उपत्यकाका तारे होटलमा क्रिसमस इभ मनाउँदै नेपाली, प्याकेज ‘सोल्डआउट’



साइराम उपरकोटी
२०८२ पुष ९ गते १९:१७ | Dec 24, 2025
उपत्यकाका तारे होटलमा क्रिसमस इभ मनाउँदै नेपाली, प्याकेज ‘सोल्डआउट’


काठमाडौं । बिहीबार २५ डिसेम्बर अर्थात क्रिसमस। इसाई धर्मवालम्वीहरुको यो पर्वको पूर्व सन्ध्यामा काठमाडौं उपत्यका समेत झुम्ने तयारीमा छ। क्रिसमस इभमा यहाँका तारे होटलहरु भिरभराउ भएका छन्।

Tata
GBIME
Nepal Life

क्रिसमसको दिन सार्वजनिक बिदा छ। जसकारण पनि तारे होटलले विभिन्न प्याकेज ल्याएर ग्राहकलाई आकर्षित गर्ने प्रयास थियो। जसमा अधिकांश तारे होटल आफ्नो मार्केटिङमा सफल भएका छन्। अहिले उपत्यकाका तारे होटलका क्रिसमस प्याकेज ‘सोल्ड आउट’ भएका छन्।

डिसेम्बर सुरु भएसँगै व्यवसायीहरुले ‘स्टेकेसन’ सहितको विभिन्न क्रिसमस प्याकेजहरु ल्याएका थिए। ती प्याकेजको उपभोग गर्नेमा नेपालीहरु नै धेरै देखिएको व्यावसायी बताउँछन्।

गोकर्ण फरेस्ट रिसोर्टले तीनवटा क्रिसमस प्याकेज ल्याएको थियो। तीनैवटा प्याकेज क्रिसमस इभ अघि नै सोल्ड आउट भएको होटलका एक कर्मचारीले बताए। 

‘क्रिसमस इभको लागि ल्याएको सबै प्याकेज सोल्ड आउट भइसकेको छ। भोलि केही कर्पोरेट अफिस खुला नै हुने देखिएकोले केहीले बुकिङ रद्द गरे। जसकारण अकुपेन्सी ८० प्रतिशत छ, नभए भोलिको पनि सोल्ड आउट हुने थियो,’ उनले भने।

गोकर्ण रिसोर्टमा क्रिसमस मनाउन प्याकेज लिनेमा ६० प्रतिशत नेपाली छन्। ४० प्रतिशत भने विदेशी पर्यटक भएको उनले जानकारी दिए।

पछिल्लो समय चाडपर्वको समयमा धेरै नेपालीहरु घर बाहिर परिवारसँग बस्ने र रमाउन ट्रेन्ड बढेकोले उनको अनुभव छ।

त्यस्तै, धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टले ल्याएको क्रिसमस प्याकेज पनि पुरै ‘सोल्ड आउट’ भएको छ। उपत्यका नजिकैको यो रिसोर्टमा पनि पुग्नेमा नेपाली धेरै छन्।  

‘क्रिसमसको प्याकेज सोल्ड आउट छ। प्याकेज किन्नेहरु अधिकांश नेपाली हुन्, विदेशी कम छन्,’ रिसोर्टका कर्मचारीले भने।

रिसोर्टले ‘क्रिसमस इलिगेन्स’ नामको प्याकेज ल्याएको थियो। दुई जनाको लागि २५ हजार रुपैयाँ रहेको प्याकेज सदुपयोग गर्न अहिले ग्राहकहरु रिसोर्ट पुगिसकेका छन्।   

यता काठमाडौंको केशरमहल चोकमा रहेको बाराही काठमाडौं होटलमा पनि क्रिसमस इभको लागि ‘अकुपेन्सी ‘राम्रो रहेको छ। विदेशी पर्यटक क्रिसमसको समयमा नेपाल कम आउने भएकोले अहिले नेपाली र भारतीय पर्यटक होटलले अकुपेन्सी धानेको त्यहाँका एक कर्मचारीले बताए।

उनले भने, ‘७५ प्रतिशत हारहारीमा बुकिङ छ। क्रिसमसभन्दा नयाँ वर्षमा भने अकुपेन्सी प्याक हुन्छ।’

त्यस्तै, नगरकोटमा रहेको काभ्या रिसोर्टमा पनि क्रिसमस इभको लागि ६० प्रतिशत भन्दा धेरैले रुम बुक गरेका छन्।

होटलले एक जानको लागि २८ हजार देखि ३९ हजारसम्मको प्याजकेज ल्याएको थियो भने दुई जनाको लागि ३४ हजारदेखि ४४ हजारसम्म अफर ल्याइएको थियो। होटलले प्याकेजमा सनसेट टी विथ होममेड फेस्टिभ ट्रिट, मेडिटेसन, क्रिसमस कारोल, फो कोर्स फेस्टिभ डिनर, बोनफायर विथ मुलेड वाइन, ग्राटिटियुड एक्ससाइज र ब्रकेफास्ट पाउने भनेको छ।   

यता काठमाडौंको सुकेधारामा रहेको मर्क्योर काठमाडौंमा पनि इभसँगै क्रिसमसको दिनका लागि ‘इन्कवाइरी’ राम्रो रहेको छ। इभसम्ममा अफर सोल्डआउट हुनेमा आफूहरु विश्वस्त भएको मर्क्योरका एक कर्मचारीले बताए।  

‘बेलुकासम्ममा सोल्ड आउट हुने सम्भावना धेरै छ। इन्कवाइरी धेरै आइरहेको छ। डिनरको प्याकेज भने सोल्ड आउट छन्,’ उनले भने,‘ आजको दिन नेपालीले धेरै बुकिङ गरेका छन्।’

यस्तै, क्रिसमस इभ र क्रिसमसका लागि डिनर र ब्रन्च अफर ल्याएका धेरै होटलहरुको प्याकेज पनि सोल्ड आउट भएका छन्। हायात सेन्ट्रिक होटलले क्रिसमको लागी ल्याएको प्याकेज सोल्ड आउट भएको जनएको छ। त्यस्तै, म्यारियट काठमाडौंको पनि क्रिसमस अफर आज र भोलि दुवै दिनको लागि सोल्ड आउट भइसकेको छ।

पछिल्लो समय नेपालीहरु चाडपर्व र बिदाका दिन खुलेर खर्च गर्न थालेका छन्। जसकारण दसैं तिहार जस्ता पर्वमामात्रै नभएर अन्य पर्वहरुमा पनि उनीहरु क्रय अनुसारको खर्च गरिरहेको व्यवसायी बताउँछन्।