काठमाडौं। ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक अध्यक्ष चान माङ चाङलाई पक्राउ गरेको हो। उनी चिनियाँ नागरिक हुन्।
वाल्डो क्यासिनोमा भारतीय नागरिकलाई ल्याएर ठगी गर्ने गिरोहलाई केही दिनअघि मात्र प्रहरीले पक्राउ गरेको थियो। ठगी गर्ने भारतीय गिरोहसँग क्यासिनोका सञ्चालकको पनि संलग्नता देखिएकाले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
‘ठमेलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले भने।
यसअघि प्रहरीले सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनीहरूले आँखामा लगाउने लेन्स र म्याग्नेटिभ भएको तास ल्याएर भारतीय नागरिकको रकम ठगी गरेको देखिएको हो।
प्रहरीले ठगीमा संलग्न अन्य मानिसको पनि खोजी गरिरहेको छ।










