अर्ब डलरको शत्रुतापूर्ण प्रस्ताव राखेको छ।
वार्नरको सञ्चालक समितिका अनुसार प्यारामाउन्टको प्रस्ताव कम्पनी र सेयरधनीको हितमा छैन। अत्यधिक ऋणमा आधारित भएकाले सम्झौता पूरा नहुन सक्ने जोखिम रहेको र असफल भएमा सेयरधनीका लागि पर्याप्त सुरक्षा नदेखिएको कम्पनीको भनाइ छ।

यसको विपरीत, नेटफ्लिक्ससँगको सम्झौताले बढी मूल्य र बढी निश्चितता दिने भन्दै वार्नरले त्यसैलाई समर्थन गर्न आग्रह गरेको छ। प्यारामाउन्टले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। वार्नरका सेयरधनीले जनवरी २१ सम्म आफ्ना सेयर बुझाउने (टेन्डर गर्ने) समय पाएका छन्।
गत महिना प्यारामाउन्टले आफ्नो प्रस्ताव बलियो बनाउन ओरेकलका संस्थापक ल्यारी एलिसनबाट ४०.४ अर्ब डलरको व्यक्तिगत ग्यारेन्टी ल्याएको थियो। साथै, नियामकले सम्झौता रोकिदिएमा सेयरधनीलाई तिर्ने क्षतिपूर्ति रकम ५.८ अर्ब डलर पुर्याएको छ।
वार्नरले भने प्यारामाउन्टको प्रस्तावलाई धेरै ऋणमा आधारित ‘लेभरेज्ड बायआउट’ जस्तो भन्दै चिन्ता व्यक्त गरेको छ। कम्पनीका अनुसार प्रस्तावमा राखिएका सञ्चालनसम्बन्धी सर्तहरूले सम्झौताको अवधिमा कम्पनीको कामकाज प्रभावित हुन सक्छ।
नेटफ्लिक्स र प्यारामाउन्टको प्रस्ताव फरक–फरक छन्। नेटफ्लिक्सले वार्नरको स्टुडियो र स्ट्रिमिङ व्यवसाय मात्र किन्न चाहेको छ, जसमा एचबीओ म्याक्स पनि पर्छ। तर प्यारामाउन्टले सीएनएन र डिस्कभरीजस्ता टेलिभिजन नेटवर्कसहित सम्पूर्ण कम्पनी किन्न खोजेको हो।
यदि नेटफ्लिक्ससँगको सम्झौता सफल भयो भने, वार्नरको समाचार र केबल टेलिभिजन व्यवसाय छुट्टै कम्पनी बनाइनेछ।
दुवै सम्भावित सम्झौताले कडा प्रतिस्पर्धा–विरोधी जाँचको सामना गर्नुपर्नेछ। अमेरिकी न्याय मन्त्रालयसहित अन्य देशका नियामक निकायहरूले पनि यसमा चासो देखाउने अनुमान छ।
यसैबीच, सिनेमा उद्योगका संगठनहरूले दुवै सम्झौताप्रति चिन्ता जनाएका छन्। उनीहरूको भनाइमा, यस्ता ठूला मर्जरले रोजगारी घट्न सक्छ र फिल्म निर्माणमा विविधता कम हुन सक्छ।

