काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिमबहादुर महर छन्।
उनले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।










