चितवन। होटल पौवाको नयाँ शाखा चितवनको भरतपुरमा संचालन हुने भएको छ। कार्तिक २७ गते देखि १६ औं शाखाका रुपमा उद्घाटनसँगै होटलमा नेपाली खानाको प्रवर्धन गर्ने उद्देश्यले बृहत कार्यक्रम पनि हुने भएको छ।
कार्तिक २७, २८ र २९ गतेसम्म चल्ने नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफूले तयार पारेका खाद्य कला पस्किनेछन्। होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवर्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ।
‘पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,’ भण्डारीले भने।
भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ। यस्तै, आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ।
विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा हल उपलब्ध हुने जनाइएको छ। निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा रहेको पनि कम्पनीले जनाएको छ।
यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताए।
‘हामीले अब हिचकिचाउने होइन, अघि बढ्ने समय आएको छ। तर, राज्यले उद्योगी व्यवसायीलाई लगानी मैत्री वातावरण रहेको विश्वास दिलाउनुपर्छ,’ उनले भने।
होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले चितवन शाखालाई नेपालको हस्पिटालिटी नक्सामा अर्को महत्वपूर्ण ‘माइलस्टोन’का रूपमा वर्णन गरे।
उनले भने, ‘चितवन नेपालको मध्य भाग हो, देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य। चितवन राष्ट्रिय निकुञ्ज, देवघाटधाम, मौलाकालीकाजस्ता धार्मिक तथा प्राकृतिक आकर्षणका बीच पौवाको उपस्थितिले यस क्षेत्रलाई अझ पहिचान दिन सहयोग गर्नेछ।’
यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा संचालनमा छन्। हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भइरहेको छ। पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भइरहेको छ।
देशभर १ हजार भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन्। यहाँ कार्यरत कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइएको छर। यसले पौवाको ‘साझा स्वामित्व र साझा सफलता’को भावना झल्काउने कम्पनीले जनाएको छ।
विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अब देशव्यापी अभियानमा रूपान्तरण भइसकेको कम्पनीले जनाएको छ। हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पु-याउने ‘मिशन १०० पौवा होटल’ अभियानले चितवनबाट नयाँ अध्याय सुरु गरेको जनाएको छ।











