फिल्म ‘परान’ले घरेलु बजारमै उठायो १६.९७ करोड, दोस्रोमा’जेरी अन टप’को १२.२६ करोड



बिजमाण्डू
२०८२ मंसिर २३ गते १४:१४ | Dec 9, 2025
फिल्म ‘परान’ले घरेलु बजारमै उठायो १६.९७ करोड, दोस्रोमा’जेरी अन टप’को १२.२६ करोड


काठमाडौं। पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन्। गत वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ले ऐतिहासिक व्यापार गरेपछि नेपाली सिनेमाको व्यापार राम्रो छ। लगानी नै उठाउन मुस्किल परेका अवस्था पार गर्दै नेपाली फिल्म १० करोडभन्दा माथिको व्यापार गर्नु धेरैका लागि नौलो छ।

Tata
GBIME

चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मंसिर २० गतेसम्मको तथ्यांक अनुसार ‘परान’ले करिब रु १७ करोड रुपैयाँको व्यापार गरेको छ। गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त फिल्मले घरेलु बजारमा १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको छ।

बसाइसराइ र पारिवारिक कथामा तयार फिल्म दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्। ‘परानलाई दर्शकले आफैंले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौं। बुबाछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ,’ निर्देशक आचार्यले भने, ‘यो हाम्रै समाजको कथा हो।’

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज कलाकारको अभिनय रहेको यो फिल्मका लागि हालसम्म ५ लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन्। फिल्ममा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्।

गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले ३ लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै १२ करोड २६ लाख ६ हजार २४० रुपैयाँको व्यापार गरेको छ। अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गी लगायतको अभिनय रहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।

सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त फिल्म सरोज न्यौपानेले निर्माण गरेका हुन्।

कवि उपेन्द्र सुब्बाद्वारा निर्देशित फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ ले २ लाख ७ हजार ७१४ टिकट बिक्री गरी ६ करोड २३ लाख ६९ हजार २०० रुपैयाँको व्यापार गरेको छ। दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको फिल्ममा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ। यो फिल्म गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको हो।

बाल गायकका रुपमा परिचित अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार फिल्म ‘मनबिनाको धन’ ले सोही अवधिसम्म ३ करोड ७९ लाख २ हजार ८७९ रुपैयाँको व्यापार गरेको छ। टंक बुढाथोकीद्वारा निर्देशित उक्त फिल्मका लागि हालसम्म १ लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन्। फिल्म गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको हो। गायक दर्जीसँगै नीता ढुंगाना, सरोज खनाल, एआर बुढाथोकी लगायतका कलाकारले अभिनय गरेका छन्।

यही मंसिर १२ देखि प्रदर्शनरत ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा २८ लाख २ हजार ३४६ रुपैयाँको व्यापार गरेको छ। एकता पौडेलद्वारा निर्देशित उक्त फिल्म प्रदर्शनमा आएयता ८ हजार ४३६ वटा टिकट बिक्री भएका छन्। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी लगायत कलाकार छन्। रासस