ह्वेनसाङले देखेको १४०० वर्षअघिको व्यापार दुश्चरित्र किन आज पनि हाम्रो दैनिकी? सुरेन्द्र पौडेलको विचार



बिजमाण्डू
२०८२ कात्तिक २६ गते ०६:२२ | Nov 12, 2025
ह्वेनसाङले देखेको १४०० वर्षअघिको व्यापार दुश्चरित्र किन आज पनि हाम्रो दैनिकी? सुरेन्द्र पौडेलको विचार


हामी किन सानो फाइदाका लागि ठूलो मूल्य त्याग्छौँ? कतै बाटो काट्दा, पसलमा सामान किन्दा वा कर तिर्दा पनि सोही व्यवहार दोहोरिन्छ। त्यो सोच्ने बित्तिकै, सयौँ वर्षअघिका यात्रु ह्वेनसाङले यात्रामा उल्लेख गरेका स्मरणीय हुन्छ, जसले यस्तै देखेका थिए।

Tata
GBIME

चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङ चीनको हेनान प्रान्तमा सन् ६०२ ईस्वीमा जन्मिएका थिए। उनी अत्यन्त जिज्ञासु र विद्वान् थिए। बौद्ध धर्मको गहिरो अध्ययनका लागि उनले सन् ६३० ईस्वीमा चीनबाट यात्रा सुरु गरे र भारत, नेपाल हुँदै सन् ६४५ ईस्वीसम्म लगभग १७ वर्ष लामो यात्रामा रहे। भारतमा उनले नालन्दा विश्वविद्यालयमा करिब ५ वर्षसम्म अध्ययन गरे। नालन्दा त्यतिबेला सम्पूर्ण एसियाको सबैभन्दा ठूलो बौद्ध शिक्षालय मानिन्थ्यो। त्यहाँ उनले बौद्ध दर्शन, तर्कशास्त्र, संस्कृत भाषा र विषयमा अध्ययन गरे। ह्वेनसाङले नालन्दाको अत्यन्त प्रशंसा गरेका छन्। उनले लेखेका छन्, यहाँका विद्वान् समुद्र जस्तै विशाल ज्ञानका धनी छन्। शिक्षक र विद्यार्थीहरू सादा, अनुशासित र धर्मनिष्ठ छन्। उनले नालन्दालाई बुद्ध धर्मको जीवित प्रतीक मानेका थिए।

ह्वेनसाङको ऐतिहासिक यात्रा विवरण ‘दा टाङ् सी यु जी’मा नेपालबारे सातौं शताब्दीको महत्त्वपूर्ण जानकारी छ। स्वयं नेपालको भ्रमण गरेका थिएनन्, तर उनले भारतमा अन्य यात्रीहरू र व्यापारीहरूबाट सुनेका कुराका आधारमा नेपाललाई एउटा पहाडी राज्यका रूपमा वर्णन गरेका छन्। उनले नेपालीहरूको चरित्रको सन्दर्भमा, उनको बुझाइमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू उल्लेख गरेका छन्। नेपालीलाई कला तथा हस्तकलामा अत्यन्तै सिपालु, साहसी र शक्तिशाली भनेर उनले प्रशंसा गरेका छन्, जसले लिच्छविकालको समृद्ध कलात्मक विरासतलाई संकेत गर्छ।

अर्कोतर्फ, उनले नेपालीहरू स्वभावले छलकपटी र अविश्वसनीय रहेको पनि उल्लेख गरेका छन् र विशेषगरी विदेशीहरू (अतिथिहरू) प्रति दुर्भावना राख्ने गरेको लेखेका छन्। व्यापारिक प्रथाबारे उनको मुख्य बुझाइ यो थियो कि व्यापारीहरूले कहिलेकाहीँ वास्तविक मूल्यभन्दा बढी भाउ लिने, नेपालमा विदेशी व्यापारीहरूलाई स्थानीय मानिसहरूभन्दा दोब्बर कर (द्विगुणित मूल्य वा शुल्क) लगाइने गरिन्थ्यो। यो वर्णनलाई तत्कालीन विदेशी व्यापारीहरूले तिर्नुपरेको शुल्कको गुनासोको रूप थियो।

