न्यूयोर्क। नेटफ्लिक्सले वार्नर ब्रदर्स डिस्कभरी खरिद गर्ने सम्झौता गरेको छ। वार्नर ब्रदर्स हलीवुडको प्रसिद्ध कम्पनी हो, जसले ‘ह्यारी पोर्टर’ बनाएको हो भने एचबीओ म्याक्स जस्ता लोकप्रिय सामग्री उत्पादन गर्दै आएको छ।
७२ अर्ब डलरमा भएको खरिद सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो। यो खरिदबिक्री सम्झौताले दुई ठूला टेलिभिजन र फिल्म उद्योगका खेलाडीलाई एकै कम्पनी अन्तर्गत ल्याउनेछ।
यदि नियामकहरूले अनुमति दिए भने यसले संसारका दुई ठूला स्ट्रिमिङ सेवा (नेटफ्लिक्स र एचबीओ म्याक्स) एउटै स्वामित्वमा ल्याउनेछ। यससँगै वार्नरको टेलिभिजन र मोसन पिक्चर डिभिजन, डीसी स्टुडियोज लगायत, नेटफ्लिक्सको विशाल लाइब्रेरी र उत्पादन क्षमतासँग जोडिनेछ।
तर यो सम्झौतामा एन्टिट्रस्ट (प्रतिस्पर्धा विरोधी) कानुनी जाँच सम्भावित छ, किनभने यसले फिल्म निर्माण र स्ट्रिमिङ सदस्यतामा ठूलो प्रभाव पार्न सक्छ।
फोरेस्टरका अनुसन्धान निर्देशक माइक प्रौलक्सका अनुसार, ‘नेटफ्लिक्स आजको शीर्ष स्ट्रिमिङ सेवा हो। एचबीओ म्याक्ससँग जोडिएपछि यसले स्ट्रिमिङ उद्योगमा अझ शक्तिशाली स्थान बनाउनेछ।’
सम्झौताको अनुसार, वार्नरको प्रत्येक सेयरको मूल्य २७.७५ डलर राखिएको छ, जसले कुल मूल्य ८२.७ अर्ब डलर (ऋणसहित) पुग्छ। यो लेनदेन वार्नरले आफ्नो केबल अपरेसन अलग गर्न सकेपछि आगामी १२–१८ महिनामा सम्पन्न हुने अपेक्षा गरिएको छ। सम्झौतामा सीएनएन र डिस्कभरी नेटवर्कहरू समावेश छैनन्।
एक मुख्य प्रश्न भनेको, एचबीओ म्याक्स र नेटफ्लिक्स अलग रहने कि मर्ज भएर ‘मेगा स्ट्रिमिङ सेवा’ बन्ने भन्ने हो। प्रौलक्सका अनुसार ग्राहकले एउटै सदस्यता बिल वा बन्डल प्रमोसनमार्फत केही राहत पाउन सक्ने सम्भावना छ।
नेटफ्लिक्सले भनेको छ कि एचबीओ र एचबीओ म्याक्सका कार्यक्रमहरूले आफ्ना सदस्यलाई अझ बढी गुणस्तरीय सामग्री उपलब्ध गराउनेछ।
तर आलोचकहरूले चेतावनी दिएका छन् कि यस सम्झौताले फिल्म थियटर र फिल्म उद्योगमा नकारात्मक असर पार्न सक्छ। सिनेमा युनाइटेडले भनेको छ, ‘नेटफ्लिक्सको व्यवसाय मोडल थिएटर जोगाउने प्रकारको होइन। सिनेमाघर बन्द हुने, समुदायमा असर पर्ने र रोजगारी घट्ने जोखिम छ।’
राइटर्स गिल्ड अफ अमेरिका र प्रोड्युसर्स गिल्ड अफ अमेरिकाले पनि यो सम्झौतामा कार्यकर्ताको अधिकार र सिनेमाघर वितरण सुरक्षित हुनुपर्ने बताएका छन्।
सम्झौता कार्यान्वयनमा आयो भयो वार्नर ब्रदर्स (१०२ वर्ष पुरानो) र नेटफ्लिक्स एउटै स्वामित्वमा रहनेछन्। अन्य ‘लिगेसी स्टुडियो’ भने डिज्नी, पारामाउन्ट, सोनी पिक्चर्स र युनिभर्सल रहन्छन्। राजनीतिक दृष्टिकोण पनि महत्त्वपूर्ण छ। सेनेटर एलिजाबेथ वाररेनले भनेकी छन्, ‘यो सम्झौता एन्टी-मोनोपोलीको दुःस्वप्न जस्तो देखिन्छ।’
नेटफ्लिक्स र वार्नरले अघि बढ्ने योजना अनुसार एचबीओ, एचबीओ म्याक्स, वार्नर टेलिभिजन, मोसन पिक्चर ग्रुप र डीसी स्टुडियोज नयाँ स्ट्रिमिङ र स्टुडियो कम्पनीमा समाहित हुनेछन्। सीएनएन, डिस्कभरी, टीएनटी स्पोर्ट्स लगायतका नेटवर्कहरू नयाँ पब्लिक कम्पनी डिस्कभरी ग्लोबलमा समाहित हुनेछन्।
वार्नरले अक्टोबरमा आफ्नो व्यवसायको केही भाग बिक्री खुला राख्ने संकेत दिएको थियो। अब नेटफ्लिक्सको प्रस्ताव स्वीकृत भएपछि डिस्कभरी ग्लोबल २०२६ को तेस्रो चौमासिकमा नयाँ पब्लिक कम्पनी बन्ने तयारीमा छ। (एपी)










