काठमाडौं। उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएको रिपोर्ट लेखाइएका ६० वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता दिएको छ। ३४ मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीले शुक्रबार फिर्ता पाएका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सवारीधनीलाई बोलाएर दुई पांग्रे फिर्ता दिइएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले धनीलाई दुई पांग्रे फिर्ता दिँदा उनीहरु खुसी भएका थिए।
विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँबसपार्क, बालकुमारी, भाटभटेनी भक्तपुर, लोकन्थली, नाला बनेपा, बसन्तपुर, कीर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खु लगायतका स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको जनाइएको छ।
चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले १ सय ८१ वटा सवारीसाधन यसरी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। १३ वटा दुई पाङ्ग्रे साधनसहित चोरीमा संलग्न २५ जनालाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा ४ सय १७ वटा र २०८१/८२ मा ५ सय ३ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। सवारीसाधन चोरी हुन तथा हराउनबाट रोक्न सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक गर्न, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न र एकान्तमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ।