तीतो अनुभव : लुक्ला विमानस्थल र ताजमहल यात्रा

चौधरी नेपाल सरकारको सेवामा ३५ वर्ष काम गरेर हालै निवृत्त भएका एक सचेत नागरिक हुन्। उनको युरोपमा बस्ने छोरा कलेजका पाँच जना साथीहरूसहित सोलुखुम्बु भ्रमणका लागि आएका थिए। छोराको आग्रह मान्दै चौधरी पनि उनीहरूसँग हिमाली यात्रा गर्दै अन्ततः काठमाडौं फर्कने क्रममा लुक्ला विमानस्थल पुगे।

विमानस्थलमा टिकट काट्ने बेला उनले देखे – विदेशी यात्रुका लागि भाडा नेपाली यात्रुका भन्दा दोब्बर तोकिएको छ।

त्यो देखेर चौधरी अचम्म परे-  अरे ! यस्तो पनि हुन्छ?  

उनी सोच्न थाले। केही क्षण मौन बसेपछि उनलाई सन् २०१३ तिरको भारत यात्रा सम्झना आयो। त्यो बेला उनी आफ्ना एकजना राई थरका साथीसँग ताजमहल हेर्न गएका थिए। राईको अनुहार केही चिनियाँजस्तो देखिन्थ्यो, त्यसैले प्रहरीले रोक्यो र भन्यो – ‘तपाईं विदेशी हुनुहुन्छ, तपाईंले बढी शुल्क तिर्नुपर्छ।’ चौधरीले सम्झाउन खोजे – ‘उनी नेपाली हुन्।’ तर प्रहरीले नियम देखाउँदै भन्यो, ‘भारतको नीतिअनुसार भारतीय र विदेशी यात्रुका लागि फरक टिकट दर हुन्छ।’

त्यो बेला चौधरीले आफ्ना लागि भारु २५० तिरेका थिए, तर राईले १,१०० तिर्नुपर्‍यो। उनी मनमनै सोच्न पुगे , ‘धन्न मैले नेपाली भनेर भनेको थिइनँ, नभए मलाई पनि विदेशी ठान्थे होला।’ राईले त्यो रकम तिरे, तर त्यो क्षणको बेचैनी उनले कहिल्यै बिर्सन सकेनन्। उनको अनुहारमा अपमान र असहजताको मिश्रण थियो। चौधरी पनि २–३ घण्टा उनीसँग ठीकसँग बोल्न सकेनन्। त्यो मौनता उनका लागि जीवनकै तीतो सम्झना बन्यो।

आज, लुक्ला विमानस्थलमा उही दोब्बर मूल्यको नीति देख्दा चौधरी पुनः त्यही सम्झनामा हराए। छोराका साथीहरूको अगाडि उनले आफैंलाई असहाय महसुस गरे। केही भन्न मन थियो, तर मुखमा शब्द अड्किए। विदेशी यात्रुहरूलाई हेर्दा उनलाई राई साथीको मौन अनुहार याद आयो ।  त्यो मौनता जसमा इज्जत, पीडा र असमानताको मिश्रण थियो।

चौधरी सोच्न थाले  ‘फरक देश, फरक नीति, तर व्यवहार उही !  मूल्यमा फरक, भावनामा खेलबाड।’ त्यो क्षण उनले महसुस गरे  ‘पैसाको दर फरक हुन सक्छ, तर समानताको मूल्य कहिल्यै फरक हुन हुँदैन।’ मनमा चस्स भयो  ‘दुई दरको मूल्य प्रणालीले पैसा त ल्याउँछ, तर इज्जत र समानता हराउँछ।’

उत्तरको खोजी

काठमाडौं फर्किएपछि पनि चौधरीका मनमा लुक्ला विमानस्थलको त्यो दृश्य घुमिरह्यो। विदेशी यात्रुका लागि धेरै टिकट मूल्य ! उनी सोच्न थाले – के हाम्रो देशको कानुनले यस्तो अनुमति दिएको हो? त्यो जिज्ञासाले उनलाई चुप बस्न दिएन।

अर्को बिहान उनी सोझै एयरलाइन्सको कार्यालय पुगे। त्यहाँका कर्मचारीसँग सोधे, ‘यो धेरै मूल्यको नियम कहाँ लेखिएको छ?’ तर कसैले पनि स्पष्ट जवाफ दिन सकेन। त्यसपछि चौधरी नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगे। त्यहाँ पनि जवाफ अस्पष्ट नै थियो – ‘पुरानो नीति हो सर, विदेशी यात्रुहरूबाट डलर असुल्न पाइन्छ।’

