नागढुंगा नाकाबाट यसरी भित्रिरहेका छन् जिल्ला जिल्लाबाट मानिस: परीक्षणका नाममा ज्वरो जाँच



सविन ढकाल/बिजमाण्डू
२०७७ असार ९ गते १५:४२ | Jun 23, 2020

काठमाडौं। सोमवार राति काठमाडौंबाट सुरेश केसी ट्याक्सी लिएर मकवानपुर पालुङतिर हुँइकिए। उनी निस्किँदा रातको ८ बजेको थियो।

Tata
GBIME
Nepal Life

लकडाउनको कारण निजी सवारी साधनलाई मात्र जोर बिजोरको आधारमा चल्न दिइएको छ। झन् एउटा जिल्लाबाट अर्को जिल्लामा जान त धेरै कागजी प्रकृया पूरा गर्नुपर्छ। तर, केसीका कागजी प्रकृया कागजमा मात्र सीमित झैं भो। कुनै अवरोधविना नै उनले काठमाडौंको नागढुंगा चेकपोष्ट काटे। पालुङ्मा पुगेर काठमाडौंकी एक महिला र तिनका दुई बालबालिका काठमाडौं ल्याउनुपर्ने थियो।

ट्याक्सी चलाउँदै आएका उनलाई लकडाउनमा राम्रो अफर थियो। यति काम गरेपावत उनले ६ हजार रुपैयाँ पाउने शर्त थियो। राती नै उनी काठमाडौं फर्किने सोचमा थिए। तर, त्यसो भएन। बिग्रिएको बाटो र असारे झरी समस्या भयो।

राति नै काठमाडौं छिर्ने योजना तुहियो। नागढुंगा आइपुग्दा बिहानको ८ बज्यो। नाकामा प्रहरी तैनाथ भइसकेका थिए। केसीसँग कुनै सवारी पास थिएन। त्यसमाथि ट्याक्सी ! उनी नाकामा नै रोकिए। हारगुहार गरे। तर, छोडेनन्।

'म मात्र भएको भए त जान दिन्थ्यो। मानिस पनि बोकेकाले राखे। फर्कीमात्र भन्छन्,' नागढुंगामा भेटिएका केसीले सुनाए।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेपछि काठमाडौं छिर्ने सवारीको सङ्ख्या ह्वात्तै बढेको छ। 'अब एकछिन कुर्छु नत्र उहाँलाई झारेर। म केही गर्छु,' उनी प्रहरीबाट फुत्किने योजना बनाइरहेका थिए नागढुंगामा।

नाकामा सवारीको भीड

उपत्यकाभित्र छिर्ने नागढुंगा नाकामा अहिले सवारीको चाप बढेको छ। बाहिरी जिल्लाबाट आउने सवारीलाई दुई वटा लेन छुट्याइएको छ नाकामा। एकातिर मालबहाक सवारी र अर्कोतिर निजी तथा अन्य गाडी। गएको सात दिनमा दैनिक ३ हजारभन्दा बढी सवारी साधन काठमाडौं उपत्यकाभित्र छिर्दै आएका छन्। सरकारले जोर बिजोर प्रणाली र सिट सङ्ख्या तोकेर सवारी संचालन गर्न दिएको निर्देशन पालनाको त कुरा नगरे पनि हुन्छ। कतैतिर पनि छैन, निर्देशनको पालना।

अरुतिर जे भए पनि नागढुंगा नाकाको दृष्यले सरकारको आदेशको धज्जी चाहिँ गजबले उडाएको देखिन्छ। निर्वाध रुपमा एउटै निजी गाडीमा ६ जनासम्म चढेर आएको भेटिनु सामान्य बनेको छ। र, विना रोकटोक उनीहरु काठमाडौं भित्रिरहेका छन्। काठमाडौं छिर्ने मानिसको स्वास्थ्य परीक्षणको नाममा ज्वरो परीक्षण जारी छ। मोटरसाइकलमा दुई जना चढ्न निषेध छ भन्ने पनि कतै देखिन्न। विभिन्न जिल्लाबाट मोटरसाइकलमा दुईजना चढेर काठमाडौं छिरिरहेका देखिन्छन्।

अहिले स्थानीय निकायको अनुमति भन्दै ठूला सार्वजनिक बसले समेत महँगो मूल्य लिएर यात्रु ओसार्ने गरेका छन्।

यसैगरी मानिस ओसारिरहेको दृष्य मंगलवार पनि देखियो। नेपालगञ्जबाट एक यात्रुबहाक बसले गाडीमा मानिसहरु लिएर आएको थियो। गाडीमा सामाजिक दुरी कायम गरिएको देखिन्थ्यो। तर, यस्तो बसलाई स्वीकृति दिइएको छैन। नाकामा आइपुग्नु अघि नै मानिस उतारेर पनि गाडी काठमाडौं भित्रिरहेका छन्। 'हामीले आँखाले देखेकोसम्म त हेर्छौं। यदि त्यस्तो गरेको पाइए उतै पठाउने गरेका छौं,' नाकामा खटिएका एक प्रहरी निरीक्षकले भने।

असार १ गते देखि ७ गतेसम्म २१ हजार ८ सय २ वटा सवारी साधन भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। सात दिनमा असार ६ गते सबैभन्दा धेरै सवारी साधन भित्रिएको देखिएको छ। ३७ सय ७५ वटा सवारीसाधन काठमाडौं उपत्यका छिरेका छन्।