काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा वार्षिक खर्च ३० करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ। यो मुलुककै पहिलो सुरुङमार्ग हो, जसलाई निर्वाधरुपमा सञ्चालनमा ल्याउँदा सरकारलाई भविष्यमा यस्ता पूर्वाधार कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाइ हुनेछ। सुरुङमार्ग संचालन मोडालिटी अनुसार यसको ठेक्का पाउने कम्पनीले वार्षिक २५ देखि ३० करोड रुपैयाँमा संचालन गर्नुपर्ने अनुमान छ।
सुरुमा सडक विभाग अन्तर्गतको सम्भार महाशाखा, सुरुङमार्ग आयोजना र परामर्शदाता कम्पनीले संचालनमा वार्षिक ४० करोड रुपैयाँ खर्च हुने हिसाब निकालेर मस्यौदा तयार पारेका थिए। तर त्यसलाई पछि मन्त्रालयले रिभ्यु गरेर कस्टलाई केही घटाएर प्रक्रिया अगाडि बढाएको हो। ५ वर्षमा लगभग पौने २ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
तर अहिले टेन्डर आह्वान भइसकेकाले निश्चित रकम भने खुलाइएको छैन। यो ठेक्कामा बिड प्राइसको १५ प्रतिशत मात्रै कममा गएर बिड गर्न सकिन्छ। त्यो भन्दा कम बिड गर्ने कम्पनीहरु स्वतः खारेजीमा पर्नेछन्। यो ठेक्कामा १७ डिसेम्बर २०२५ सम्म आवेदन दिन सकिनेछ।
नागढुंगा हुँदै अहिले दैनिक ९ हजार हाराहारी सवारीसाधन ओहोरदोहोर गर्छन्। त्यसको ६० देखि ७० प्रतिशत सवारीसाधनले मात्र सुरुङ मार्ग प्रयोग गर्ने अनुमान छ। ती सवारीसाधनबाट वार्षिक ७० करोड रुपैयाँ टोल शुल्क संकलन गर्न सकिने मस्यौदामा उल्लेख छ।
यो रकममध्ये जनशक्ति र विद्युतमा बढी खर्च हुनेछ। विद्युत दैनिक २ मेगावाट खपत हुने अनुमान छ। विद्युतका लागि डेडिकेटेड लाइन जोड्न प्रस्ताव गरिएको छ। ब्याकअपका लागि जेनेरेटरको आवश्यकता पनि औंल्याइएको छ।
सुरुङमार्ग संचालनको टेन्डरमा सहभागि हुने जेभी कम्पनीले ५ वर्ष यही फिल्डमा काम गरेको हुनुपर्नेछ। साथै एउटा पार्ट्नरले कम्तिमा ३६ महिनासम्म सुरुङमार्ग संचालन गरेको पनि हुनुपर्नेछ। यसमा कम्पनीले विगत १० वर्षमा कुनै सडक सुरुङमार्ग र इभ्याकुएसन सुरुङमार्ग अथवा ट्युब टनेल, भेन्टीलेसन सिस्टम, टनेल फ्यासेलिटी मोनिटरिङ सिस्टम र १६०० मिटर भन्दा लामो सुरुङमार्ग संचालन गरेको अनुभव प्राप्त गरेको हुनुपर्ने छ।
लोकल म्यानपावरलाई प्राविधिक ज्ञान हस्तान्तरण अनिवार्य
नागढुंगा टनेल संचालनको लागि ल्याउन लागिएको सर्भिस प्रोभाइडरले एउटा नेपाली कम्पनीसँग मात्रै जोइन्ट भेन्चरमा काम गर्नुपर्नछ। यसमा ३ वटा जेभी कम्पनीमा एउटा नेपाली कम्पनी अनिवार्य गरिएको छ। यसले गर्दा नेपाली कम्पनीले सुरुङमार्ग संचालन तथा मर्मतको काम सिक्न अवसर मिल्ने आयोजनाको अपेक्षाछ।
अन्तराष्ट्रिय कम्पनीले लोकल कम्पनीलाई आफ्नो प्राविधिक ज्ञान हस्तान्तरण गर्नुपर्ने हुन्छ। यसका लागि त्यस्ता कम्पनीहरुले कसरी स्थानीय कम्पनीलाई प्रविधिक ज्ञान हस्तान्तरण गर्ने हो त्यसको नियमित योजनाहरु पेष गर्नुपर्ने हुन्छ। साथै वार्षिक रुपमा कसरी उक्त योजना प्राप्त हुन्छ भन्ने कुरा पनि एसुरेन्स गर्नुपर्छ।
यसका लागि लोकल म्यानपावर र अन्तराष्ट्रिय म्यानपावर दुबैले सम्झौता अवधिसम्म काम गर्नुपर्नेछ। जसले प्राविधिक ज्ञान हस्तान्तरणमा ठुलो सहयोग पुग्नेछ। प्राविधिक ज्ञान हस्तान्तरण भए वा नभएको भन्ने बारेमा सरकारले मोनिटरिङ गर्ने व्यवस्था पनि राखिएको छ।

कस्ता कर्मचारी आवश्यक?