नेपालका अधिकांश एयरलाइन्सहरूले दुई तहको टिकट प्रणाली अपनाएका छन्। यो प्रणालीअनुसार नेपाली यात्रुका लागि सस्तो भाडा राखिन्छ, तर विदेशीका लागि त्यसको लगभग दोब्बर वा कहिलेकाहीँ तीन गुणा बढी मूल्य लिइन्छ। एयरलाइन्सका अनुसार विदेशीहरू प्रायः डलरमा तिर्छन् र त्यसले देशमा विदेशी मुद्रा ल्याउँछ। तर, चौधरी सन्तुष्ट भएनन्।

त्यो साँझ उनी बजार गए र उपभोक्ता संरक्षण ऐन, २०७५ र नेपालको संविधान किनेर ल्याए। घर फर्किएर उनले चिया पकाए, टेबुलमा कानुनका पुस्तकहरू खोले र ध्यानपूर्वक पढ्न थाले। अधिकतम खुद्रा मूल्य भन्नाले कुनै वस्तु वा सेवाको उच्चतम खुद्रा मूल्य हो, जसमा सबै कर, शुल्क र सेवा शुल्क समावेश हुन्छ। नेपालमा एमआरपी सम्बन्धी व्यवस्था उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७७ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

ऐनको धारा १३(३) अनुसार – कुनै वस्तु वा सेवाको मूल्य तोक्दा स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्छ र सबै उपभोक्ताका लागि समान रूपमा लागू हुनुपर्छ।

नेपालको संविधानको धारा १८ (समानताको अधिकार) : कुनै पनि व्यक्तिलाई जात, धर्म, लिंग, उत्पत्ति वा अन्य आधारमा भेदभाव गर्न पाइँदैन। राष्ट्रियता पनि यही ‘अन्य आधार’ अन्तर्गत पर्छ। त्यसैले एउटै सेवा दिएर विदेशी यात्रुलाई दोब्बर भाडा तिराउनु संविधानविपरीत व्यवहार हो। कानुनका किताब पढ्दै गर्दा चौधरीका मनमा अर्को प्रश्न उठ्यो  – ‘एउटै सेवाका लागि दुई अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्भव छ त?’

अधिकतम खुद्रा मूल्यको शाब्दिक अर्थ हो, खुद्रा बजारमा कुनै वस्तु वा सेवाको लागि तोकिएको सर्वाधिक मूल्य। अधिकतम भन्नाले सबैभन्दा बढी, खुद्रा भन्नाले खुद्रा बिक्री, र मूल्य भन्नाले मूल्य भन्ने जनाउँछ। त्यसैले अधिकतम खुद्रा मूल्य  भन्नाले उपभोक्ताले कुनै वस्तु वा सेवा किन्दा तिर्नुपर्ने अन्तिम उच्चतम मूल्य बुझिन्छ, जसमा सबै कर, शुल्क र सेवा शुल्क समावेश हुन्छ। यो मूल्यभन्दा बढी रकम लिने अनुमति कसैलाई हुँदैन। बिक्रेताले चाहें भने एमआरपी भन्दा कम मूल्यमा बिक्री गर्न सक्छ, तर बढी मूल्यमा बेच्नु कानुनविपरीत हो।

यही कारणले एमआरपी सधैं एउटै हुन्छ, दुई वा बढी मूल्य हुन सक्दैनन्। एउटै वस्तु वा सेवामा दुईवटा एमआरपी तोकियो भने अधिकतम भन्ने शब्दको अर्थ नै हराउँछ। त्यसैले उपभोक्ता संरक्षण ऐन, २०७५ ले स्पष्ट भन्छ – ‘कुनै वस्तु वा सेवाको मूल्य तोक्दा सबै उपभोक्ताका लागि समान रूपमा लागू हुनुपर्छ।’ यसरी, एमआरपी भनेको बजारमा वस्तु वा सेवा बेच्दा तोक्न मिल्ने एक मात्र सर्वाधिक खुद्रा मूल्य हो, जसले उपभोक्ताको अधिकार, समान व्यवहार र पारदर्शिता सुनिश्चित गर्छ।

