रविलाई रिहाको आदेशपछि पञ्चेबाजा लिएर नख्खु पुगे रास्वपा कार्यकर्ता, रुपन्देही लगेपछि शुक्रबार मात्र छुट्ने



बिजमाण्डू
२०८२ पुष ३ गते २०:५९ | Dec 18, 2025
रविलाई रिहाको आदेशपछि पञ्चेबाजा लिएर नख्खु पुगे रास्वपा कार्यकर्ता, रुपन्देही लगेपछि शुक्रबार मात्र छुट्ने

काठमाडौं। उच्च अलालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिगो बमोजिमको धरौटी लिएर रिहाको आदेश गर्‍यो। आदेशलगत्तै रविका समर्थक भने कारागार कार्यालय नख्खु पुगेका छन्। तर, रविको रिहाइ बिहीबार हुनेछैन।

Tata
GBIME
Nepal Life

अदालतको आदेशपछि रवि रिहा हुने चर्चाबिच रास्वपाका समर्थक नख्खु पुगेका हुन्। उनीहरुले कारागार कार्यालय अघि नाचगान समेत गरेका थिए।

रवि कारागार स्थानान्तरणपछि नख्खु ल्याइएका हुन्। यसअघि बुटवल इजलासकै आदेशले रवि भैरहवा कारगारमा पुर्पक्षका क्रममा थुनामा थिए।

अब रवि रिहाइको प्रक्रिया जिल्ला अदालत रुपन्देहीमा हुनेछ। उच्चको आदेश अदालत पुगेपछि जिल्लाले थुनामुक्तको प्रक्रिया अघि बढाउनेछ।

सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उच्च र सर्वोच्च समेतको आदेशले रवि पुर्पक्षका क्रममा थुनामा थिए। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था बमोजिम बिगो दाबी गरिएको रकम बराबर धरौती दिएर थुनामुक्तको निवेदन रविले गरेका थिए। जिल्ला अदालतले थुनामुक्तको आदेश अस्वीकार गरे पनि उच्चले जिल्लाको आदेश बदर गरेको हो।

थुनामुक्तका लागि रविले बिगो दाबी गरिएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत दिनुपर्नेछ। उच्च अदालतले जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइका क्रममा बिगो दायित्व बढे तिर्न बुझाउन मञ्जुर गरेमा थुनामुक्त गरिदिन आदेश गरेको हो।