लुम्बिनीमा मञ्जुश्री गाभिने, सेयर स्वाप अनुपात ६० देखि ६५ मा रहने, चुक्ता पुँजी १७५ करोड पुग्ने



बिजमाण्डू
२०७० मंसिर २७ गते ००:०० | Dec 12, 2013
काठमाडौं । लुम्बिनी बैंक र मञ्जुश्री फाइनान्स एक आपसमा मर्जरमा जाने भएका छन् । मर्जरको प्रक्रिया अगाडी बढाएका यी दुवै कम्पनीको बिहीवारबाट सेयर कारोबार रोक्का भएको छ । लुम्बिनीको एक सय कित्ता बराबर मञ्जुश्रीको ६० देखि ६५ कित्ता सेयर पाउने गरी स्वाप रेसीयो तयार हुने, स्रोतले जानकारी दियो । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ हाराहारीमा पुग्नेछ । हाल लुम्बिनी बैंकको चुक्तापूँजी एक अर्ब ६० करोड रुपैयाँ र मञ्जुश्रीको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ छ ।
लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सेयर स्वाप रेसियो अहिले तयार नभएको जानकारी दिए, मर्जकै प्रक्रियामा डिडिएबाट प्राप्त हुने सेयर स्वाप रेसियोमा बैंकमा फाइनान्स मर्ज हुने उनले बताए । 
केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिने गरी बाणिज्य बैंकका लागि चुक्ता पुँजी दुई अर्ब पुर्याउन अनिवार्य गरेको छ । लुम्बिनीले बोनस सेयर वितरणबाट मात्रै तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने अवस्था छैन् । यो हिसावले बैंकलाई फाइनान्ससँग मर्ज गर्न दवाव परेको हो ।
पन्तले बैंकको दायरा वृद्धि गर्न मर्जको सहमति गरेको बताए । अहिलेसम्म बैंक सुधारका लागि अन्य काम गर्यौं, त्यो कामले हामी सवल बैंकका रुपमा स्थापित भएका छौं, उनले भने अब त्यसलाई अझ उचाईंमा पुर्याउन यो मर्जको निर्णय गरिएको हो । मर्जको प्रक्रिया तीन महिना भित्र पूरा हुने उनले जानकारी दिए । 
मर्जर पछि बन्ने बैंकको नाम पनि लुम्बिनी नै रहनेछ । मर्जरपछि बैंकको एक प्रधान कार्यालय बाहेक शाखा कार्यालयको संख्या १९ पुग्ने छ । लुम्बिनी बैंकको वयवस्थापनको नेतृत्व सोभनदेव पन्तले गरिरहेका छन भने मञ्जुश्रीको प्रमुख कार्यकारी अधिकृतमा नवराज थापा छन् । नयाँ बैंकको नेतृत्व पनि पन्तले नै गर्ने सहमति भएको छ । 
चालु आवको पहिलो त्रैमाशमा लुम्बिनी बैंकले दुई करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । मञ्जुश्री फाइनान्सले भने चालु वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकासित गरेको छैन । मञ्जुश्री फाइनान्सले गत आवमा दुई करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । लुम्बिनीको पहिलो त्रैमाशमा सञ्चित तथा जगेडा कोषमा ६० करोड ६२ लाख रुपैयाँ छ । मञ्जुश्रीको सञ्चित तथा जगेडा कोषमा चार करोड १९ लाख रुपैयाँ रहेको छ । 
पछिल्लो वित्तीय विवरणलाई आधारमान्दा मर्जरपछि बैंकको निक्षेप १३ अर्ब रुपैयाँ पुग्ने छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँ पुग्ने छ । लुम्बिनीको निक्षेप १२ अर्ब रहेको छ भने मञ्जुश्रीको निक्षेप एक अर्ब पाँच करोड छ । 
त्यस्तै लुम्बिनीको कर्जा १० अर्ब ३९ करोड छ भने मञ्जुश्रीको ९५ करोड ४० लाख रुपैयाँ रहेको छ । लुम्बिनी बैंकको सेयर बुधवार दुई सय ८० मा कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि एक सय २८ मा किनबेच भएको थियो । लुम्बिनी बैंकको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ६.२० उल्लेख छ भने मञ्जुश्रीको गत आवको चौथो त्रैमासमा यो १२.१४ रहेको थियो ।
लुम्बिनी बैंकमा खराब कर्जाको हिस्सा उच्च भएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर सुधार प्रक्रिया थालेको थियो । सुधार प्रक्रियाकै एक हिस्साका रुपमा पन्त लुम्निबी बैंकमा पुगेका हुन् । लुम्बिनीसँगै स्थापित अन्य बैंकको निक्षेप, कर्जा र मुनाफा अहिले दोब्बर/तेव्बर बढी छ । 

Tata
GBIME
Nepal Life
लुम्बिनीको २०६८÷६९ को बार्षिक प्रतिवेदनअनुसार बैंकमा कर्मचारी सञ्चय कोषको १४.५५ प्रतिशत, मंगल कलश इन्भेष्टमेन्टको १२.१६, नागरिक लगानी कोषको ८.५० प्रतिशत, सिटौला इन्भेष्टमेन्टको ५.०५, मन्जु अग्रवाल ३.८७ प्रतिशत सेयर स्वामित्व छ । बैंकको सञ्चालक समितिमा प्रकाशमान श्रेष्ठ अध्यक्ष छन भने अन्य सञ्चालकमा कैलाशभक्त करञ्जित, सुवर्णलाल श्रेष्ठ र सुशील अर्याल छन ।   
मञ्जुश्रीको २०६८÷६९ को बार्षिक प्रतिवेदनअनुसार कम्पनीमा सुमनप्रसाद अधिकारीको ९.६३ प्रतिशत, पारस अधिकारीको ७.४५, रेखा उप्रती ओलीको ५.५०, कमलकुमार बेगानीको चार प्रतिशत, विजयबहादुर शाहको ३.७८ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको सञ्चालकमा दामोदरप्रसाद गौतम अध्यक्ष छन भने अन्य सञ्चालकमा कमलकुमार बेगानी, सुमनप्रसाद अधिकारी, पारस अधिकारी बिनयकुमार शर्मा लगायत छन् ।