प्रकृति र आस्थाको संगम, बाइकमा सहज गन्तव्य मकवानपुरको लटारम्वेश्वर



साइराम उपरकोटी
२०८२ माघ १० गते ११:३९ | Jan 24, 2026
प्रकृति र आस्थाको संगम, बाइकमा सहज गन्तव्य मकवानपुरको लटारम्वेश्वर


हिमाल, पहाड र तराईको देशमा घुमन्तेका लागि जतासुकै नौला गन्तव्य छन्। काठमाडौं नजिकै बाइक या स्कुटरमा घुम्न रहर गर्नेका लागि  मकवानपुर जिल्लामा अवस्थित लटारम्वेश्वर महादेव मन्दिर क्षेत्र पनि सहज यात्राको दुरीमा रमाइलो गन्तव्यमा पर्छ।

Tata
GBIME
Nepal Life

यहाँको यात्रा धार्मिक आस्था भएकाहरुलाई मात्रै नभइ प्राकृतिक सुन्दरताको मज्जा लिन चाहनेका लागि पनि अनुपम छ। काठमाडौंबाट कान्ति राजपथ हुँदै बाइकमा करिब ५५/५६ किलोमिटरको दुरी छिचोल्नु धेरैका लागि ‘एडभेन्चरस’ अनुभव हुन सक्छ। किनभने तपाईले मोटरसाइकल चालकको लाइसेन्स परीक्षामा ट्रायल कसरी दिनुभयो भन्ने बिर्सनुभयो भने पनि यो बाटोले सम्झाउँछ। उकालो-ओरालो, ग्राभेल, कच्ची र घुम्ती बाटोले तपाईंको ड्राइभिङ सीपको परीक्षा लिन्छ। सुरक्षित यात्राको आफ्नो कौशलमा आनन्द दिलाउँछ।

लटारम्वेश्वर मन्दिर मकवानपुरको बकैया-१२ ठिंगन र भीमफेदी-८ ईपा क्षेत्रमा पर्दछ। समुद्र सतहबाट करिब २ हजार मिटरको उचाइमा रहेको यो क्षेत्रमा हिजोआज बाइक/स्कुटरमा यात्रा गर्न मन पराउने भीड हुने गरेको छ।

हामीले लटारम्वेश्वरका बारेमा जब थाहा पायौँ, जान रहर लाग्यो। योजना बन्यो र, झटपट निस्कियौँ। हाम्रो यात्रा बिहानै ८ बजे काठमाडौंको स्रोहखुट्टेबाट सुरु भयो। यात्रा खर्चिलो थिए। बाइकमा ६ लिटर तेल हालेर करिब एक हजार रुपैयाँ खर्च ! अचम्मको मितव्ययी यात्रा।

लटारम्वेश्वर मन्दिर जाने पदमार्ग

ललितपुरको लगनखेल, सातदोबाटो, ठैब, बडेगाउँ हुँदै चापागाउँ हुँदै हामीले टिकाभैरबको बाटो समातेका थियौं। टिकाभैरबबाट करिब २८ किलोमिटरको यात्रापछि बागमती पुल (बगुवा) पुगियो। यहाँबाट करिब २०० मिटर माथि रहेको महादेवटारसम्म निजी चारपाङ्ग्रे सवारीसाधन जान सक्ने बाटो रहेछ। चिलाउने डाँडामा रहेको स्याङताङ बाको होमस्टेसम्म भने दुईपाङ्ग्रेमा मात्रै पुग्न सकिने रहेछ। बाइक लिएर गएका हामी होमस्टे पुग्दा बिहानको करिब साढे १० बज्दै थियो।

लटारम्वेश्वर मन्दिर जाने पदमार्ग

यात्रामा गाडी लिएर आउनेहरु बगुवाबाट हिँड्ने रहेछन्। हामीले बाटामा हिँडेकाहरुलाई देखेका थियौं। बाइकमा धेरैजसो तन्नेरी हिँडेका देखिन्थे। होमस्टेमा बाइक पार्किङ गर्न शुल्क लाग्ने रहेनछ। तर त्यहाँसम्म पुग्नका लागि कच्ची, धुलो र हिलो बाटो पार गर्नु केही रोमाञ्चक थियो। रोमाञ्चक यस अर्थमा की बाटो सजिलो थिएन। असजिलो बाटो मोटरसाइकल चलाउनेहरुका लागि आफ्नो सवारीचालक सीपको परीक्षा जस्तो हो।

