काठमाडौं । सिन्धुपाल्चोकका नवराज राउतले करिब डेढ वर्षअघि अत्तर (पर्फ्युम) व्यवसाय सुरु गरेर अहिले सुगन्धको दुनियाँमा आफ्नो छाप छोड्दै छन्। हाल काठमाडौंको मुलपानीमा बस्दै आएका उनले ‘भ्यारीगुड पर्फ्युम’ नाम दिएर स्वदेशमै अत्तर उत्पादन गरिरहेका हुन्।
४४ वर्षीय राउतले आफ्नो करिअर देउराली जनता फार्मास्यूटिकलबाट सुरु गरेका थिए। त्यसपछि उनले प्लान इन्टरनेसनल, आरएआर फर्मा लगायतका कम्पनीमा पनि अनुभव बटुले। व्यवसायमा हात हाल्नुअघि उनी शिवम् फर्मामा ५ वर्षसम्म साझेदारका रूपमा पनि कार्यरत थिए।
साझेदारीमा काम गर्दागर्दै उनले भारतीय इन्फ्लुएन्सर राज समानी र र्यापर किङले उत्पादन गरेको भारतीय ब्रान्ड ‘ब्ल्यांको’ पर्फ्युमको विज्ञापन देखे। यो ब्रान्डलाई नेपाल भित्र्याउँदा घाटा नहोला भन्ने सोचेर उनले आधिकारिक बिक्रेता बन्ने निर्णय गरे।
नवराज भन्छन्, ‘मलाई पर्फ्युम असाध्यै मनपर्छ। ब्ल्यांको अनलाइनमा देख्नेबित्तिकै मन पर्यो। विभिन्न च्यानल र लिंकहरुमा मेसेज गरेर महिनौंको प्रयासपछि म ब्ल्यांकोका लागि नेपालको आधिकारिक बिक्रेता बनेको हुँ।’

नवराजले ‘माउन्ट अफ एक्सेल’ नामक कम्पनीमार्फत ब्ल्यांको पर्फ्युमको बिक्री-वितरण गरिरहेका छन्। कम्पनीको नामबारे उनी भन्छन्, ‘माउन्टले नेपाललाई चिनाउने हिमाललाई जनाउँछ भने एक्सेल राख्नुको कारण हामीले अरुको ब्रान्डलाई राम्रोसँग बिक्री गर्ने भएकाले हो।’
करिब १७ महिनादेखि ब्ल्यांकोको व्यापार गरिरहेका नवराजले पछि अर्को अन्तर्राष्ट्रिय ब्रान्ड अजमलको पर्फ्युम र किउरा ब्रान्डको होम अप्लायन्सको व्यापार पनि सुरु गरे। उनको मुख्य व्यवसाय भने पर्फ्युम र अत्तर नै हो।

उनले पर्फ्युम र होम अप्लायन्सको सामग्रीमा १ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् भने नेपाली अत्तर उद्योगमा मात्र २० लाख रुपैयाँ लगानी गरेका छन्। ब्ल्यांको पर्फ्युमको व्यापार गरिरहेकै बेला अत्तरको व्यवसायमा लागेका कतारमा अत्तर कम्पनीमा काम गरिसकेका एक साथीसँग सहकार्य गरेपछि ‘भ्यारीगुड पर्फ्युम’ उत्पादन सुरु भएको उनले बताए।
नेपालमा अत्तरको प्रयोगकर्ता बढ्दै गएको र यसको माग बढेको बेला स्वदेशमै उत्पादन सुरु गर्दा व्यवसाय र देश दुवैको प्रचार हुने नवराजको भनाइ छ।



नवराजले अत्तर बनाउन थालेको करिब ११ महिना भयो। ब्ल्यांको भित्र्याएको ६ महिनापछि अत्तर बनाउन उनले सुरु गरेका हुन्। काठमाडौंको मुलपानीमै उनले कारखाना खोलेका छन्। आवश्यक कच्चा पदार्थ विदेशबाट ल्याइए पनि प्याकेजिङ, रिफर्म र ब्लेन्डिङको काम नेपालमै हुन्छ। नवराजका अनुसार कतारमा सप्लाई हुने कम्पनीको अल्कोहल मात्र विदेशबाट ल्याइन्छ, अरू सबै नेपालमा नै उत्पादन हुन्छ।
नेपालमा भ्यारीगुड अत्तरका २६ प्रकारका उत्पादन बन्छ। ती अत्तरको मूल्य १०० रुपैयाँदेखि ४८० रुपैयाँसम्म छ। कारखानामा बन्ने अत्तरमा ‘डाउन्ट टु अर्थ’ धेरैको रोजाइमा पर्ने गरेको उनी बताउँछन्। उनको आउटलेटमा ३ हजार रुपैयाँसम्म पर्ने पर्फ्युम पाइन्छ।
अत्तर सस्तो र लामो समय टिक्ने भएकाले पछिल्लो समय युवाहरूमाझ यो निकै लोकप्रिय बन्दै गएको उनको बुझाइ छ।



माउन्ट अफ एक्सेल कम्पनीले हाल बौद्ध र जोरपाटीमा दुईवटा आउटलेटमार्फत आफ्ना उत्पादनहरू बिक्री गरिरहेको छ। आउटलेटसँगै अनलाइन प्लाटफर्ममार्फत पनि अत्तरको व्यापार भइरहेको छ। अनलाइनमा कम्पनीका उत्पादनले फाइभ स्टार रेटिङ पाउनुले ग्राहकको सन्तुष्टि देखिएको नवराज बताउँछन्।
भविष्यमा नवराजले देशका विभिन्न सहरमा आउटलेट थप्ने र अत्तरलाई अमेजन मार्फत देशबाहिर पनि बिक्री गर्ने लक्ष्य बोकेका छन्। एक वर्षभित्रै यो योजना पूरा गर्ने उनको लक्ष्य छ। यस्तै, नेपालभित्रै ‘भ्यारीगुड’ को आउटलेट खोल्न चाहनेहरु सँग पनि उनी सहकार्य गर्नेबारे सोचिरहेका छन्।



‘अहिले दुईवटा आउटलेटमा मात्रै संचालन गरिरहेका छौं। विस्तारै विभिन्न सहरमा आउटलेट थप्दै जान्छौं। अहिलेलाई अनलाइनबाट धेरै व्यापार भइरहेको छ,’ उनले भने।
उनले विदेशमा समेत प्रोडक्ट लैजानुको एकमात्र कारण नेपाली ग्राहकहरुबाट पाएको प्रतिक्रिया नै भएको सुनाए। भने, ‘हाम्रो अत्तर एकपटक लगाउने बित्तिकै ग्राहकहरुले मनपराउनु हुन्छ। अरुको भन्दा हाम्रो सुगन्ध फरक छ। हाम्रो आउटलेटमा आउनेहरुले एउटा अत्तर त लग्नु नै भएको हुन्छ।’










