राजामौली ल्याउँदैछन् ‘वाराणसी,’ टाइम ट्राभलमा आधारित कथामा हिन्दू मिथकमाथि प्रयोग



बिजमाण्डू
२०८२ कात्तिक ३० गते १५:४८ | Nov 16, 2025
राजामौली ल्याउँदैछन् ‘वाराणसी,’ टाइम ट्राभलमा आधारित कथामा हिन्दू मिथकमाथि प्रयोग


हैदराबाद(भारत)। ‘आरआरआर’ र ‘बाहुबली’ जस्ता सफल फिल्म ल्याउने निर्देशक एसएस राजामौलीले आफ्नो सबभन्दा महत्त्वाकांक्षी नयाँ फिल्म घोषणा गरेका छन्। फिल्म हो – वाराणसी।

Tata
GBIME
Nepal Life

भारतीय सिनेमाको आकार, स्तर र विश्व–पहिचानलाई पुनर्परिभाषित गर्ने निर्माता–निर्देशकका रूपमा चिनिएका राजामौलीले शनिबार हैदराबादमा आयोजित कार्यक्रममार्फत फिल्मको घोषणा गरे, जहाँ हजारौँ उत्साहित दर्शक पहिलो झलक हेर्न भेला भएका थिए।

पहिले ‘ग्लोब ट्रोटर’ कोड नाममा चिनिएको फिल्म ‘वाराणसी’ को कथा निकै गोप्य नै राखिएको छ। तर, करिब चार मिनेटको भिडियोमा समय–यात्रामा आधारित, दृश्यात्मक रूपमा अत्यन्त समृद्ध र हिन्दू मिथकका केही कथाबाट प्रेरित संसार देखाइएको छ।

फिल्मको नाम हिन्दू धर्मको आध्यात्मिक केन्द्रका रूपमा मानिने सहर वाराणसीबाट लिइएको हो। राजामौलीले फिल्म आइम्याक्स फर्म्याटमा प्रदर्शित हुने र सन् २०२७  मा रिलिज हुने जनाए। ‘हेयर यु गो… वाराणसी टु द वर्ल्ड’ उनले सामाजिक सञ्जाल एक्समा लेखे।

कार्यक्रममा उनले फिल्मका केही दृश्यहरू रामायणको महत्त्वपूर्ण प्रसंगसँग सम्बन्धित रहेको पनि संकेत गरे। रामायण भगवान् रामको जीवनमा आधारित हिन्दू महाकाव्य हो।

फिल्ममा तेलुगु सुपरस्टार महेश बाबु, प्रियंका चोपड़ा जोनस र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन्। बलिउड स्टारका रूपमा विश्वभर परिचित चोपड़ा जोनस केही वर्षका हलिउड प्रोजेक्टपछि यही फिल्मबाट भारतीय सिनेमामा फर्किएकी छन्।

रिलिज गरिएको पोस्टरमा उनी मन्दाकिनी नामक पात्रका रूपमा पहेंलो सारीमा हातमा पेस्तोल लिएर चट्टानको छेउमा उभिएको देखिन्छिन्।

महेश बाबु र राजामौलीबीच यो पहिलो सहकार्य हो। पहिलो झलकमा बाबु रगतले लत्पतिएको कठोर योद्धाका रूपमा हातमा त्रिशूल समाई सेतो साँढेमा सवार देखिन्छन्। शनिबारको कार्यक्रममा उनी मेकानिकल सेतो साँढे चढेर स्टेजमा आएका थिए।

‘यो जीवनमै एकपटक आउने जस्तो प्रोजेक्ट हो,’ बाबुले रामोजी फिल्म सिटी (तेलुगु फिल्म उद्योगको केन्द्र) मा टिजर सार्वजनिक गर्दै भने, ‘म सबैलाई गौरव दिलाउँछु। पुरै भारतलाई हाम्रो कामले गर्व हुनेछ।’

धेरै टलीवुड प्रशंसकहरू महेश बाबुलाई प्रत्यक्ष हेर्न टाढा–टाढाका गाउँ/सहरबाटै आएका थिए।
एक प्रशंसक मानिदीप रायुडू भन्छन्, ‘यो अब टलीवुड मात्र होइन, विश्वव्यापी भइसकेको छ। हाम्रो सुपरस्टार महेश बाबु अब क्षेत्रीय मात्र होइन, विश्व स्तरका कलाकार हुन्।’

हजारौं दर्शकले ११० बाइ १३० फिट (३३.५ x ३९.५ मिटर) को विशाल पर्दामा उक्त फिल्मको पहिलो झलक हेरे। वाराणसी सहरका प्रतिरूपहरू, रंगीन बत्तीहरू र आतिशबाजीले कार्यक्रम उत्सवजस्तै बनेको थियो। दर्शकहरूले नयाँ र पुराना तेलुगु गीतको धुनमा नाच्दै माहोललाई झनै जिवन्त बनाए।

तेलुगु–भाषी फिल्म उद्योग (टलिवुड) ले आफ्नै पहिचान बनाएको छ। अत्यधिक एक्सन, मिथक–प्रेरित कथाहरू, र भव्य दृश्यशैलीका कारण टलिवुडका फिल्मको बजार बिस्तारित छ। यो उद्योगको पछिल्लो व्यावसायिक सफलताको धेरै श्रेय राजामौलीकै कामले पाएको छ।

उनको २०२२ मा आएको ‘आरआरआर’ (राइज, रोअर, रीभोल्ट)ले उनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍यायो। ब्रिटिस शासनका बेलाको भारतको समयमा आधारित तीन घण्टे कथा रहेको उक्त फिल्मले विश्वभर बक्स अफिस सफलतासँगै स्ट्रिमिङमा पनि सनसनी मच्चाएको थियो। उक्त फिल्मको ‘नाटु नाटु’ गीत ‘सर्वश्रेष्ठ मौलिक गीत’ का लागि अस्कर विजेता बन्यो।

त्यसअघि ‘बाहुबली’का दुई भाग (२०१५ र २०१७) ले भारतमा बक्स अफिस रेकर्ड तोड्यो र टलिवुडलाई पश्चिमी दर्शकसमक्ष पुर्‍यायो। हालै मात्र दुवै भागलाई जोडेर बनाइएको ‘बाहुबली  द इपिक’ सिनेमा हलहरूमा पुनःरिलिज भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजामौलीको ‘वाराणसी’ भारु १० अर्ब रुपैयाँ बजेटको हुनेछ। सुटिङका लागि करिब ५० करोडको एउटा विशाल सेट रामोजी फिल्म सिटी (हैदराबाद) मा बनाइएको छ। ‘हिन्दुस्तान टाइम्सले यो सेटलाई ‘भारतीय सिनेमामा अबसम्मकै महँगो सेट’ उल्लेख गरेको छ। फिल्मलाई ग्लोबल लोकेसनहरू (जस्तै: केन्या) मा पनि छायांकन गर्ने योजना छ, जसले बजेट अझ उच्च बनाउनेछ।