काठमाडौं। गत वर्षको बाढीले बगाएको बिपी राजमार्ग सबै मौसममा संचालन हुने गरि बनाउन जापानसँग सम्झौता भएको छ। बिहीबार अर्थमन्त्री रामेश्वर खनाल र जापनी राजदूत माएदा तोरुबीच बिपीको एउटा खण्डको सडकलाई जापनी सहयोगमा बनाउने गरि सम्झौता भएको हो।
काभ्रेतर्फ नै अप्ठेरो रहेको डालाबेंसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडकमध्ये साढे ३ किमि सडक पुनर्निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सहयोग गर्ने तय भएको थियो।
यो खण्डलाई सबै मौसमी परिस्थिति (अल वेदर रोड)मा संचालन हुने गरि पुनर्निर्माण गर्न २ अर्ब ८० करोड जापानी येन जापान सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरि सम्झौता भएको हो।
यो सम्झौतासँगै अब उक्त सडकखण्डको पुनर्निर्माण अगाडि बढ्ने भएको छ। जापानी कन्ट्रयाक्टरले नै ठेक्का आह्वान गरेर निर्माण कार्य अगाडि बढाउने छन्।
यो सडकलाई सबै मौसममा संचालन हुने गरि सडकको डिजाइन गरेर पुनर्निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले अन्य खण्डको सडक पुनर्निर्माण गर्न भने ठेक्का सम्झौता गरिसकेको छ।
गत वर्ष असोज दोस्रो साताको बाढीले राजमार्गको खासगरी करिब १२ किलोमिटर खण्ड पूर्णरुपमा ध्वस्त भएपछि असोज अन्तिममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत कितुका युताकालाई बालुवाटारमा बोलाएर पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए।
ओलीको आग्रहपछि जापानले क्षति अध्ययन गरेर जवाफ दिने बताएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बाढीले क्षति पुर्याएको राजमार्गको अध्ययन सम्पन्न गरेर उक्त खण्डको सडक निर्माण गर्न सहमति जनाएको हो।











