काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२६ संघारमा छ। पछिल्लो समय नेपालमा पनि क्रिसमसपछि नयाँ वर्षको स्वागत धुमधामले मनाउने ‘ट्रेन्ड’ बढिरहेको छ। यो बेलामा मानिसहरु विभिन्न पर्यटकीय गन्तव्यमा जाने गर्छन्। साथीहरुसँगै परिवारसँगै नयाँ वर्ष मनाउने प्रचलन युवा पुस्तामा देखिएको छ।
नयाँ वर्ष मनाउन धेरैजना पोखरा पुग्ने गर्छन्। जसकारण अहिले त्यहाँका होटल बुकिङ गर्नेको संख्या ह्वात्तै बढेको छ। बुधबार न्यू एयर इभका मनाउन पर्यटकीय गन्तव्य पुग्नेको संख्या बढेको हो। जसकारण होटलको अकुपेन्सी पनि बढ्दै गएको हो।
तर, पोखराको तुलनामा अन्य पर्यटकीय गन्तवयका होटलमा भने बुकिङ कम भएको व्यवसायीहरु बताउँछन्। नयाँ वर्षको दिन बिदा नभएको कारणले धेरै गन्तव्यमा पुग्न पर्यटकले चासो नदेखाएको व्यवसायीहरुको बुझाइ छ। यद्यपि, देशका विभिन्न सहरका होटलले न्यू एयर इभका लागि प्याकेजहरु भने ल्याएका छन्।
नयाँ वर्ष मनाउन पोखरासँगै चितवन, दोलखा, नगरकोट, धुलिखेल, भैरहवा र धनकुटा जस्ता पर्यटकीय गन्तव्यमा पर्यटकहरु पुग्ने गर्छन्। गएको केही वर्षहरुमा बिदाका दिन वा शुक्रबार नयाँ वर्ष वा इभ पर्दा ती क्षेत्रका धेरै होटल भरिभाउ भएको व्यवसायीको अनुभव छ। तर, २०२६ को स्वागत गर्न भने पोखरा बाहेकका पर्यटकीय गन्तव्यमा भने पर्यटक कम पुगेको देखिन्छ।
नयाँ वर्षको लागि पर्यटक कम पुगे पनि क्रिसमसको समयमा भने अधिकांश गन्तव्यमा पर्यटकहरु भरिभराउ थिए। नयाँ वर्षको अवसरमा हरेक वर्ष पोखरामा सडक महोत्सव हुने हुँदा पोखरामा बढी पर्यटक पुग्ने गरेको व्यवसायी बताउँछन्।
पोखरामा नयाँ वर्ष मनाउन पुग्नेहरुका कारण ९० प्रतिशत होटल इभको दिनका लागि बुकिङ भइसकेको छ। बुकिङ गर्नेमा अधिकांश नेपाली पर्यटक रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
‘पोखरा भित्र र डाँडापाखाका होटलसमेत भरिभराउ छ। आज ७५ प्रतिशत अकुपेन्सी पुगेको छ। पोखरामा ३ दिनसम्म बुकिङ राम्रो छ। सडक महोत्सव सकिएसँगै होटलको अकुपेन्सी पनि घट्दै जान्छ,’ उनले भने।
क्रिसमस देखि नै पोखरामा पर्यटक उल्लेख्य संख्यामा रहेको उनले बताए। डिसेम्बर र जनवरी महिनालाई नेपाली पर्यटनको क्षेत्रमा ‘अफ-सिजन’ मानिन्छ। तर, पोखराको हकमा यो लागू नहुने उनको भनाइ छ।
पोखराको पर्यटन व्यवसायीका लागि डिसेम्बर महिना ‘कमाइ गर्ने मुख्य महिना’ रहेको उनी बताउँछन्। क्रिसमस र नयाँ वर्षकै कारण पोखरामा डिसेम्बर अन्तिम साता आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने गरेको सुवेदीले बताए।

क्रिसमसमा ‘प्याक’ भएका चितवनका होटलहरुमा भने नयाँ वर्षमा त्यस्तो उत्साह देखिएको छैन। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले क्रिसमसमा जस्तो ‘अकुपेन्सी’ अहिले नरहेको बताए।
‘हात्ती महोत्सव र क्रिसमस एउटै समयमा भएकोले ६ दिनसम्म पर्यटकको संख्या उल्लेख्य थियो। यो समयमा ८० प्रतिशतसम्म अकुपेन्सी थियो। तर, नयाँ वर्षमा चितवनमा कम पर्यटक भित्रिने भएकोले अकुपेन्सी त्यति राम्रो छैन्। ५५ प्रतिशत हारहारीमा बुकिङ छ। इभका दिन केही बढ्ने देखिन्छ।’
अघिल्लो वर्ष पनि नयाँ वर्षका दिन चितवनमा पर्यटकको संख्या कम नै रहेको उनले सुनाए। तर, सन् २०२४ को स्वागत गर्न भने चितवनमा भरिभराउ पर्यटक थिए।
त्यस्तै, क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकान्त श्रेष्ठले पहिलाको तुलनामा यो वर्षको नयाँ वर्षमा कम बुकिङ रहेको बताए।
‘अघिल्लो वर्ष अकुपेन्सी राम्रो थियो। तर यो वर्ष २५ प्रतिशत बुकिङ छ,’ उनले भने। इभका दिन बुकिङ बढ्न सक्ने अपेक्षा उनको छ। तर, प्रारम्भिक बुकिङका कारण अवस्था ‘नाजुक’ रहेको उनी बताउँछन्।
धुलिखेलका होटलमा नयाँ वर्षको भोलिपल्ट अर्थात शुक्रबार भने ९० प्रतिशत बुकिङ रहेको उनले सुनाए।
होटल संघ (हान) का महासचिव साजन शाक्यले भने बुधबारका लागि काठमाडौं वरिपरिका होटलहरुमा बुकिङ उत्साहजनक रहेको बताउँछन्।
‘नयाँ वर्ष शुक्रबार र बिदाको समयमा नभएकोले केही क्षेत्रका होटलमा कम अकुपेन्सी रहेको छ। यो वर्ष भारतीय पर्यटक पनि कम आएका कारण पनि अकुपेन्सी नबढेको देखिएको छ,’ उनले भने, ‘काठमाडौंमा अहिले ५० प्रतिशत बुकिङ छ।’










