जेनजी आन्दोलनमा ह्यातको क्यासिनो जोगाउन बोलाएकै समूहबाट १४ करोड लुटपाट, यस्तो छ घटना



सविन ढकाल
२०८२ मंसिर १६ गते १८:४८ | Dec 2, 2025
जेनजी आन्दोलनमा ह्यातको क्यासिनो जोगाउन बोलाएकै समूहबाट १४ करोड लुटपाट, यस्तो छ घटना

काठमाडौं। जेनजी आन्दोलन विध्वंशमा परिणत भएको भदौ २४ का फोटो-भिडियो सामाजिक सञ्जालमा अझै भेटिन्छन्?

Tata
GBIME
Nepal Life

आपराधिक घटनामा संलग्नको पहिचान हुने भएपछि कत्तिले आफ्ना पोस्ट मेटे, कत्तिले सकेसम्म पोस्ट गर्नेलाई मेट्न लगाए। अब धेरै थरि फोटो-भिडियो सजिलै भेटिंदैनन्। तिनै नभेटिनेमध्येको एउटा भिडियो हो- भाटभटेनीको चुच्चेपाटीस्थित स्टोर तोडफोड र आगजनीको।

जुन एउटा ठूलो लुटपाटको घटना अनुसन्धानमा सहायक सूत्र भएको छ। एउटा भीड चुच्चेपाटीबाट पाँचतारे होटल ह्यात रिजेन्सीतर्फ लागेको दृश्य भिडियोमा छ। एउटा भीड ह्यात्तको क्यासिनोमा पुग्यो। त्यस दिन ह्यातमा जे भयो त्यो अनपेक्षित थियो। भीडमा सहभागीले होटल र क्यासिनोमा तोडफोड गरे।

क्यासिनोले १४ करोड रुपैयाँ नगद लुटपाट भएको जाहेरी प्रहरीमा दियो। जाहेरी अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गर्‍यो। अनुसन्धानबाट बिस्तारै खुल्दैछ त्यो दिन क्यासिनो प्राइडमा के भयो, कसले उठायो त्यत्रो नगद रकम?

कपन घर भएका ‘रने’ भनिने रञ्चित खड्गी बौद्धस्थित ह्यात रिजेन्सी होटलमा सञ्चालित प्राइड क्यासिनोमा काम गर्थे। कपन क्षेत्रमा आपराधिक पृष्ठभूमिका रने गुन्डागर्दी र असुलीको धन्दामा चर्चित थिए। क्यासिनोमा जागिर भएकै आडमा ग्राहक ल्याउनेदेखि अरु अवैध धन्दामा उनी जोडिएका थिए।

केही समय क्यासिनोमा काम गरेपछि रनेले त्यहीँ लफडा गर्न थाले। त्यसपछि उनलाई क्यासिनोमा प्रवेश निषेध भयो। क्यासिनोबाट रने बाहिरिएपछि उनीजस्तै गुन्डागर्दीमा जमेका सेठ्ठी भनिने दावा शेर्पाले काम थाले। गुन्डा नाइके दावा लामा निकट मानिन्छन् सेठ्ठी।

लामा भारतको सिक्किममा सञ्चालित क्यासिनो र जुवाका गतिविधिमा जोडिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको भनाइ छ। लामा पटक-पटक पक्राउ परेका व्यक्ति हुन्। २०७३ चैतमा उनीमाथि काठमाडौंको गौरीघाटमा गोली प्रहार समेत भएको थियो।

क्यासिनो प्राइडमा ‘इन्ट्री’ समेत नपाएपछि रनेको ‘इगो हर्ट’ भएको थियो। कपन क्षेत्रमा उनको गुन्डागर्दी ‘पेसा’ जारी नै थियो।

भदौ २४ गते चुच्चेपाटीस्थति भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड मच्चिंदा रने पनि भिडमा देखिए।

भाटभटेनीमा आगजनीपछि रनेका लागि क्यासिनोसँग बदला लिने ‘मौका’ मिल्यो। सँगै रहेका केहीलाई उक्साएर उनी होटलतिर लागे। ह्यातभन्दा पनि उनको ध्यान क्यासिनोतिर थियो। उनको अगुवाइमा क्यासिनो निसानामा पर्‍यो।

‘सीसी क्यामराको फुटेज हेर्दा भाटभटेनीबाट त्यो समूह हिंडेर होटेलतिर छिरेको देखिन्छ। त्यस हुललाई रनेले लिड गरेको देखिन्छ,’ अनुसन्धान खटिएका एक प्रहरी अधिकृतले सुनाए।

क्यासिनोमा रनेको समूहले तोडफोड र लुटपाट गर्न थाल्यो। क्यासिनोमा रनेको समूहले तोडफोड गरेपछि सञ्चालकले शेर्पालाई फोन गरेर घटनाबारे सुनाए। शेर्पाले क्यासिनोमा टेबल सञ्चालन गर्दै आएका थिए। त्यही कारण सञ्चालकले शेर्लापाई टेलिफोन गरेर क्यासिनोलाई थप क्षति हुनबाट जोगाउन खोजेका थिए।

तर रनेको समूहले गरेको तोडफोडबाट जोगाउन भनेर बोलाइएका शेर्पाको समूहले क्यासिनो छिरेर उल्टै पैसा लुटपाट गर्न थाल्यो।

रनेको समूहले तोडफोड थालेको १० मिनेटमै शेर्पाको समूह क्यासिनोमा छिरेको देखिन्छ। शेर्पालाई पैसा कहाँ राखिएको छ भन्ने थाहा थियो। त्यसैले उनले क्यासिनोमा रहेको रकम उठाए। अनि उनी फरार भए।

‘१४ करोड रुपैयाँ लुटिएको भन्ने उजुरीको अनुसन्धान गर्ने क्रममा दुई जना समातिएका छन्। बाँकीको हामी खोजी गर्दैछौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने।

दावा शेर्पा समूहमा काभ्रेली ग्रुप नामबाट चर्चित ग्याङ पनि जोडिएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। लुटपाटमा संलग्न शेर्पा लगायतहरुले काठमाडौं छोडेको देखिएको छ। यसबीच उनीहरू कास्कीसहित विभिन्न जिल्लामा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार उपलब्ध भएका सीसी क्यामरा फुटेजबाट नगद लुटपाट भएको देखिन्छ।

‘पैसाको बिटा दिएको फुटेज हेर्दा पनि रकम लुटिएको देखिन्छ। पक्राउ परेका रनेले रिसइबीकै कारण तोडफोडमात्र गरेको बताएका छन्,’ एक अनुसन्धान अधिकृतले सुनाए।

प्रहरीले मंसिर १२ गते दुई जनालाई बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको थियो जसमध्ये एकजना रने हुन्। जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर लगायतमा ७ दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। बाँकी संदिग्धको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

क्यासिनोले नगद लुटपाटबाहेक तोडफोड र आगजनीबाट भएको थप क्षति भएको बताएको छ। घटनापछि बन्द होटल अब कहिले पुनः सञ्चालनमा आउँछ भन्ने टुंगो छैन।