काठमाडौं। मोटरसाइकलमा भारतबाट नेपाल आएका एक युवकलाई सर्लाहीमा प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कौडेना-६ छपकैयाका ३० वर्षीय फिरोज खान छन्।
उनी विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बेलुकी नियन्त्रणमा लिएको हो।
उनी ‘अन टेस्ट’ मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै थिए। रोकेर जाँचका क्रममा उनको साथबाट नोट बरामद भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि गत आइतबार प्रहरीले सर्लाहीकै ब्रह्मपुरी-४ बाट स्रोत नखुलेको नगद १२ लाख २९ हजार रूपैयाँसहित भारतको बिहार सीतामढी ग्राम पंचायत सोनवर्सा-२ का २९ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको थियो।
बीआर ३० वाई ३२८७ नम्बरको मोटरसाइकलमा महतो पारिबाट नेपाल आएका थिए। जाँचका क्रममा उनको साथबाट रकम बरामद भयो, उनले त्यसको विश्वस्त स्रोत खुलाउन नसक्दा अझै हिरासतमा छन्।











