मारुती सुजुकीले इभीका पाटपुर्जा र ब्याट्री भारतमै उत्पादन गर्दै, इ-भिटारा २६ देशमा निर्यात



बिजमाण्डू
२०८२ पुष १ गते १२:१६ | Dec 16, 2025
मारुती सुजुकीले इभीका पाटपुर्जा र ब्याट्री भारतमै उत्पादन गर्दै, इ-भिटारा २६ देशमा निर्यात


काठमाडौं। मारुती सुजुकीले भारतमा पाटपुर्जा र ब्याट्रीहरु उत्पादन गर्दै विद्युतीय सवारीसाधनको बारेमा रहेको प्रयोगकर्ताको संशयलाई कम गर्ने भएको छ। बजारमा इभीमा आकर्षण बढे पनि डिजल/पेट्रोल इन्जिन सवारी प्रयोगकर्ताको ठूलो संख्या नयाँ प्रविधिप्रति ढुक्क देखिएको छैन। त्यसलाई सम्बोधनसँगै आफ्ना उत्पादनलाई रुपान्तरण थाल्न भारतीय अटो उत्पादक कम्पनीले नयाँ रणनीति बनाएको हो।

Tata
GBIME

ब्याट्री र इभी कम्पोनेन्टलाई स्थानीयकरण गर्ने दिशामा मारुती सुजुकीको यो ठूलो कदमले आगामी समयमा भारतको इभी बजारको दृष्टिकोण नै परिवर्तन गर्ने अनुमान भइरहेको छ। भारतमा विद्युतीय कारहरुको उत्साह बढ्दै जाँदा ग्राहकमाझ अझै धेरै प्रश्न र चिन्ताहरु पनि छन्। यसलाई ध्यानमा राख्दै मारुती सुजुकीले नयाँ रणनीति घोषणा गरेको छ।

कम्पनीले आगामी वर्षहरुमा इभी ब्याट्री र अन्य प्रमुख विद्युतीय कम्पोनेन्टको स्थानीय उत्पादन सुरु गर्ने योजना बनाएको छ, जसले लागत घटाउने मात्र नभई ग्राहकको विश्वास पनि जित्नेछ। पछिल्लो समयमा इभीको लागि बजारमा ग्राहकको विश्वास जित्नु पनि महत्त्वपूर्ण मानिएको छ। उत्पादनको भरपर्दो सेवा र व्यापक चार्जिङ पूर्वाधार बिना केवल इभी बिक्री सुरु गर्नु पर्याप्त छैन भन्ने कम्पनीको विश्वास छ।

इभी ब्याट्री र कम्पोनेन्टको स्थानीय उत्पादनले भारतमा नयाँ आपूर्ति शृंखला विकास हुनेछ, जसले एमएसएमईहरूलाई जोड्नेछ र हजारौं प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। साथै, स्थानीयकरणले आयात निर्भरता घटाएर विदेशी मुद्रा बचतमा पनि योगदान पुर्‍याउनेछ।

सरकारको ‘मेक इन इन्डिया’ र पीएलआई योजनासँग यो कदम मेल खाने भएकाले मारुती सुजुकीले सरकारी प्रोत्साहन पनि पाउने सम्भावना छ। यसले दीर्घकालमा इभीको मूल्य घटाई आम उपभोक्तासम्म पहुँच बढाउने अनुमान बजार विश्लेषकहरुको छ।

मारुती सुजुकी आगामी वर्ष २०२६ मा भारतमा आफ्नो पहिलो इलेक्ट्रिक एसयुभी इ-भिटारा लन्च गर्ने तयारीमा छ। यो गाडी कम्पनीको गुजरात हंसलपुरको प्लान्टबाट उत्पादन भइरहेको छ। कम्पनीले ती गाडी युरोपेली बजारमा पठाइरहेको छ।

हाल कम्पनीले ब्याट्रीहरु आयात गरिरहेको छ, तर मारुती सुजुकी इन्डियाका वरिष्ठ कार्यकारी अधिकृत पार्थो बनर्जीका अनुसार ब्याट्री र अन्य आवश्यक इभी पाटपुर्जाको स्थानीयकरण चरणबद्ध रुपमा गरिनेछ। उनी भन्छन् – ‘हाल ब्याट्रीहरु आयात गरिए पनि आगामी वर्षहरुमा भारतमा उत्पादन गर्ने योजना छ।’

मारुती सुजुकीले आर्थिक वर्ष २०३० सम्ममा आफ्नो पोर्टफोलियोमा पाँचवटा इभी मोडेलहरु थप्ने लक्ष्य राखेको छ। त्यतिन्जेल भारतीय अटो उद्योग ५५ लाखदेखि ६० लाख युनिटसम्म बढ्नेछ, जसमा इभीहरुले कुलको १३-१५ प्रतिशत हिस्सा ओगट्नेछन्।

रोचक के छ भने मारुती सुजुकीले पनि इ-भिटारा निर्यात गर्न थालेको छ। हालसम्म लगभग १० हजार युनिट २६ देशहरुमा पठाइएको छ। भारत र नेपाली बजारमा भने कम्पनीले उक्त गाडी सार्वजनिक गरिसकेको छैन।