दोहोरो मूल्य नीति  र  नेपाली यात्रु

नेपालका घरेलु उडानहरूमा नेपाली र विदेशी यात्रुका लागि फरक भाडा तोकिन्छ। यसको मुख्य कारण भनेको एयरलाइन्सहरूले पर्यटकबाट बढी नाफा कमाउने प्रयास गर्नु हो। एकातिर, पर्यटकहरू प्रायः मूल्यप्रति कम संवेदनशील हुन्छन्, र एयरलाइन्सहरूले यही अवस्थाको फाइदा उठाउँछन्। अर्कोतिर, विदेशी यात्रुका लागि सिट बिक्री बढाउने लोभमा नेपालका यात्रुहरूलाई कहिलेकाहीँ टिकट नै नबेचिने अवस्था पनि देखिन्छ।

यसरी नेपाली यात्रुहरू आफ्नै देशमा दोस्रो दर्जाका यात्रुजस्तो महसुस गर्न बाध्य छन्। यो प्रवृत्ति देशभित्र नागरिकभन्दा विदेशीलाई प्राथमिकता दिने गलत सोच र असमान व्यवहारलाई अझ बलियो बनाउँदै लगेको छ।

अवसर लागत र नेपाल महँगो गन्तव्य

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कुनै पनि वस्तु वा सेवाको मूल्य तोक्दा ग्राहकको हितलाई ध्यान दिनुपर्छ। यदि कसैले नाफा मात्रै सोचेर मूल्य बढाउँछ भने त्यो कानुनविपरीतको व्यवहार हो। मूल्य निर्धारण सधैं वास्तविक खर्चमा आधारित हुनुपर्छ, अवसर लागत(अपरचुनिटी कस्ट)मा होइन। एउटै विमान, एउटै दूरी, एउटै इन्धन र कर्मचारी खर्च हुँदा पनि राष्ट्रियताको आधारमा फरक मूल्य लिनु अन्यायपूर्ण व्यवहार हो।

कानुनका दृष्टिले चाहे यात्रु नेपाली होस् वा विदेशी, दुवै उपभोक्ता हुन्। त्यसैले एउटै सेवामा फरक दर लगाउनु उपभोक्ता अधिकारको उल्लंघन हो। यद्यपि, यो नीति नेपाल नागरिक उड्डयन प्राधिकरणजस्ता नियामक निकायबाट स्वीकृत भएकाले कानुनी रूपमा अवैध भनिँदैन, तर यसलाई राम्रो व्यापारिक आचरण (बेस्ट बिजनेस प्राक्टिस) भने मान्न सकिँदैन। यस्तो अभ्यासले पर्यटनमा नकारात्मक असर पार्छ र नेपाललाई महँगो गन्तव्यको रूपमा चिनाउँछ।

चौधरीले कलेजमा पढ्दा लागत विवरण (कस्ट शीट) भन्ने विषयमा राम्रोसँग अध्ययन गरेका थिए। त्यस विषयले उनलाई सिकाएको थियो कि कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्दा सधैं कुल लागत (टोटल कस्ट) मा नाफा (प्रोफिट मार्जिन) जोडेर मूल्य तय गरिन्छ। लागत विवरणमा इन्धन, मजदुरी, कर, मर्मत र प्रशासनिक खर्चजस्ता सबै आर्थिक पक्षहरू समावेश हुन्छन्, तर ‘ग्राहकको राष्ट्रियता’ भन्ने शीर्षक कहिल्यै हुँदैन। उनका पुराना सहकर्मी, जो चार्टर्ड एकाउन्टेन्ट थिए, उनलाई सोध्दा पनि जवाफ एउटै आयो – ‘लागत विवरणमा विदेशी ग्राहक भनेर छुट्टै खर्च राख्ने कुनै शीर्षक वा नियम छैन।’

त्यसपछि चौधरी अझ गम्भीर बने। उनी सोच्न थाले, यदि सेवा एउटै हो, दूरी एउटै छ, इन्धन दर, कर्मचारी तलब र कर पनि एउटै छ भने, विदेशी र नेपाली यात्रुका लागि फरक मूल्य तोक्ने आधार आखिर के हो? मूल्य निर्धारण सधैं वस्तु वा सेवाको वास्तविक लागतमा आधारित हुनुपर्छ, ग्राहकको पहिचान वा राष्ट्रियता हेरेर होइन। त्यसैले विदेशी यात्रुका लागि थप लागत देखाएर बढी मूल्य लिने अभ्यास आर्थिक दृष्टिले गलत हो। चौधरीले सिकेका लेखा सिद्धान्तले पनि यही कुरा सिकाउँछ – एउटै सेवाका लागि फरक मूल्य तोक्नु न आर्थिक रूपमा न्यायोचित छ, न नैतिक रूपमा उचित।