ऋण घटाउने र व्यवसायलाई सरल बनाउने लक्ष्य
वार्नर ब्रदर्स डिस्कभरी अमेरिकी इन्टरटेन्मेन्ट कम्पनी हो। सन् २०२२ मा वार्नर मिडिया र डिस्कभरी इन्क गाभिएपछि यो कम्पनी बनेको हो। यसअन्तर्गत वार्नर ब्रदर्स स्टुडियो, एचबीओ, एचबीओ म्याक्स, सीएनएन, डिस्कभरी च्यानल लगायतका टेलिभिजन, फिल्म र स्ट्रिमिङ प्लेटफर्म सञ्चालन हुन्छन्। कम्पनीले फिल्म निर्माण, टेलिभिजन कार्यक्रम, समाचार, खेलकुद र डिजिटल सामग्रीमार्फत विश्वभर दर्शकसम्म सेवा पुर्याउँदै आएको छ।
वार्नर ब्रदर्स डिस्कभरीको मुख्य सम्पत्तिमा वार्नर ब्रदर्स स्टुडियो, एचबीओ, एचबीओ म्याक्स, सीएनएन, डिस्कभरी, टीएलसी, एनिमल प्लानेटजस्ता टेलिभिजन नेटवर्क र विशाल फिल्म–टिभी सामग्री भण्डार छन्। हाल कम्पनी बिक्री/पुनर्संरचनाको चरणमा छ। प्रस्तावित योजनाअनुसार, स्टुडियो र स्ट्रिमिङ व्यवसाय नेटफ्लिक्सलाई बिक्री गर्ने र समाचार तथा केबल नेटवर्कलाई छुट्टै कम्पनी बनाउने तयारी छ। यससँगै कम्पनीले उच्च ऋण घटाउने र व्यवसायलाई सरल बनाउने लक्ष्य राखेको छ।
कस्तो हो प्यारामाउन्ट?
प्यारामाउन्ट ग्लोबल अमेरिकी ठूलो मनोरञ्जन तथा मिडिया कम्पनी हो। यसअन्तर्गत प्यारामाउन्ट पिक्चर्स फिल्म स्टुडियो, सीबीएस टेलिभिजन नेटवर्क, एमटीभी, निकेलोडियन, कमेडी सेन्ट्रल र प्यारामाउन्ट प्लस स्ट्रिमिङ प्लेटफर्म पर्छन्। कम्पनीले फिल्म, टेलिभिजन कार्यक्रम, समाचार र डिजिटल सामग्री विश्वभर वितरण गर्छ। पछिल्लो समय प्यारामाउन्ट व्यवसाय विस्तार र मर्जर–अधिग्रहणमार्फत आफ्नो बजार प्रभाव बढाउने प्रयासमा छ।
वार्नर ब्रदर्स डिस्कभरीले नेटफ्लिक्सको प्रस्तावभन्दा बढी रकम दिने प्यारामाउन्टको ७७.९ अर्ब डलरको प्रस्ताव अस्वीकार गर्नुको मुख्य कारण मूल्य मात्र होइन, जोखिम र सर्तहरू पनि महत्वपूर्ण हुन भन्ने हो। यसका कारणहरुमा प्यारामाउन्टको प्रस्तावमा धेरै ऋण समावेश छ, यसले सम्झौता पूरा नहुने जोखिम बढाउँछ। सम्झौता असफल भएमा सेयरधनीको संरक्षण पर्याप्त छैन। प्यारामाउन्टको प्रस्तावले वार्नरको दैनिक कामकाजमा सीमितता ल्याउन सक्छ।
नेटफ्लिक्सको सम्झौता ऋण कम, मूल्य निश्चित र कम्पनीको भविष्यको योजना अनुसार सुरक्षित मानिएको छ। अधिक मूल्य भएको प्रस्ताव पनि जोखिमपूर्ण र असुरक्षित भएमा स्वीकार्य हुँदैन, त्यसैले वार्नर ब्रदर्सले नेटफ्लिक्स प्रस्तावलाई प्राथमिकता दिएको हो।

स्ट्रिमिङ कम्पनीको विस्तारित योजना
नेटफ्लिक्स अमेरिकी ग्लोबल स्ट्रिमिङ कम्पनी हो। सन् १९९७ मा रिड हेस्टिङ्स र मार्क र्यान्डोल्फले डीभीडी भाडामा दिने सेवाबाट सुरु गरेका थिए। हाल यसले इन्टरनेटमार्फत फिल्म, टेलिभिजन सिरिज, डक्युमेन्ट्री र ओरिजिनल सामग्री स्ट्रिमिङ गर्छ। नेटफ्लिक्सका ओरिजिनल कार्यक्रमहरू विश्वभर लोकप्रिय छन्।
कम्पनी मासिक सदस्यता मोडेलमा आधारित छ र विज्ञापन विकल्प पनि छ। वार्नर ब्रदर्स डिस्कभरीको स्टुडियो र स्ट्रिमिङ व्यवसाय किन्न नेटफ्लिक्सले ७२ अर्ब डलरको प्रस्ताव गरेको छ। डिजिटल मनोरञ्जनमा नेटफ्लिक्स विश्वव्यापी बजार भएको बलियो कम्पनीका रूपमा स्थापित छ।
यदि वार्नर ब्रदर्स डिस्कभरीको स्टुडियो र स्ट्रिमिङ व्यवसाय अधिग्रहण गर्न सफल भयो भने नेटफ्लिक्सको बिजनेस निकै नै विस्तार हुने मात्रै नभइ यो कम्पनी आफ्नो क्षेत्रको निकै शक्तिशाली हुनेछ। वार्नरका फिल्म, टिभी शो, एचबीओ म्याक्स र अन्य प्लेटफर्मका कार्यक्रम नेटफ्लिक्समा समावेश हुनेछन्। यसले नेटफ्लिक्सको विश्वव्यापी ग्राहक संख्या र स्ट्रिमिङ बजारमा प्रभुत्व बढाउनेछ। दीर्घकालीन रूपमा सब्सक्रिप्सन राजस्व र ब्रान्ड मूल्य बढ्ने सम्भावना छ। तर, ठूलो अधिग्रहणले शुरूमै ऋण र सञ्चालन लागत बढाउन सक्छ।