सुरुङ मार्ग सञ्चालनका लागि मेकानिकल इन्जिनियर, इलेक्ट्रिसियनसहितको विज्ञ र अनुभवी टोली चाहिने भन्दै विदेशी कम्पनीलाई दिन लागिएको हो।
टनेल अफिसको हेडले कम्तीमा १५ वर्षको सिभिल वर्क्स कन्स्ट्रक्सन, अपरेसन र म्यानेजमेन्टमा काम गरेको हुनुपर्नेछ। यस्तै रोड टनेलमा उस्तै पोजिसनमा अपरेशन म्यानेजमेन्ट भएर ५ वर्ष काम गरेको अनुभव भएपनि हुनेछ। एकेडेमिक क्वालिफिकेसनमा ब्याचलर अफ साइन्समा सिभिल इन्जिनियरिङ/टनेल इन्जिनियरिङ/ ट्रान्सपोर्टेसन इन्जिनियरिङ गरेको हुनुपर्ने छ।
यस्तै ट्राफिक फ्यासिलिटी मोनिटरिङ एण्ड कन्टोल युनिट हेडले ब्याचलर डीग्री पास गरेको हुनुपर्नेछ। साथै सिभिल वर्क कन्स्ट्रक्सन, अपरेशन र म्यानेजमेन्टमा १० वर्षको अनुभव हुनुपर्नेछ। अर्को भनेको युनिट हेड/डेप्युटी हेडका रुपमा रोड टनेलमा ५ वर्ष काम गरेको हुनुपर्नेछ।
फ्यासिलिटी मेनटेनेन्स युनिट हेडका लागि इलेक्ट्रिकल/ मेकानिकल इन्जिनियरिङमा ब्याचलर पास अनिवार्य गरिएको छ। साथै सिभिल वर्क कन्स्ट्रक्सन, अपरेशन र म्यानेजमेन्टमा १० वर्षको अनुभव हुनुपर्नेछ। अर्को भनेको रोड टनेल फ्यासिलिटी मेनटेनेन्स युनिटमा हेड/डेप्युटी हेड भएर ५ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ।
सेफ्टी म्यानेजमेन्ट युनिट हेडका ब्याचलर पास अनिवार्य गरिएको छ। साथै सिभिल वर्क कन्स्ट्रक्सन, अपरेशन र म्यानेजमेन्टमा १० वर्षको अनुभव हुनुपर्नेछ। अर्को भनेको रोड टनेल सेफ्टी म्यानेजमेन्ट युनिटमा हेड/डेप्युटी हेड भएर ५ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ।

टोल कलेक्सन युनिट हेडका ब्याचलर पास अनिवार्य गरिएको छ। साथै सिभिल वर्क कन्स्ट्रक्सन, अपरेशन र म्यानेजमेन्टमा १० वर्षको अनुभव हुनुपर्नेछ। अर्को भनेको रोड टनेल टोल म्यानेजमेन्ट सर्भिस युनिटमा हेड/डेप्युटी हेड भएर ५ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ।
यसमा ठेक्का लागेपछि कम्पनीले सुरुङमार्ग संचालनको लागि जतिसक्दो चाडो काम गर्नुपर्ने हुन्छ। त्यसका लागि ठेक्का पाउने कम्पनीले सुरुमा सफ्ट ओपनिङको काम गर्नुपर्ने हुन्छ। यस्तै म्यानपावरहरुलाई ३ महिनासम्मको लागि ट्रेनिङ पनि गराउनुपर्ने हुन्छ। सफ्ट ओपनिङमा लिमिटेड अपरेशन हुनेछ भने फुल स्केल ओपनिङमा नो लिमिटेसन हुनेछ।
यो समयमा डे टाइम अपरेसन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि हुनेछ।











