फ्रेञ्च पूर्वराष्ट्रपति सार्कोजी ल्याउँदैछन् २० दिने जेल अनुभवको पुस्तक



बिजमाण्डू
२०८२ मंसिर ९ गते १०:१८ | Nov 25, 2025
फ्रेञ्च पूर्वराष्ट्रपति सार्कोजी ल्याउँदैछन् २० दिने जेल अनुभवको पुस्तक
निकोलस सार्कोजी । फाइल तस्बिर : एएफपी


आफ्नो जेल बसाइका अनुभव समेटेर ‘डायरी अफ प्रिजनर’ नामक पुस्तक सार्वजनिक गर्न लागेको खबरले फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी पुनः चर्चामा छन्।

Tata
GBIME
Nepal Life

सार्कोजीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए। अदालतले उनलाई २० दिनको जेल सजाय सुनाएको थियो।

उनले २०२४ मा पेरिसको ला सान्टे जेलमा ९ वर्गमिटरको कोठामा बस्नु परेको थियो। कोठा सानो र साँघुरो थियो, सुविधा कम थियो। हल्लाले वातावरण निकै सकसपूर्ण रहेको उनले उल्लेख गरेका छन्। उनले जेलको पहिलो रात अत्यन्त कठिन भएको तर मानव मनोबल कठिन परिस्थितिमा झन् बलियो बन्छ भन्ने अनुभूति भएको लेखेका छन्।

फ्रेञ्च कानुनअनुसार सार्कोजीमाथिको आरोप निकै गम्भीर थियो। अभियोग अनुसार उनले आफ्नो पदीय पहुँचको प्रभाव उपयोग गर्दै एक न्यायाधीशसँग गोप्य कानुनी जानकारी प्राप्त गर्न खोजेको दाबी गरिएको थियो, जसलाई फ्रान्सेली कानुनमा भ्रष्टाचार र प्रभाव दुरुपयोग मानिन्छ। अदालतमा प्रस्तुत प्रमाणका आधारमा उनी दोषी ठहरिए। सजायको अवधि छोटो भए पनि यो प्रकरण फ्रेञ्च राजनीतिमा चर्चित रह्यो।

यो पुस्तक आगामी डिसेम्बर १० मा प्रकाशित हुने २१० पृष्ठको उनको पुस्तक फायार्ड प्रकाशनबाट बजारमा आउनेछ। फायार्ड भिन्सेन्ट बोलोरे समूहसँग सम्बन्धित प्रकाशक हो। पुस्तकमा उनले जेलको दैनिकी, मानसिक अवस्था, राजनीति, न्यायिक प्रक्रिया र व्यक्तिगत आत्मचिन्तनका विषय विस्तृत रूपमा लेखेको बताइएको छ।

पुस्तक प्रकाशनको समय पनि रोचक छ। सार्कोजी अहिले नै अदालतमा आफ्नो मुद्दाको पुनरावेदनको प्रक्रियामा छन्, र यस पुस्तकले सार्वजनिक धारणा तथा न्यायिक बहस दुवैमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । धेरै विश्लेषकले यो पुस्तकलाई राजनीतिक रणनीति, जनसमर्थन पुनःआकर्षण गर्ने प्रयास र आफ्नो पक्षको कथा सार्वजनिक गर्ने माध्यमका रूपमा हेरेका छन्।

फ्रान्सेली राजनीतिमा यसअघि नै विभाजनकारी व्यक्तित्वका रूपमा चिनिएका सार्कोजीको जेल अनुभव र त्यसबारे लेखिएको पुस्तकले जनमानसमा नयाँ बहस र प्रतिक्रिया उत्पन्न गर्ने निश्चित छ। यो पुस्तकले उनी स्वतन्त्र भएका बेलाको आत्मस्वीकृति मात्र होइन, फ्रान्सेली राजनीतिक व्यवस्था, न्याय प्रणाली र सत्ता–प्रयोगका प्रश्नहरू पनि पुनः सतहमा ल्याउने देखिन्छ।

७० वर्षीय सार्कोजी महत्त्वाकांक्षी राजनीतिज्ञ मानिन्छन्। कानुनी पृष्ठभूमि भएका उनको राजनीतिको क्षेत्रमा प्रवेश २८ वर्षको उमेरमै भएको थियो। सुरुवात न्युयली–सुर–सेनमा मेयरको रूपमा भएको थियो। कडा कानुनी व्यवस्था, नीति र आर्थिक सुधारका पक्षपाती उनी आफूलाई ‘आउटसाइडर’ भन्थे। आफ्ना विचार प्रष्ट राख्ने प्रभावशाली क्षमताले उनलाई फ्रान्सको अधिकारवादी राजनीतिमा अगाडि लयाउन मद्दत गरेको थियो।

सार्कोजी फ्रान्सका गृह, वित्त र आन्तरिक मन्त्री हुँदै २००७–१२ मा राष्ट्रपति बनेका थिए। कडा सुरक्षा नीति, आर्थिक सुधार र सक्रिय कूटनीतिका कारण उनी लोकप्रिय थिए, सँगै विवादमा पनि पर्दै आएका थिए।