लटारम्वेश्वर मन्दिर जाने पदमार्ग

बाइक पार्क गरेपछि हामीले त्यहाँ चिया खायौं। त्यसपछि डब्लु डाँडामा रहेको पूजासामग्री पसलसम्म ५० मिनेटको जंगलको उकालो लाग्यौं। यहाँ चारवटा खाजा र पूजा सामग्री पसल देखिए। पसलमा पकौडा, आलुचप, रोटी, तरकारी, चना-अन्डा लगायतका खानेकुरा पकाएर बसेकाहरु डाँडामा घुम्न आउने ग्राहकका प्रतीक्षामा देखिन्थे। हामीले पूजा सामग्रीमा पानी, केरा, धजा, लट्टे धुप र सिन्के धुप किन्यौं। यसमा करिब ३०० रुपैयाँ खर्च भयो।

लटारम्वेश्वर मन्दिर जाने पदमार्ग

डब्लु डाँडाबाट करिब १५ मिनेटको उकालोपछि लटारम्वेश्वर महादेव मन्दिर पुगियो। मन्दिर पुगेपछि पूजा गरियो। त्यसपछि बाहिर वरिपरि घुम्दै करिब एक घण्टा रमणीय दृश्यको आनन्द लियौं। यहाँबाट हिमशृंखला, बादलले घामसँग लुकामारी खेल्दा फेरिने मौसमी रूप, हरियाली डाँडाका मनोरम दृश्य थियो। हामी रमायौं।

लटारम्वेश्वर मन्दिर जाने पदमार्ग

पूजा र घुमघामपछि हामी खाजा पसलमा फर्कियौं। रोटी, तरकारी र चटपट खायौं, जसमा करिब १५० रुपैयाँ मात्रै खर्च भयो।

हामीले पूजा र खाजा पसल चलाएर बसेकाहरुसँग कुराकानी गर्‍यौं। यसरी पसल थापेर बस्न थालेको करिब तीन वर्ष भएछ। फाट्टफुट्ट घुमन्ते ‘हाइकिङ’ भन्दै आउने क्रम बढेसँगै डाँडाको फेदीको बस्तीका बासिन्दाले पसल थापेका रहेछन्।

नयाँ पुस्तामा बढेको घुमघामको बानीले उनीहरुको व्यापारलाई टेवा दिएको थियो। कुराकानीका क्रममा घुमन्ते अझ बढ्नेमा उनीहरु आशावादी सुनिए। धार्मिक पौराणिक कथाका अनुसार, सतीदेवीले देह त्याग गरेपछि महादेवले पार्थिव शरीर लिएर हिँड्दा उनको जट्टा (शिरको कपाल) पतन भएको कारण यस स्थललाई लटारम्वेश्वर महादेव भनिएको मानिने रहेछ। यहाँ महादेवले ताण्डव नृत्य सिकाएको विश्वास पनि गरिने रहेछ।

डब्लु थुम्कोमा रहेको पूजा सामग्री पसल

हामीलाई पसलेले बताए। मन्दिरमा बर्सेनि वैशाख १ र माघ १ गते मेला लाग्छ। त्यो बेला थुप्रै पसल थापिन्छन्। तीर्थालुको भीडसँगै कारोबार बढ्छ।

लटारम्वेश्वर महादेवको यात्रा केवल धार्मिक अनुभव मात्र होइन, यहाँको डाँडामा हाइकिङको अनुभूति लिन पनि सकिने ठाउँ रहेछ। काठमाडौंबाट एकै दिनमा पुग्न सकिने दूरी। प्राकृतिक सौन्दर्य, हिमशृंखलाको मनोरम दृश्य र धार्मिक आस्था ‘अल इन वन’ अनुभवले यो गन्तव्यले आन्तरिक पर्यटकलाई मनपर्ने स्थल बनेको अनुभव भयो।

सतिदेवीको मन्दिर

हाम्रो यात्रा करिब ९ घण्टामा पूरा भयो। टिकाभैरवबाट बाइक लिएर डब्लु डाँडा हुँदै मन्दिर दर्शन, खाजा, र फिर्ती यात्रा र काठमाडौं आइपुग्दा ज्यान थाकेको भए पनि मन चंगा थियो।

त्रिशूलमा तीर्थालु तस्बिर लिँदै