ह्वेनसाङको दृष्टि र जेनजी आन्दोलनको कारण खोजी

ह्वेनसाङले करिब १४०० वर्षअघि नेपालका राजा धर्मनिष्ठ, सहिष्णु र न्यायप्रिय थिए भने, तर उनले व्यापारीहरूको व्यवहारबारे भने आलोचनात्मक टिप्पणी गरे। यहाँका व्यापारीहरूले वास्तविक मूल्यभन्दा बढी भाउ लिन्छन्, साना शुल्कहरू दोहोरो असुल गर्छन्, र विदेशीलाई शंकाको दृष्टिले हेर्छन्।

त्यतिबेलै पनि शासन र व्यापारबीचको सोच फरक थियो। शासन नैतिक मूल्यमा अडिएको थियो, तर व्यापार अवसरवादी र स्वार्थी बन्दै गएको थियो। ह्वेनसाङले देखाएको त्यो चरित्र अहिले पनि कतिपय क्षेत्रमा देखिन्छ – रूप बद्लिएको छ, तर सोच उस्तै छ।  

आजको जेनजीको आन्दोलनले राजनीति र अर्थतन्त्र दुवैलाई एकसाथ राखेको छ। यो पुस्ताले कानुनी वैधतासँगै नैतिक वैधता पनि खोजेको छ। कानुनले अनुमति दिँदा पनि, के त्यो नैतिक रूपमा ठिक हो त?  यसको अर्थ अब व्यापार नाफाको विषय मात्र होइन, पारदर्शिता र विवेकको पनि हो।

त्यसैले, जबसम्म व्यापार इमानदारी, समानता र नैतिकतामा आधारित हुँदैन, तबसम्म नयाँ पुस्ताले हामीमाथि प्रश्न उठाउन छोड्दैन। ह्वेनसाङले देखेका कुरा हाम्रो वर्तमान समाजका चरित्र हुन्। समय बदलियो, तर सोच उस्तै छ,  विवेक हराएको, इमान कमजोर, र  कमजोर सोचमा फसेको। मूल्य र नीति भन्दा पैसा र मौका ठूलो ठान्ने बानी अझै हराएको छैन। त्यसैले उनका शब्दहरू अहिलेको नेपालमा पनि मेल खान्छन्, – रूप बद्लियो, तर व्यवहार उस्तै रह्यो।

चौधरीले आफ्नो नोटबुकमा लेखे,

इतिहासले नै भनेको रहेछ- हामीले व्यापारलाई सेवा होइन, मौका ठान्ने बानी कहिल्यै छोडेनौं। सातौँ शताब्दीमा व्यापारीले बढी असुल्थे, अहिले एयरलाइन्सहरूले गर्छन्। नेपाल सुन्दर देश हो, तर अब सुन्दरता हिमालको दृश्यमा होइन, इमानदारी, नैतिकता र विश्वासनीयता मा देखिनुपर्छ।

इतिहास बद्लियो, समय बदलियो,

उनले १७ वर्ष लगाएर यात्रा गरे,

अहिले त्यो यात्रा २७ दिनमै सकिन्छ,

तर प्रवृत्ति अझै उस्तै छ।

चौधरीले चाणक्यको श्लोक पढे अनि चित्त बुझाए – ‘जति जे गरे पनि, १४०० वर्षअघिका व्यापारीका सन्तानहरू त भगवानको नजरमा फटाहा का सन्तान नै मानिन्छन्, हैन र? ठगेर कमाएको पैसा धेरै टिक्दैन, तर इमानले कमाएको पैसा कहिल्यै हराउँदैन।

न व्यापारं धर्मविहीनं कुर्वीत कदाचन ।

धर्मेणैव अर्थमाप्नोति नाधर्मेण कदाचन ॥

(चाणक्य नीति – अध्याय ८, श्लोक १७)