शहरहरू तबसम्म टिकिरहन्छन्, जबसम्म उनीहरू आफ्नो वरिपरिको अर्थतन्त्रका लागि आवश्यक रहन्छन्। राष्ट्रिय प्रणालीभित्र शहरले निर्वाह गर्ने भूमिकाको क्षयसँगै शहरको क्षय पनि हुन्छ। विराटनगरको क्रमिक क्षयलाई केवल विकास दर, बजेट वा लगानीको कमीको भाषामा व्याख्या गर्न सकिँदैन किनकि विराटनगर नेपालले विकास गर्न नसकेकाले कमजोर भएको होइन। यसको क्षयको कारण नेपाललाई अब विराटनगरबाट कुनै अनिवार्य काम गराउन आवश्यक नपर्नु हो।
जब कुनै शहरको कार्यगत भूमिका कमजोर हुन्छ, पतन शान्त तर निरन्तर रूपमा अघि बढ्छ। विराटनगरको कथा पतन वा उपेक्षाको होइन, बरु राष्ट्रिय प्रणाली पुनर्संरचना हुँदै जाँदा यसको प्रासंगिकता क्रमशः हराउँदै गएको कथा हो।
१९७० को दशकदेखि १९८० को उत्तरार्ध र १९९० को प्रारम्भसम्म विराटनगर नेपालका आर्थिक संरचनाभित्र स्पष्ट स्थानमा थियो। यो देशको प्रमुख औद्योगिक रूपान्तरण केन्द्रको रूपमा कार्यरत थियो। श्रमिकहरु मिल र कारखानामा प्रवेश गर्थे, कारखानाबाट ज्याला सिर्जना हुन्थ्यो, ज्याला स्थानीय मागमा रूपान्तरण हुन्थ्यो र स्थानीय पूँजी पुनः उत्पादन क्षमतामा लगानी हुन्थ्यो।
यो चक्र संरक्षणयुक्त, अपूर्ण र राजनीतिक नेतृत्वको मुखापेक्षी थियो, तर यसले संचय (कम्पाउन्डिङ) गर्थ्यो। विराटनगर महत्वपूर्ण थियो, किनकि यसले राष्ट्रिय अर्थतन्त्रले निर्भर गर्ने काम गरिरहेको थियो। पूर्वी नेपालमा रोजगारी, राजस्व प्रवाह र क्षेत्रीय स्थिरताको आधार यसैले दिएको थियो – त्यो समय अन्य कुनै शहरले प्रतिस्थापन गर्न नसक्ने स्तरमा।
आफ्नो राईंदाईं चलेको बेला विराटनगर केवल औद्योगिक शहर मात्र थिएन, यो नेपालको राजनीतिक-आर्थिक प्रणालीभित्रको एक शक्ति केन्द्र पनि थियो। औद्योगिक रोजगारीले श्रमलाई केन्द्रित गर्यो, सामाजिक शक्ति संगठित गर्यो र काठमाडौं बाहिर वित्तीय प्रवाहलाई आधार दियो। स्थानीय व्यवसायिक वर्ग नाफालाई मिल, आवास र शहरी सेवामा पुनः लगानी गर्दै भाडा खोज्ने (रेन्ट होल्डर) होइन, निर्माणकर्ता (बिल्डर) का रूपमा कार्यरत थिए।
त्यस समयको राज्य विकास मोडेलले उत्पादनको भौगोलिक विकेन्द्रीकरण, सिमाना नजिकको उद्योग र रोजगारी आधारित वृद्धिलाई प्राथमिकता दिएको थियो। विराटनगर यस मोडेलसँग पूर्ण रूपमा मेल खान्थ्यो। यसको प्रासंगिकता नेपालले शासन गर्ने, पूँजी बाँडफाँट गर्ने र आर्थिक जोखिम व्यवस्थापन गर्ने तरिकासँग सिधै जोडिएको थियो।

१९९० को दशकको उदारीकरणले नेपालको राजनीतिक आर्थिक प्रणालीलाई पुनः संरचित गर्यो र संरक्षण प्राप्त औद्योगिक क्षेत्रहरूको भूमिका क्रमशः घट्न थाल्यो। नीति निर्माण, वित्तीय गतिविधि र सबैभन्दा महत्त्वपूर्ण संस्थागत अधिकार काठमाडौंमा केन्द्रित हुन थाले। विस्तारै विप्रेषण (रेमिट्यान्स) एक प्रमुख समष्टिगत आर्थिक शक्तिको रूपमा उदायो, जसले देशभर श्रम बजार र घरपरिवारका वित्तीय संरचनालाई रूपान्तरण गर्यो। वृद्धि झन् बढी उपभोगमा आधारित हुन गयो। यी परिवर्तनहरूले नेपालमा मूल्य कसरी सिर्जना र समन्वय गरिन्छ भन्ने आधार नै परिवर्तन गरिदिए।
राष्ट्रिय प्रणालीलाई अब पहिलेजस्तो विकेन्द्रित औद्योगिक केन्द्रहरूको आवश्यकता रहेन। राज्य शक्ति, पूँजी संचय र संस्थागत घनत्वसँग समायोजित शहरहरू झन् सान्दर्भिक बन्दै गए। विराटनगरजस्ता अन्य शहरहरू संरचनात्मक रूपमा असमायोजित हुँदै गए।
नेपालको राजनीतिक-आर्थिक पुनर्संरचनाले गर्दा मूल्य अभिवृद्धि गर्ने विराटनगरको क्षमतामा क्रमिक ह्रास आयो। उदारीकरणसँगै भन्सार संरक्षण कमजोर हुँदा र पूँजी अभावमा रहेका मिलहरू प्रतिस्पर्धामा उत्रँदा उत्पादन घट्यो, तर त्यसको सट्टा नयाँ उत्पादन तर्क (प्रोडक्सन लजिक) विकसित भएन। अझ महत्वपूर्ण कुरा, शहर कारखानाबाट मापनयोग्य संस्थामा रूपान्तरण हुन सकेन।
विश्वविद्यालय, अस्पताल र व्यापार क्षेत्रहरू थिए, तर ती टुक्राटुक्रा, आन्तरिक रूपमा केन्द्रित र कमजोर ब्यालेन्स सिटमा सीमित रहे। कुनै पनि क्षेत्रले क्षेत्रीय अनिवार्यता वा निर्यातयोग्य सेवा गहिराइ हासिल गर्न सकेन। यसैबीच, विप्रेषण निरन्तर रूपमा विराटनगर भित्रिन्थ्यो, तर घरपरिवारको तहमा छरिएको अवस्थामा। विश्वसनीय संचय संयन्त्र र मापनयोग्य उद्यमहरूको अभावमा पूँजी स्वाभाविक रूपमा जग्गा र आवासमा थुप्रिन थाल्यो । कर्जा उत्पादनशीलताभन्दा धितोको पछि लाग्यो – जोखिम मूल्यांकन क्षमताको एकल बिन्दु विफलता उजागर गर्दै। समग्र प्रभाव संरचनात्मक थियोस् उत्पादन क्षमता बाहिरियो, संस्थागत गुरुत्व बनेन, र वित्तीय प्रवाह निष्क्रिय सम्पत्तिमा जमेर बस्यो। विराटनगर आर्थिक रूपमा चलायमान र जनसंख्या सहितको शहर नै रह्यो, तर यसले संचय गर्न छोड्यो।
यी सबैले उदारीकरण वा बजार एकीकरण गलत थियो भन्ने संकेत गर्दैन। खुला बजार, गतिशीलता र विप्रेषणमा आधारित वृद्धितर्फको रूपान्तरणले नेपालभर अवसर विस्तार गर्यो। विफलता अन्यत्र थियो। बजारहरू सर्दै जाँदा विराटनगरले आफूलाई पुनःस्थापित गर्न सकेन। उदारीकरणमा सफल हुने शहरहरूले संरक्षित उत्पादनबाट समन्वय, संचय र निर्यातयोग्य सेवातर्फ आफ्नो भूमिका उकास्छन्।

विराटनगरको समस्या प्रतिस्पर्धामा खुला हुनु होइन, त्यो खुलापनलाई मापनयोग्य बनाउने संस्थागत संयन्त्रको अभाव थियो। त्यसपछि परिचित नीति त्रुटि देखा पर्यो – आर्थिक कार्यको सट्टा उपभोग र जीवनशैली पूर्वाधार राख्ने प्रयास (यो भ्रान्ति धेरै नेपाली शहरहरूको यात्रामा देखिन्छ)। काठमाडौंको सतही अर्थतन्त्रको नक्कल गर्दा यसको वास्तविक आधार-राज्य खर्च, संस्थागत एकाग्रता र बलियो ब्यालेन्ससिटलाई बेवास्ता गरियो। केवल मल वा होटल निर्माण गरेर त्यो इन्जिन दोहोरिन सक्दैनथ्यो। विराटनगर विकासको गलत क्रम (मिस सिक्वेन्सिङ) को सिकार भयो।
अब यो निदान पछि के गर्ने ? अन्त्यमा म विराटनगरलाई पुनः आवश्यक बनाउने अर्थ के हो भन्ने फ्रेम प्रस्तुत गर्न चाहन्छु।
यसको भविष्य अतीतको पुनर्निर्माणमा छैन। यसको अर्थ नेपालको वर्तमान राजनीतिक, आर्थिक प्रणालीभित्र यसको भूमिकालाई पुनः निर्दिष्ट गर्नु हो। अझ राम्रो त, नेपाल जुन दिशामा जाँदैछ, त्यससँग तालमेल मिलाउनु हो। यस्तो अर्थतन्त्र जुन खुला, गतिशील, विप्रेषणमा आधारित र संस्थागत रूपमा केन्द्रित छ। यस्तो प्रणालीमा शहरहरू बजारलाई व्यवस्थित गरेर सान्दर्भिक रहन्छन्।
विराटनगरको अवसर प्लेटफर्मको रूपमा काम गर्नु हो। स्वास्थ्य सेवा (पहिले नै सूक्ष्म तहमा भइरहेको), व्यापार सहजीकरण र सीप निर्यातमार्फत भूगोललाई मापनमा रूपान्तरण गर्नु हो। यहाँ बाधा माग, पूँजी वा श्रम होइन। एकमात्र बाधा दृष्टि, योजना र समन्वय हो। निर्णायक चुनौती, संस्थागत डिजाइन र सामूहिक कार्य हो। यदि विराटनगरले यी प्रवाहहरूलाई समन्वित रूपमा व्यवस्थित गर्न र लगानीलाई सही क्रममा राखेर बजार इन्जिन निर्माण गर्न सक्यो भने यो फेरि चम्किनेछ। यदि सकेन भने यसको पतन क्रमबद्ध, आर्थिक रूपमा चलायमान तर स्थायी रहनेछ।
वित्त र पुँजी बजारमा गहिरो अनुभव सँगालेका प्रवेश रिजाल न्यूयोर्कमा मुख्यालय रहेको एक अन्तर्राष्ट्रिय बैंकका कार्यकारी हुन्। बिराटनगरमा जन्मिएका उनले अन्तर्राष्ट्रिय वित्त र नीति विश्लेषणको क्षेत्रमा काम गर्दै आएका छन्। यहाँ व्यक्त विचार उनका निजी हुन्।










